सोमबार (हिजो) बिहान ११ बजेको समय। हातमा कागजपत्र बोकेर काभ्रेको महाभारत गाउँपालिका–४ मजुवाका जगत लामा सहित ४ जना सेवाग्राही उद्योग तथा वाणिज्य कार्यालय, काभ्रे प्रवेश गरे। उनको हातमा रहेको कागजात आफ्नो हातमा माग्दै कार्यालय सहयोगी कर्मचारी मोहन कुमार सिग्देलले उनीहरूलाई सोफामा बस्न आग्रह गरे।
सहयोगी कर्मचारीले जगतको अनुहारमा हेर्दै प्रश्न गरे, के गर्न आउनुभएको?
जगतले जवाफ फर्काए, ‘एउटा कृषि फार्म दर्ता गरौँ भनेर आएको हो सर। वडाबाट बनाउन पर्ने सिफारिसहरू पनि ल्याएको छु।’
कार्यालय सहयोगी कर्मचारी सिग्देलले हाँस्दै फाइल हातमा लिएर सेवाग्राही डेक्समा बसेकी सहायक कम्प्यूटर अधिकृत सिकान्ती कुमारी साहलाई दिए। उनले फाइल इन्ट्री गराएर भित्र पठाइन्।
यत्तिकैमा कार्यालय सहयोगी नविला महत आएर उनीहरूलाई सोधिन्, ‘सर म्यामहरू चिया लिनुहुन्छ की पानी?’
जगत सहितको समूह अलमलमा परे। ‘हामीलाई सोध्नुभएको होर?’ जगतले प्रतिउत्तर गरे।
महतले भनिन्, ‘हजुर हो।’ चिया बनाउने मेसिन देखाउँदै उनले भनिन्, ‘कालो चिया बनाउने मेसिन यहाँ छ। खानुहुन्छ भने राखिदिन्छु।’
जगतसँगै आएकी एक महिलाले हाँस्दै भनिन्, ‘होर? चियाको पनि व्यवस्था छ भने खाउँ न त।’
महतले चिया दिँदै भनिन्, ‘चिया खाइसक्नुभएपछि यो कपलाई डस्टबिनमा राखिदिनुहोला।’

उनीहरूले चिया पिए। काम नसकिनेबेलासम्म मोबाइल चलाएर बसे। मोबाइल चलाउनका लागि कार्यालयको भित्तामा वाईफाईको क्यूआर राखिदिएको थियो। मोबाइल हेर्दाहेर्दै चार्ज सकिए चार्जरको सुविधा पनि सोही स्थानमै। उनीहरू कार्यालय प्रवेश गरेको एक घण्टामै कर्मचारी बिरास लामाले जगतको हातमा उद्योग दर्ता प्रमाण पत्र थमाइदिए।
पहिले झ्याल/झ्याल चहारेर सेवा लिनुपर्ने सरकारी कार्यालयको सेवा प्रवाह देखेर जगत दंग परे।
हातमा प्रमाण पत्र थाप्दै उनले भने, ‘हामी यहीँ बसिरहेका छौँ। चिया खायौँ। गफ गर्यौँ। मोबाइल हेर्यौँ। एकैछिनमा सर म्यामहरूले काम सकाइदिनुभएछ। मलाई त विश्वास नै लागेको छैन। अब पान दर्ता गर्न कर कार्यालय जानु भन्नुभएको छ। कति सजिलोसँग काम भयो यता त। उता के हुने हो?’
टाढाबाट आउनुपर्ने भएका कारण काम नसकिएला भन्ने पीरले बिहान चाँडै निस्किएको उनीहरू बताउँछन्। तर १ घण्टाभित्रमा बसिरहेकै ठाउँमा प्रमाणपत्र आइपुग्दा विश्वास नै नलागेको उनीहरूले बताए।
उनीहरू मात्रै होइन, आजभोलि यस कार्यालयमा सेवा लिन आउने जो कोहीले पनि कार्यालय यही हो कि अरु कार्यालय आएर बस्यो? भनेर प्रश्न गर्ने गरेका छन्। साना कोठामा भित्र कर्मचारी र झ्यालभन्दा बाहिर सेवाग्राही बसेर उद्योग दर्ता, नवीकरण जस्ता सेवा प्रवाह हुने गरेको यस कार्यालयमा अहिले पहिलेको जस्तो अवस्था छैन।
कार्यालय पुगेका सेवाग्राहीका लागि पर्खने कोठाको व्यवस्था छ। एसी सहितको कोठामा कार्यालयको परिचय झल्कने डिजिटल स्क्रिन, चिया र तातोचिसो पानीको व्यवस्था, महिलाको लागि स्तनपान कक्ष देखि नबुझेका कुराहरूको सहजीकरणका लागि कर्मचारीको समेत व्यवस्था मिलाइएको छ।
बागमती प्रदेशअन्तर्गत दुईवटा उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालयका रूपमा सञ्चालनमा ल्याइएको हो। प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले सेवा सुधार कार्यक्रमअन्तर्गत जिल्लास्थित कार्यालयहरूलाई नमूनाका रूपमा विकास गर्ने लक्ष्यसहित उद्योग तथा वाणिज्य कार्यालय काभ्रे र चितवनलाई प्रदेश सरकारले नमूना कार्यालयको रुपमा विकास गरेको हो।
गत फागुनदेखि काभ्रेको उद्योग तथा वाणिज्य कार्यालयमा नयाँ सेवासहित नमूना कार्यालय सञ्चालनमा ल्याइएको हो भने यसअघि चितवनस्थित उद्योग तथा वाणिज्य कार्यालयलाई गत वर्षको मंसिरदेखि पहिलो नमूना कार्यालयका रूपमा सञ्चालनमा ल्याइएको थियो।
नमूना कार्यालय सञ्चालनसँगै सेवाग्राहीले अब अन्य कार्यालयजस्तो लामो लाइनमा बस्न, झ्याल–झ्याल धाउन कोठामा चक्कर लगाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। उद्योग तथा वाािण्ज्य कार्यालयका प्रमुख रविन घिमिरेका अनुसार सेवा प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाइएको छ।
नमूना सेवाअन्तर्गत सेवाग्राहीका लागि सोफासहितको आरामदायी प्रतीक्षालय, चिया–पानी, इन्टरनेट सुविधा तथा मोबाइल चार्जिङजस्ता आधारभूत सेवा उपलब्ध गराइएको छ। कार्यालयमा थप गरिएका सेवा पुरानै जनशक्तिबाट व्यवस्थापन गरिएको उनले बताए।

कार्यालयमा एसीसहितको प्रतीक्षालय, सूचना डिस्प्ले तथा सेवाग्राहीले आफ्नै विवरण हेर्न सक्ने डिजिटल प्रणालीसमेत जडान गरिएको छ। शुल्क, आवश्यक कागजात र सेवा प्रक्रियासम्बन्धी जानकारी डिस्प्ले प्रणालीमार्फत उपलब्ध गराइने भएकाले सेवाग्राहीलाई थप सहज भएको छ।
गत वर्ष उद्योग मन्त्रालयले चितवन कार्यालयका लागि करिब साढे सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। मोबाइल बैंकिङ प्रयोग नगर्ने सेवाग्राहीका लागि भने नजिकैको बैंक काउन्टरमार्फत शुल्क तिर्ने व्यवस्था यथावत राखिएको छ। यद्यपि अन्य सबै सेवा एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने जनाइएको छ।
मन्त्रालयले चालु आर्थिक वर्षभित्र सिन्धुली, रामेछाप र भक्तपुरका उद्योग तथा वाणिज्य कार्यालयलाई पनि नमूना कार्यालयमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। आगामी वर्षहरूमा प्रदेशका सबै उद्योग कार्यालयलाई क्रमशः नमूना कार्यालयका रूपमा विकास गर्ने योजना रहेको प्रदेशकी उद्योग मन्त्री बिन्दु श्रेष्ठले बताइन्।
उनका अनुसार नमूना कार्यालयको अवधारणाले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा प्राप्त हुने वातावरण सिर्जना गर्नेछ।
साथै, सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री, व्यवस्थित र सेवामुखी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य रहेको मन्त्री श्रेष्ठले बताइन्। क्रमशः सबै कार्यालयलाई नमुना कार्यालय बनाउने अभियानमा मन्त्रालयको टीम जुटेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया