बागमती प्रदेशमा रहेको ३३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि प्रदेशका १३ वटा जिल्लाबाट ७१९ जना उम्मेदवार छन्।
जसमध्ये केही चर्चित नेताहरू आफैंलाई मतदान गर्न पाउँदैनन्। जनमतबाट संघीय सांसद बन्ने आकांक्षाका साथ चुनावी मैदानमा होमिएका उनीहरूले आफैंलाई मतदान गर्न नपाउने भएका हुन्।
आफैंलाई मतदान गर्न नपाउने चर्चित नेतामध्ये एक हुन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने। चितवन–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका लामिछाने काठमाडौँ क्षेत्र नम्बर ३ को मतदाता हुन्। उनको स्थायी ठेगाना भने काठमाडौँ–६ हो।
२०७९ को प्रतिनिधि सभा निर्वाचन र उपचुनाव समेत जितेका लामिछाने तेस्रो पटक यस क्षेत्रको उम्मेदवार बनेका हुन्।
रास्वपाबाटै उम्मेदवार बनेका अर्का चर्चित उम्मेदवार राजिव खत्रीले पनि आफैंलाई मतदान गर्न पाउँदैनन्। भक्तपुर–२ मा उम्मेदवार बनेका उनको स्थायी ठेगाना काठमाडौँ–३० कालोपुल ज्ञानेश्वर हो।
उनी काठमाडौँ–४ का मतदाता हुन्। उनले यसै क्षेत्रबाट चुनावी प्रस्पिर्धामा होमिन चाहेका थिए। तर, रास्वपा सभापति लामिछानेले यहाँ पुकार बमलाई टिकट दिएर उनलाई एमालेका सचिव महेश बस्नेतसँग भिड्न भक्तपुर–२ पठाएका हुन्।
यस्तै, नेपाली कांग्रेसबाट काठमाडौँ–५ का उम्मेदवार बनेका कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि आफैंलाई मतदान गर्न पाउँदैनन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थायी ठेगाना भएका पौडेल तनहुँ–२ का मतदाता हुन्।
२०७४ को निर्वाचनमा तनहुँ २ (१) बाट गण्डकी प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका पौडेल पराजित भएका थिए। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–५ बाट उम्मेदवार बनेका उनले एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए। पौडेलले पुनः काठमाडौँ–५ बाटै उम्मेदवार बनेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रविन्द्र मिश्रले पनि आफैंलाई मतदान गर्न पाउँदैनन्। काठमाडौँ–१ बाट उम्मेदवार बनेका मिश्र ललितपुरको ललितपुर महानगरपालिका–१८ का स्थायी बासिन्दा हुन्। उनी ललितपुर क्षेत्र नम्बर ३ का मतदाता हुन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र यस क्षेत्रबाट २०७४ र २०७९ को निर्वाचनमा पराजित भएका थिए। दुवै निर्वाचनमा कांग्रसका प्रकाशमान सिंहसँग उनी झिनो मतान्तरले पराजित भएका थिए।
२०७४ को निर्वाचनमा सिंहसँग ८ सय १९ मतान्तरले हार ब्यहोरेका मिश्र गत निर्वाचनमा १ सय २९ मतान्तरले पराजित भएका हुन्। मिश्रको यो तेस्रो पटकको उम्मेदवारी हो।
बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार मतदाता नामावली भएको स्थायी ठेगानाको मतदान केन्द्रमा मात्रै मतदान गर्न पाइन्छ। उम्मेदवारी दर्ता गर्नेबेला स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ।
मतदान नामावली फरक क्षेत्रमा रहेका कारण यी उम्मेदवारहरूले आफैलाई मतदान गर्न नपाउने प्रमुख ढकालले बताए।
Shares

प्रतिक्रिया