बागमती


हेटौँडा सडक विस्तार : ५१० घर-टहरा भत्काएपछि किन रोकियो डोजर?

हेटौँडा सडक विस्तार : ५१० घर-टहरा भत्काएपछि किन रोकियो डोजर?

सुनिता विष्ट
मंसिर २१, २०८२ आइतबार १५:२०, हेटौँडा

मकवानपुरको हेटौँडा बजारमा सडक क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत संरचनामा अन्तत: डोजर चलाउन थालिएको छ।

अतिक्रमित क्षेत्र खाली गर्न दिइएको १५ दिनको समय सीमा सकिएको भोलिपल्ट मंसिर २० गते बिहानै हेटौँडास्थित सडक डिभिजन कार्यालयले हेटौँडा बजारमा डोजर चलाएको हो।

यसअघि धेरैवटा त्यस्ता सूचना पचाएर बसेका स्थानीयलाई शनिबार बिहान भने डोजरकै आवाजले ब्युँझायो। अनि मच्चियो कोलाहाल।

डोजरले धमाधम संरचना भत्काउन थालेपछि फर्निचर पसलहरूले हतारहतार सामान हटाउँदै सटर खाली गर्न थाले। त्यसो त सडक डिभिजन कार्यालयका डोजर पनि सकेसम्म सामान जोगाउने पक्षमै देखिएका थिए। डोजर लिएर गएको टोलीले सामान झिक्न बाँकी रहेका घर र पसलमा सुरुमा डोप लगायो। 

धरधनीले भत्काउन अनुमति दिइएका घर भने डोजरले धमाधम भत्काउ थाले। यस क्रममा ५५ वर्षअघि निर्माण भएको मकवानपुर उद्योग वाणिज्य संघको भवनमा पनि डोजर चल्यो। किनकि उक्त भवन पनि सडक सीमाभित्रै थियो। सडक विस्तारका क्रममा क्षति हुने देखिएपछि उद्योग वाणिज्य संघका पदाधिकारीहरूले भवन पूर्ण रूपमै भत्काउन भनेका थिए। सोहीअनुसार तीनवटा डोजरमार्फत आधा घण्टाभन्दा बढी समय लगाएर भवन भत्काइयो। 

शनिबार हेटौँडा-८ कर्रापुलनजिक रहेको एककोठे घरमा भने कारुणिक दृश्य देखियो। घरमा डोजर चलेपछि एउटा ५ वर्षीया र अर्की ८/९ महिनाकी छोरी च्याप्दै २०/२२ वर्षकी महिला रुँदै बाहिर निस्किन्।

भाडामा बसेकी उनले सडक डिभिजनका कर्मचारीसमक्ष रुँदै सामान जोगाइदिन अनुरोध गरिन्। अनि डोजर चलाइरहेका अपरेटरलाई ती कर्मचारीले घरमा डोप मात्रै लगाउन भने। यत्तिकैमा उक्त घरको अगाडिको टप भत्काइयो। जसले घरभित्र रहेका सामान निकालेर सुरक्षित स्थानमा सार्न पाइयो।  

५१० घर-टहरा भत्काइयो, २१ वटा बाँकी
शनिबार बिहान ५ बजे झिसमिसेमै ५ वटा डोजर प्रयोग गरेर साँझसम्म ५१० वटँ घर भत्काइएको सडक डिभिजन कार्यालय (हेटौँडा) का सूचना अधिकारी यादव सुवेदीले जानकारी दिए। 

उनका अनुसार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका दायाँबायाँ २५/२५ गजसम्मका संरचना भत्काइएका हुन्। 

हेटौँडा-१५ रातोमाटेदेखि चौकीटोल ओरालोसम्म र बुद्धचोकदेखि राप्ति रोडसम्मका घर, टहरालगायत संरचनामा डोजर चलाइएको हो।

अब बाँकी हेटौँडा-१ र २ अन्तर्गत चौकीटोलदेखि सामरी पुलसम्मका २१ संरचनामा सोमबार मात्र डोजर चलाइने सडक डिभिजन कार्यालयले जनाएको छ। यी क्षेत्रका केही धरधनीले आफैँ संरचना हटाउन थालेकाले आज एकदिन डोजर चलाउन रोकिएको हो।

त्यसो त शनिबार भत्काइएका संरचनाको भग्नावशेष व्यवस्थापनका लागि पनि भत्काउने काम आजलाई रोकिएको डिभिजनका सूचना अधिकारी सुवेदीको भनाइ छ। अहिले हेटौँडा उपमहानगरपालिका र सडक डिभिजनको समन्वयमा भग्नावशेष व्यवस्थापन भइरहेको उनले जानकारी दिए। 

यस अवधिमा भत्काउन बाँकी घरटहराका सामान, झ्याल-ढोकाका सिसा, चौकोस, सटरलगात सामान सुरक्षित स्थानमा सार्न डिभिजनले स्थानीयलाई आग्रह गरेको छ। 

सबै संरचना भत्काइसकेपछि ढिलोमा ५ दिनभित्र भग्नावशेष हटाइसक्ने योजना रहेको सडक डिभिजनका प्रमुख अधिकारीले बताए।

‘हामीसँग टिपरहरू प्रशस्त छन्। ती प्रयोग गरेर संरचनाबाट निस्किएका मेटेरियलहरूलाई डम्पिङ गर्नेछौँ’, उनले भने, ‘स्थानीयहरूले केही दिन पर्खिदिनोस्, हाम्रा सामान सुरक्षित गर्छौँ भन्ने अनुरोध आएको हुनाले २ दिन समय तोकेका हौँ। त्यसपछि ४/५ दिनभित्रमा सबै सामान सडकबाट हटाएर सफा बनाउँछौँ।’

यसअघि पटकपटक रोकिएको थियो सडक विस्तार
यसअघि सडक डिभिजन कार्यालयले २०७३, २०७६, २०८० र २०८२ मा पटकपटक सूचना जारी गरे पनि घरधनीहरूले अदालतबाट ‘स्टे अर्डर’ ल्याएकाले सडक विस्तार रोकिएको थियो।

तर १७ पुस २०८० मा सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सो क्षेत्र राष्ट्रिय राजमार्ग (२५ गज) भित्र पर्ने र मुआब्जा तथा क्षतिपूर्ति दिनुनपर्ने फैसला गरेका थिए। 

तर त्यतिबेला राजनीतिक दल र तत्कालीन सरकारको दबाबका कारण सडक विस्तारको काम अघि बढ्न सकेको थिएन। 

यसैबीच सोही फैसलाको जगमा सडक विभागले यही मंसिर ५ गते १५ दिनको समय सीमा तोक्दै सडकभित्र परेका घरटहरालगायत संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले बताए।

सूचना जारी भएपछि स्थानीय तहको साथ, जिल्ला प्रशासनको पहलकदमी र संघीय सरकारको निर्देशनले शनिबारदेखि सडक विस्तार गर्न सहज भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad