बागमती


चार महिनामा बागमतीको बजेट खर्च ७.२७ प्रतिशत, आम्दानी पनि कमजोर

चार महिनामा बागमतीको बजेट खर्च ७.२७ प्रतिशत, आम्दानी पनि कमजोर

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १९:२२, हेटौँडा

बागमती प्रदेश सरकार बजेट खर्चको मामिलामा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा गत आर्थिक वर्षभन्दा कमजोर देखिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो ४ महिनामा कुल बजेटको ८ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ। 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा प्रदेश सरकारले कुल बजेटको जम्मा ७.२७ प्रतिशत अर्थात ४ अर्ब ९० करोड ३५ लाख ८ हजार ६३१ रुपैयाँ खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

गत आर्थिक वर्ष २०८१/०८२ को यहि अवधिमा प्रदेश सरकारले कुल बजेटको ७.९३ प्रतिशत बजेट खर्च गरेको थियो। गत आर्थिक वर्षको यस ५ अर्ब ११ करोड ६९  लाख नौ हजार रुपैयाँ खर्च गरेको प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको यस अवधिमा चालुभन्दा पुँजीगततर्फको बजेट निकै कम खर्च भएको छ। चालुतर्फ २६ अर्ब ४ करोड ३७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएकोमा १३.६८ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ ४१ अर्ब ४३ करोड ३५ लाख ३६ हजार रुपैयाँ विनियोजन भएकोमा ३.२४ प्रतिशत मात्रै खर्च भएको छ। यता अर्थ विविध शीर्षकमा चालू र पुँजीगत गरी १० अर्ब ६३ करोड ७३ लाख ७२ हजार ८ सय रुपैयाँ विनियोजन गरिएकोमा यस शीर्षकअन्तर्गत पनि खर्च हुन सकेको छैन।

प्रदेशका १४ मन्त्रालयका लागि बजेट विनियोजन भएको बागमती प्रदेशमा सबैभन्दा बढी श्रम रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले १.१४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।

त्यसोत, प्रदेश सरकारको पहिलो चौमासिकको आम्दानी पनि निकै कमजोर देखिएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक राजस्व संकलनबाट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले पहिलो ४ महिनामा लक्ष्यको जम्मा १७.१८ अर्थात ११ अर्व ५९ करोड ११ लाख ४१ हजार ९१० रुपैयाँ आम्दानी गरेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको यही अवधिको भन्दा झण्डै लक्ष्यभन्दा दुई प्रतिशतले बढी आम्दानी गर्न सफल भएको छ। गत आर्थिक वर्षमा यसै अवधिमा प्रदेश सरकारले कुल लक्ष्यको १५.५० प्रतिशत अर्थात् १० अर्ब ५ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, ससर्त, विशेष र समपूरक शीर्षकबाट २३.३७ प्रतिशत अर्थात् तीन अर्ब ४६ करोड ३४ लाख ७१ हजार अनुदान प्राप्त भएको छ। प्रदेश सरकारले चालू आवमा संघीय सरकारबाट १४ अर्ब ८१ करोड ३० लाख अनुदान प्राप्त गर्ने अनुमान गरेको थियो।

यस्तै, प्रदेश सरकारले राजस्व बाँडफाँटबाट चालु आर्थिक वर्षमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ आम्दानी गर्ने अनुमान गरेकोमा ६ अर्ब ९३ करोड ६४ लाख ४६ हजार रुपैयाँ अर्थात २२.४५ प्रतिशत प्राप्त भएको छ। 

प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालू आवमा चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा यस अवधिमा २३.०७ प्रतिशत अर्थात् एक अर्ब १३ करोड २२ लाख २८ हजार रुपैयाँ प्राप्त भएको छ। यसैगरी, प्रदेश सरकारले बेरुजु तथा गत वर्षको नगद मौज्दातबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेकोमा अहिलेसम्म ०.३५ प्रतिशत अर्थात ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ मात्रै प्राप्त गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad