बागमती


बेमौसमी वर्षाले बागमतीमा १२ हजार टन धान क्षति

बेमौसमी वर्षाले बागमतीमा १२ हजार टन धान क्षति

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १६:५३, हेटौँडा

बेमौसमी वर्षाले बागमती प्रदेशमा १२ हजार टन भन्दा बढी धान नष्ट भएको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार गत असोज र कात्तिकमा परेको बेमौसमी वर्षाका कारण प्रदेशभर १२ हजार २१४.२६ टन धान नष्ट भएको हो। भित्र्याउने बेलाकोे धानमा क्षति पुग्दा यस वर्ष उत्पादन घट्ने देखिन्छ।

मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार १८ देखि २० असोजसम्मको अविरल वर्षा र त्यसपछिको मोन्था चक्रवातका कारण परेको वर्षा तथा डुबानले प्रदेशका १० जिल्लामा ५ हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ। त्यसमध्ये १२ हजार २१४.२६ टन धान अर्थात् २२ करोड २४ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन रहेको उनले बताए।

पाक्न लागेको धानमा क्षति भएकाले समग्रमा उत्पादन पनि घट्ने देखिएको उनको भनाइ छ। 

बागमतीमा गत वर्ष १ लाख १५ हजार हेक्टरमा धानखेती हुँदा ४ लाख ४८ हजार ५ सय टन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ। तर, यस वर्ष भने धान उत्पादन ४४ हजार ८५० टनले घटेर ४ लाख ३ हजार ६ सय ५० टनमा सीमित हुने आकलन रहेको उनले बताए।

उनका अनुसार सबैभन्दा बढी क्षति नुवाकोटमा ३ हजार १२८.५८ हेक्टरमा लगाइएको धानखेतीमा क्षति भएको छ। जसबाट पाँच हजार ८७।२१ टन धानबाली नष्ट भएको छ। यसबाट करिब एक करोड ८३ लाख रुपैयाँको नोक्सानी पुगेको छ।

यस्तै, सिन्धुपाल्चोकमा १७ हेक्टरमा लगाइएको धानखेती प्रभावित हुँदा ४२.१२ टन धान नष्ट भएको छ भने १३ लाख ८६ हजार रुपैयाँको नोक्सानी भएको छ। रामेछापमा १३३.१० हेक्टर धानखेती प्रभावित हुँदा ५१४.१० टन धान नष्ट भएको छ।

एक करोड ६८ लाख रुपैयाँको हानी भएको छ। सिन्धुलीमा एक हजार ९८ हेक्टर क्षेत्रफलमा धानखेती नष्ट भइ तीन हजार ५८० टन धानबालीमा हानी भएको छ। सिन्धुलीमा एक करोड १७ लाख रुपैयाँको क्षति पुगेको छ।

दोलखामा ८३२.१७ हेक्टरमा लगाइएको धानखेतीमा क्षति हुँदा दुई हजार ३२४.५१ टन नष्ट भएको छ। यसबाट ५४ लाख रुपैयाँको आर्थिक क्षति भएको छ भने धादिङमा ७९ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा २६९.५० टन धान नष्ट हुँदा ८६ लाख रुपैयाँको नोक्सानी भएको छ।

त्यस्तै, काभ्रेमा १४.५ हेक्टरमा क्षति हुँदा १२.५ टन चितवनमा २० हेक्टर धानमा क्षति हुँदा ७५.४० टन धान नष्ट भएको मन्त्रालयले जनाएको छ। काभ्रेमा चार लाख १२ हजार र चितवनमा २६ लाख ७३ हजार रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ भने रसुवामा १५६.३० हेक्टरमा क्षति पुग्दा २५७.५२ टन धान क्षति भएको छ।

मकवानपुरमा १६ हेक्टरमा क्षति हुँदा ५१.२० टन क्षति भएको छ। रसुवामा २७ लाख र मकवानपुरमा १८ लाख १५ हजार रुपैयाँको बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad