दसैँको अवसरमा लाङटाङ पदयात्रा जाने क्रममा बेपत्ता भएका ४ जनाको अवस्था अझै अज्ञात छ।
भदौ १८ गते साँझ रसुवाको गोसाइकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सीले बगाउँदा बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहे पनि अझै नभेटिएको हो।
भक्तपुरबाट भदौ १७ गते लाङटाङका लागि निस्किएका १६ जनामध्ये ४ जनालाई १८ गते साँझ बेरिङ खोल्सीमा आएको बाढीले बगाएको थियो।
घटनाको भोलिपल्ट अर्थात् १९ गते आइतबारबाट खोजीकार्य जारी राखेपनि उनीहरुको अवस्था १० दिनसम्म पनि अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय, रसुवाका सहायक जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार सुरुवाती दिनदेखि हालसम्म पनि दैनिक रुपमा उनीहरुको खोजी गरिरहेको छ। मंगलबार (आज) सुरक्षा संयन्त्रका १०५ जनाको टोलीले खोजीकार्य गरिरहेको सहायक जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।
‘हामीले दैनिक खोजिकार्य गरिरहेका छौं,’ उनले भने, ‘आज पनि नेपाल आर्मीका टोली, नेपाल प्रहरीको डीएसपी साब सहितको टोली, सशस्त्र प्रहरी लगाएत सीडीयो साब स्वंम् पनि फिल्डमै खटिएर खोजी गरिरहनु भएको छ। तर अवस्था केही पत्ता लाग्न सकेको छैन।’
बाढीले बगाउँदा भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–४ दधिकोटका २६ वर्षीया संगीता श्रेष्ठ, उनका बहिनी २४ वर्षीया संस्कृति श्रेष्ठ र भाइ २० वर्षका किसन श्रेष्ठ तथा भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ हराइरहेका छन्।
उनीहरूसँगै गएका सनिता श्रेष्ठका अनुसार १६ जनामध्ये १२ जनाले उक्त खोल्सी तरेपछि एक्कासी आएको बाढीले ४ जनालाई बगाएको थियो।
Shares

प्रतिक्रिया