बागमती


मतदाता नामावलीमा जेनजी लहरः नाम दर्ता गराउने धेरैजसो २५ वर्षभन्दा कमका

मतदाता नामावलीमा जेनजी लहरः नाम दर्ता गराउने धेरैजसो २५ वर्षभन्दा कमका

नेपालखबर
असोज २७, २०८२ सोमबार १५:३३, हेटौँडा

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ। निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ।

यस्तो अवस्थामा विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन्। 

निर्वाचन होला कि नहोला भन्ने अन्यौलता कायमै रहे पनि निर्वाचनमा भाग लिन इच्छुक मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन्। प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूको संख्या दिनहुँ बढ्दै गएको छ। 

जेनजी प्रदर्शनले देशको राजनीतिमा नयाँ मोड ल्याएको बताउँदै अब जिताउने उम्मेदवार आफूहरूले छान्न पाउने भन्दै मतदाता नामावलीमा नाम दर्ता गराउन जेनजी पुस्तामा उत्साह देखिएको छ। 

कार्यालयमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्नकै लागि नाम दर्ता गराउन आएको बताएका छन्। 

हेटौंडा–४ स्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेका प्रमित आचार्य अब आउने निर्वाचनमा सही उम्मेदवार छान्ने जिम्मा जेनजी पुस्तालाई रहेको बताउँछन्।

जेनजी प्रदर्शनको बलिदानीले तय भएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेर देश विकास गर्ने, नयाँ पुस्ताका उम्मेदवारलाई जिताउन नाम दर्ता गर्न आएको बताए। 

जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमले आफ्नो विचार फेरिएको बताउँदै उनले भने, ‘आन्दोलनमा त्यत्तिका मान्छेहरूको ज्यान गएको छ। देशका लागि सहिद हुनेहरूको न्यायको लागि भएपनि असल मान्छेहरूलाई सरकारमा पठाउन पर्छ भन्ने लागेको छ। त्यसमा हामी जेन–जी पुस्ताको मतले ठूलो भूमिका खेल्छ। पुरानै दल र पुरानै अनुहार उठे भने केही हुन्न। त्यो छान्ने जिम्मेवारी हाम्रो पुस्ताले लिनुपर्छ भन्ने लागेको छ।’

त्यसोत, मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूमा अधिकांश १७ देखि २५ वर्ष उमेर समूहका युवाहरू छन्। विगतका चुनावमा मताधिकार प्रयोग गर्न चासो नदेखाएका युवाहरूले समेत आगामी फागुन २१ को चुनावप्रति चासो देखाएका छन्। हालसम्मको अवस्थामा मकवानपुरका ६ सय ९७ जनाले नाम दर्ता गराएका छन्। जसमा अधिकांश २५ वर्षभन्दा कम उमेर समूहका रहेको प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका निर्वाचन अधिकारी हरि प्रसाद ढकाल बताउँछन्।

उनका अनुसार अद्यावधि गर्न आउनेबाहेक ८० प्रतिशत १७ देखि २५ वर्ष उमेर समूहका छन्।  

मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधि अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगको वेबसाइटमा गएर फारम भरेपछि बायोमेट्रिकको लागि मात्रै निर्वाचन कार्यालय पुग्नुपर्ने बताइएको छ।

यसबाट सेवाग्राहीलाई सहजता हुने र आयोगको सेवा प्रवाह डिजिटल रूपमा विस्तार हुँदा मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित भएको निर्वाचन अधिकारी ढकाल बताउँछन्।

हालैको ‘जेनजी’ आन्दोलनले जगाएको राजनीतिक चेतना र स्वतन्त्र उम्मेदवारहरूको उदयले युवाहरूलाई आफ्नो मतको शक्तिबारे सोच्न थालेको देखिन्छ। मकवानपुरमा दुई वटा प्रतिनिधि सभा क्षेत्र रहेकोमा ४० वटा वडा रहेको क्षेत्र नम्बर १ मा १ लाख ५१ हजार २४१ मतदाता रहेको तथ्यांक थियो भने ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १ लाख ५१ हजार २ मतदाता रहेका थिए।

२०७९ को आम निर्वाचनमा मकवानपुरमा कुल मतदाता ३ लाख २ हजार २४३ थिए। यो संख्यामा उल्लेख्य बृद्धि हुने अनुमान निर्वाचन आयोगको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad