बागमती


मानवसेवा आश्रममा दसैँ मनाइरहँदा छोराछोरी सम्झेर टोलाइरहेका बा-आमा

मानवसेवा आश्रममा दसैँ मनाइरहँदा छोराछोरी सम्झेर टोलाइरहेका बा-आमा

सुनिता विष्ट
असोज १६, २०८२ बिहिबार १९:२७, हेटौँडा

मकवानपुरको हेटौँडास्थित मानवसेवा आश्रमको प्राङ्गणमा आज (बिहीबार) बिहानै दसैँका गीत गुञ्जिरहेका थिए। साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म आश्रममा आश्रित सबैले बिहानै नुहाएर नयाँ कपडा लगाए।

बिहानीको भोजन गरे, अनि सुरु भयो दसैँको रौनक। रातो टीका र जमरामा सजिए सबै जना। आश्रमको प्राङ्गणमा पिङ थियो। कोही नाच्न थाले।बालबालिका नयाँ कपडा देखाउँदै पिङमा झुम्मिए।

तर केही बाआमा टोलाउँदै आँखाभरि आँशु टिलपिल पारेर बसिरहेका थिए। यिनैमध्ये एक थिइन्- कास्की ह्याङ्जाकी मुरली विक। ६१ वर्षकी उनी ७ वर्षअघि प्यारालाइसिसले थलिइन्। शरीरको देब्रे पाटो नचल्ने भएपछि उनलाई स्थानीय जनप्रतिनिधिले पोखरास्थित मानवसेवा आश्रमको जिम्मा लगाए। 

रोग लागेर थला पर्दा श्रीमान् साथमै थिए तर न हेरचाह गर्थे न उपचार गराउँथे। दिनरात जाँडरक्सी खाने श्रीमान्‌को व्यवहारले उनी ७ वर्षअघि आश्रमको शरण लिन बाध्य भएकी थिइन्। पोखराबाट हेटौँडा आएको भने १३ महिना भयो।  

आज दसैँको टीका लगाउने दिन उनको अनुहार अन्य दिनको भन्दा निकै मलिन थियो। तीन छोराछोरीकी आमा मुरलीको ६ जना नातिनातिना छन्। उनलाई यति मात्रै थाहा छ-उनीहरू आफ्ना घरपरिवारसँग बसेका छन्। तर कहाँ छन्, कस्तो अवस्थामा छन्? जानकारी छैन। कारण वर्षौँदेखि छोराछोरी उनको सम्पर्कमा छैनन्।

तर चाडपर्वका बेला उनीहरूको याद धेरै आउने उनले बताइन्।

‘सम्झना किन नआउँदो हो? बिहानदेखि आँतमा घाम लागेको छैन’, आँखाभरि आँशु टिलपिल पार्दै उनले भनिन्, ‘आफ्ना हातले छोराछोरी र नातिनातिनाको निधारमा अक्षता टाँस्दिन पाको भए भन्ने त लागिहाल्छ नि! उनीहरूलाई सम्झेर केही खान पनि मन लागेको छैन। गीत बज्दा पनि झिझोँ लागेर आको छ।’

त्यसो त ७ वर्षअघि आश्रम जान लाग्दा छोरा दीपक विकले उनलाई नजान भनेका थिए। जतिबेला दीपक १८ वर्षका मात्र थिए। तर आम्दानीको स्रोत नभएको र घरमा हेरचाह गर्ने मान्छे नभएको भन्दै तत्कालीन वडाध्यक्षको रोहबरमा मुरलीलाई आश्रममा राखियो।

‘आश्रममा आएदेखि छोरालाई भेटेको छैन, तर विवाह गरेर काठमाडौँ बस्न थालेको छ भन्ने सुनेको छु’, उनले नेपालखबरलाई सुनाइन्, ‘अहिले त बोल्न सक्ने भएँ। त्यो बेला शरीरको एक पाखो चल्दैनथ्यो। आवाज निस्कँदैनथ्यो। त्यस्तो बेला घरबाट निस्केर आश्रममा बस्न थालेँ। अहिले धेरै सञ्चो भएको छ। तर लिन आउने कोही छैन। दसैँका लागि भनेर न छोरा-बुहारी न छोरीहरूले लिन आए। न टीका लगाउनै आए।’

उनी आश्रममा बस्न थालेको वर्ष दिनमै श्रीमान् गोथे विकको मृत्यु भयो। त्यतिबेला पनि पतिको काजक्रिया गर्न कसैले घर लगेनन्। आश्रममै नुन बारिन्। उनका दुई छोरी र एक छोरा छन्। त्यसबेला उनी पोखराकै आश्रममा थिइनन्। त्यहाँबाट हेटौँडास्थित आश्रममा उनलाई उनलाई २०८१ भदौमा ल्याइएको हो। 

०००

अर्घखाँची घर भएका ज्योतिप्रसाद भुसाल पनि बिहानैदेखि परिवार सम्झेर झोक्राइरहेका थिए। आमाबाबुको मृत्यु भएपछि परिवारका ज्येष्ठ सदस्य बनेका ज्योतिका ३ भाइ छन्। चार दाजुभाइमध्ये जेठा हुन्। अविवाहित भए पनि उनलाई आजको दिन भाइबुहारी र उनीहरूका छोराछोरीको खुब याद आइरहेछ।

‘चाडपर्वको दिन घरको याद नआउने, गाउँको याद नआउने र परिवारको याद नआउने को होला र’, नेपालखबरसँग दु:ख बिसाउँदै उनले भने, ‘तर के गर्नु घरमा आफ्नै बालबच्चा छैनन्। भाइबुहारी लिन आएनन्। तिनका छोराछोरीलाई त म छु भन्ने पनि थाहा छ कि छैन? बाआमा भए लिन पठाउँदा हुन्। कोही नभएको मलाई कसले पो सम्झन्छ र!’

त्यसो त आश्रममा कसैले आफन्त, दाजुभाइ, दिदीबहिनी खोज्नु पर्दैन; यो आफैँमा एउटा परिवारसरह हो। मानव सेवा आश्रममा हरेक पर्व सामूहिक र पारिवारिक माहोलमा मनाइन्छ। अन्य घरमा झैँ यहाँ पनि दसैँको रौनक हुन्छ नै।

तर पनि मन न हो- आफ्नो परिवारसँग छुटेर बस्नुपर्दा चित्त बुझाउन गाह्रै हुन्छ। 

आश्रमकी संयोजक इशा थापा भन्छिन्, ‘दसैँजस्तो पर्वमा आश्रित कोही पनि एक्लो महसुस नहोस् भन्ने हाम्रो चाहना हो। सोहीअनुरूप हामीले गोर्खाको शाखामा रहेका ४० जना बालबालिकालाई पनि यहीँ ल्याएका छौँ। यतिबेला मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौँडामा २५० जना परिवार छौँ। आश्रममा आश्रित मात्रै होइन, उहाँहरूको हेरचाहमा बसेका हामी पनि परिवारबाट टाढा रहेरै सेवा गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad