बागमती


महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु : मेयर शाह

महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु : मेयर शाह

नेपालखबर
भदौ १४, २०८२ शनिबार १३:२३, काठमाडौँ

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगर प्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन्। 

तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कानुन, नीति-नियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगर प्रहरीलाई निर्देशन दिए। 

प्रमुख शाहले भने, ‘महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु।’

उपप्रमुख सुनीता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिइन्। 

उनले भनिन्, ‘नागरिकको सुखदुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रूपमा काम गर्नुपर्छ।’

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी र महानगर प्रहरी बलको सहकार्यमा अनधिकृत संरचना, अवरोध र सडकपेटीको अतिक्रमण हटाउने काम नतिजामुखी ढङ्गबाट भइरहेको बताए। 

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने, विपद्  र सवारी व्यवस्थापन गर्दै आएको बताए। 

महानगर प्रहरी बलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण,  सडकमा छाडिएका चौपाया, अव्यवस्थित घरटहरा हटाउने तथा विपद् र ढलनिकास व्यवस्थापन, बजार अनुगमन गरिरहेको छ।

महानगर प्रहरीले स्थापना दिवसका अवसरमा स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रको सरसफाइका साथै महानगरपालिकाभित्रका विभिन्न स्थानमा वृक्षरोपणसमेत गरेको थियो।

विसं २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलान हाल ३६२ जना कार्यरत छन्। प्रहरी बलले गत वर्ष नियम उल्लङ्घन गरेका २० हजार ७३४ सवारीसाधन धनी र तोकिएका स्थानबाहेक अन्यत्र फोहर फाल्ने ३९७ जनालाई कारबाही गरेको जनाएको छ। उक्त कारबाहीबाट महानगरलाई रु तीन करोड ५६ लाख प्राप्त भएको छ। 

त्यस अवसरमा यस वर्षको ‘महानगर प्रहरी गौरव’ पुरस्कार नगरप्रहरी वरिष्ठ निरीक्षक लक्ष्मी  महर्जनलाई प्रदान गरिएको थियो भने ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ हबलदार बालकृष्ण कार्कीलाई र ‘महानगर प्रहरी पुरस्कार’ हबलदारद्वय विजय तामाङ र मणिराम खनाल हबलदार तथा प्रहरी जवान फिलिपी सारु मगरलाई प्रदान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad