बागमती


प्रादेशिक कृषि थोक बजार हस्तान्तरण

कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याइने
प्रादेशिक कृषि थोक बजार हस्तान्तरण

नेपालखबर
साउन १८, २०८२ आइतबार २१:२५, हेटौँडा

बागमती प्रदेश सरकारको महत्वपूर्ण आयोजनाको रूपमा रहेको प्रादेशिक कृषि थोक बजार निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

आइतबार हस्तान्तरण गरिएको नवनिर्मित कृषि थोक बजार प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो। 

प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा बनेको उक्त थोक बजारको निर्माण कार्य सम्पन्न भएपछि आज एक समारोहकाबीच प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।

किसानहरूको कृषि उपज बिक्री वितरणमा सहजता ल्याउने उदेश्यले निर्माण भएको थोक बजार सञ्चालनमा आएपछि प्रदेश भरका किसानका उत्पादनले मुल्य पाउन र विचौलियाको अन्त्य हुने उनीहरूको अपेक्षा छ। 

२०७८ असार १८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरपालिकाका तत्कालीन मेयर हरिबहादुर महतले यसको शिलान्यास गरेका थिए।

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माण भएको कृषि थोक बजार २ बिघा ४ धुर क्षेत्रफलमा फैलिएको छ। जहाँ ४ वटा सुविधासम्पन्न भवन छन् भने एउटा कोल्ड स्टोर निर्माण गरिएको छ।

प्रदेश सरकार र स्थानीय तहको लागत सहभागीतामा निर्माण भएको थोक बजार सञ्चालनको जिम्मेवारी अब हेटौंडा उपमहानगरपालिकालाई दिइने र सो कार्यविधि तयारीको अन्तिम अवस्थामा रहेको प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपश्चात प्रदेश संरचना स्थापना भएसँगै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र तत्कालिन कृषि मन्त्री दावा दोर्जे लामाको कार्यकालमा सुरुवात भएको प्रदेशको महत्वपूर्ण आयोजनाले पूर्णता पाएको छ।

कृषि मन्त्री श्रेष्ठले भने, ‘किसानहरूलाई व्यवसायिक रुपमा अघि बढाउन प्रदेश सरकार तत्पर छ। जसका लागि स्थानीय तहरूसँग समन्वयमा काम गरिरहेको छ।’ 

उनले थपे, ‘अब यो नवनिर्मित कृषि थोक बजार सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाको टीम र मन्त्रालयको टीम बसेर सञ्चालन कार्यविधि तयार गर्छौं। हामीले कृषि विकास प्रवद्र्धन ऐन बागमती प्रदेश सरकारले भर्खरै सदनबाट पास गरिसकेको छ। यो ऐन प्रमाणीकरण गर्नका लागि प्रदेश प्रमुख कार्यालयमा गएको छ। अबको केही दिनमा बागमती प्रदेशको कृषि प्रवर्द्धन ऐन प्रमाणीकरण भएर आउनेछ।’ 

प्रदेश सरकारले स्थानीय तहसँग हातेमालो गर्दै निर्माण गरिएको थोक बजार निर्माण सम्पन्न भएपछि अब हेटौंडा उपमहानगरपालिकाले सञ्चालनको तयारी गरिरहेको बताइएको छ।

प्रदेश सरकारबाट सञ्चालनको मोडालिटिको कार्यविधि स्वीकृत भएलगत्तै थोक बजार सञ्चालनमा ल्याएर किसानहरूलाई सुविधा दिने हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताइन्। सो पश्चात् यस थोक बजारले राज्यलाई आर्थिक टेवा पुर्‍याउने उनले दाबी गरिन्। 

मेयर लामाले यो हेटौंडाको मात्रै सम्पत्ति नभएर प्रदेशको सम्पत्ति भएको बताउँदै भनिन्, ‘प्रदेशले चाहेको भए जहाँ पनि लगानी गर्न सक्थ्यो। तर तत्कालिन मुख्यमन्त्रीज्यू र मन्त्री ज्यूले प्रदेशको राजधानी हेटौंडामै प्रादेशिक थोक बजार निर्माण गर्ने सोच राख्नु भयो। जसका कारण सुविधा सम्पन्न कृषि थोक बजार निर्माण गर्न सफल भयौं।’

तरकारीको भाउ नआएको बेला राख्नका लागि शितभण्डारको समेत व्यवस्था रहेको मेयर लामाले बताइन्। 

थोकबजारमा होलसेल मार्केट, रिटेल मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना बनेका छन्। यसमा २ वटा लिफ्टको सुविधासमेत छ।

कार्गो र मानिसहरूको आवतजावतका लागि फरकफरक लिफ्टको सुविधा छ भने थोक बजारको थोक मार्केटमा ४० वटा सटर र खुद्रा मार्केटमा २३ वटा सटर छन्। भवनमा अण्डरग्राउण्ड पार्किङको सुविधा छ।

भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य गर्न सकिने गरी निर्माण गरिएको थोक बजार एन के/माउण्टेनले ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँमा ठेक्का लिएकोे थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad