बागमती प्रदेश सरकारले ल्याएको बजेट तथा कार्यक्रममाथि सांसदहरूले विभिन्न प्रश्न उठाएका छन्। आइतबार (आज) बसेको प्रदेश सभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले बजेट स्वार्थ केन्द्रित भएको भन्दै प्रश्न गरेका हुन्।
बिहान ११ बजेबाट सुरु भएको बजेटमाथिको छलफलमा आफ्ना धारण राख्दै सांसदहरूले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेमाथि प्रश्न उठेपछि मन्त्री पदबाट राजीनामा दिँदा ठिक हुने समेत बताए।
सरकारले ल्याएको बजेटमाथि विपक्षी दलहरूले भन्दा सत्तारुढ दलका सांसदहरूले नै बढी असन्तुष्टि जनाएको पाइएको हो।
नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद प्रभात तामाङले बजेटको सिद्धान्तमै नरहेर बजेट निर्माण गरेको आरोप लगाए। उनले भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले आफ्नो क्षेत्र अर्थात् तारकेश्वर नगरपालिकामा ७६ करोड ४४ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको र रसुवा जस्तो विकटका जिल्लाका लागि मन्त्रालयले ४७ करोड ९० लाख २५ हजार रुपैयाँमात्रै विनियोजन गरिएको गुनासो गरे।
यस्तै, सहकारी मन्त्रालयले रसुवाको लागि कुनै योजना नै नराखेको तथा उद्योग मन्त्रालयले पनि एउटै योजना समावेश नगरेको तामाङले बताए।
यता, प्रदेशको सामाजिक विकास मन्त्रालयले गैर सरकारी संस्थाहरूलाई बजेट विनियोजन गरेको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। संस्थाहरूको नाम नै तोकेर करोडौं रकम विनियोजन गरिएको भन्दै सांसदहरूले यसको जवाफ दिन माग गरेका हुन्।
नेकपा एमालेकी सांसद बालकुमारी विश्वकर्माले दलीत समुदायका लागि कार्यक्रमको माग गर्दा बजेट पुगेन भन्ने मन्त्रीले एनजीओहरूलाई किन र कसरी समेटियो भन्ने जवाफ दिनुपर्ने बताइन्।
नेपाल मजदुर किसान पार्टी बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले बजेटका झगडा गरिरहनुभन्दा बजेटको स्रोत सुनिश्चिता गर्न जरुरी रहेको बताए। उनले दुई ठूला दल मिलेर बनेको सरकराले ल्याएको बजेट तथा कार्यक्रमले सुशासन दिन नसक्नु दुखद् भएको बताए।
‘संघ र बागमती प्रदेश सरकारको स्थिती हेर्दा ठगहरूको घेरा तोड्न नसक्ने कायरको सरकार पो हो कि भन्ने लागेको छ,’ उनले भने, ‘प्रदेश सरकारले साना तल्ला लेबलका मानिसहरूलाई समेत यो दिउँला, त्यो दिउँला भन्दै बोलाएर थोरै बजेट बाँड्ने चलन बसालेका छौं, यसले हामीलाई कहाँ पुर्याउँछरु यो सोचनीय विषय हो।’
त्यसोत, नेपाली कांग्रेसका सांसद रामकुमार पहाडीले आफ्नो क्षेत्राधिकार बाहिरको योजनामा बजेट विनियोजन गर्ने साहस कहाँबाट आयो? भन्दै रोष्टमबाट मन्त्रीहरूलाई प्रश्न गरे। सांसद पहाडीले सामाजिक विकास मन्त्रालयले सबैभन्दा धेरै क्षेत्राधिकार मिचेर बजेट बनाएको बताए।
‘सामाजिक विकास मन्त्रालयले तालिमलाई पनि बजेट राखेको छ, उद्योगको क्षेत्रलाई बजेट राखेको छ,’ उनले भने, ‘सहकारीका योजना पनि राखेको छ। कृषिलाई हाल्ने योजना पनि हालेको छ। त्यतिमात्रै नभएर एकदुईवटा पूर्वाधार निर्माणका क्षेत्रमा समेत बजेट विनियोजन गरेको पाइयो।’
यसरी मनलाग्दी बनाइएका योजनाले बागमती प्रदेशलाई समृद्ध प्रदेश बागमती प्रदेश बनाउन नसकिने सांसद पहाडीले चिन्ता व्यक्त गरे। लोकप्रियता कमाउनका लागि आसेपासेलाई बजेट छुट्याएर काम गर्न नसकिने उनले बताए।
यता, सरकारकै नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले समेत सरकारले ल्याएको बजेटमाथि आलोचना गरेका छन्। बजेट किताबमा दूरगामी योजनाहरू नभएर टुक्रे योजनालाई प्राथमिकता दिनु गलत भएको उनले बताए।
‘सरकारको नियत सफा होला, यसमा म प्रश्न गर्न चाहन्न,’ उपनेता चित्रकारले विनियोजन विधेयक माथिको छलफलका क्रममा भने, ‘बजेट भनेको योजना मात्रै होइन। नीतिगत व्यवस्था, अर्थ प्रणाली निर्माण, वित्तिय अनुशासन कायम गर्ने र कर प्रशासनमा सुशासन दिने पनि हो। समग्रमा भन्ने हो भने सरकारले राम्रा योजनाहरू पनि ल्याएको चाहिँ पाइन्छ। तर त्यसलाई कार्यान्वयनमा लान गम्भीरतापूर्वक लाग्न पनि आवश्यक छ।’
उनले दुर्व्सनीमा लाग्ने युवाहरूलाई जोगाउने कार्यक्रम, दलित तथा अल्पसंख्यक समुदायको लागि उत्थानका कार्यक्रम सरकारले समावेश गर्न नसक्नु दुखद् भएको बताए।
आजसम्म सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको विभागीय मन्त्रीहरूले जवाफ दिने प्रदेश सभा सचिवालयले जनाएको छ। मन्त्रीहरूले जवाफ दिएपछि सोमबार नै बजेट सदनबाट पास गर्ने सरकारको तयारी छ।
प्रदेश सभा बैठक सोमबार बिहान ८ बजेका लागि आव्हान गरिएको प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले बताइन्।
उनका अनुसार भोलि बस्ने बैठकमा सा।सदहरूले विनियोजन विधेयक २०८२/८३ माथिको छलफलमा भाग लिनेछन् भने सांसदहरूले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूचि रहनेछ।
Shares

प्रतिक्रिया