बागमती


बागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष

बागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १५:२२, काठमाडौँ

५ वर्षअघि शिलान्यास गरिएको बागमती प्रदेश सभा भवनको अस्थायी भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन।

प्रदेश सभाको दोस्रो कार्यकालको आधा समय बितिसक्दा समेत कानून निर्माण गर्ने थलो प्रदेश सभा भवन नबनेको हो। विस २०७४ फागुन १४ गतेको बैठकबाट आफ्नो कार्य सञ्चालन गर्न थालेको प्रदेश सभाले २०७७ मंसिर १० गते मात्रै अस्थायी भवनको शिलान्यास गरेको थियो।

अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भनेर २०७७ कार्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा भवन बनाउने ठेक्का पाएको थियो। अर्घाखाँची–सगुन–पारामाउण्ट जेभीले ढिलो गरी प्रिफ्याबको संरचना निर्माण गर्‍यो र थप कमका लागि २०८० फागुन २३ गते सिउँडी निर्माण सेवासँग ३ करोड ५३ लाख ६१ हजार ५ सय ८३ रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो। 

हेटौँडा उपमहानगरपालिका–१०, स्थित हाल अस्थायी रुपमा सञ्चालित प्रदेश सभा सचिवालयको जग्गाभित्रै प्रिफ्याबबाट अस्थायी संरचना निर्माणको काम भर्खरै सकिएर फर्निचर र विद्युतीय उपकरणको काम भइरहेको प्रदेश सभा सचिवालले जनाएको छ।

फर्निचर र विद्युतीय उपकरणको काम गर्न प्रदेश सभा आफैंले ठेक्का लगाएर काम गरेको छ। सिउँडी इन्टरनेसनल प्रालिसँग भवनमा फर्निचररफर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा २०८१ फागुन ४ गते ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार फर्निचरको काम ३ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने म्याद थियो। फर्निचर र विद्युतीय उपकरणको काम गत जेठ ४ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेमा निर्माण कम्पनीले ढिलाई गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ता बताउँछन्। 

प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्न नसकेपछि २०७७ सालमै अस्थायी प्रयोगका लागि भन्दै यो भवन बनाउन थालिएको थियो। प्रदेश सभाको हालको सभाहल ११० जना प्रदेश सभा सदस्यका लागि साँघुरो छ। साँघुरो सभाहलमा धेरै कुर्सी राखिएकाले प्रदेश सभा सदस्यहरुलाई सहजै हिँडडुल र बस्न पनि कठिनाई छ। 

प्रदेश सभा सचिवालय हाल संघीय सरकार मातहतको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad