बागमती


काठमाडौँमा आज कति ठूलो वर्षाको सम्भावना छ?

काठमाडौँमा आज कति ठूलो वर्षाको सम्भावना छ?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
जेठ १७, २०८२ शनिबार ८:२५, काठमाडौँ

काठमाडौँ उपत्यकामा पनि पानी पर्न थालेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अहिले उपत्यकाका कुनै-कुनै स्थानमा हल्का वर्षा भइरहेको छ। 

आज शनिबार काठमाडौँ उपत्यकामा कति ठूलो वर्षाको सम्भावना छ? 

नेपालखबरको जिज्ञासामा उनले भने, ‘त्यस्तो भारी वर्षाको सम्भावना त देखिन्न, हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम पूरा खुल्ने सम्भावना देखिएको छैन। 

‘दिनभर नै पानी परिरहने त होइन, बीचबीचमा घाम पनि देखिन सक्छ’, उनले भने, ‘घामपानी, घामपानी हुने सम्भावना छ।’

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।  

कोसी प्रदेशमा सरदर मितिभन्दा १५ दिनअघि नै मनसुन भित्रिएयता पानी पर्ने क्रम बढेको छ।

तथापि अहिलेसम्म मनसुनी वायु कोसी प्रदेशका अधिकांश स्थानमा मात्र फैलिएको छ। मनसुनका कारण त्यहाँ त अति भारी वर्षासमेत भइसकेको छ। 

काठमाडौँलगायत देशका अन्य स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुकै प्रभाव रहेको मौसमविद्को भनाइ छ। 

अब पूर्वबाट क्रमश: पश्चिमतर्फ फैलिने मनसुन देशव्यापी हुन अझै केही समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad