बागमती


नख्खु खोलाले बगाएका बाउ-छोरी बचाउने चणिकलाललाई गणतन्त्र दिवसका दिन डेढ लाख पुरस्कार दिइँदै

नख्खु खोलाले बगाएका बाउ-छोरी बचाउने चणिकलाललाई गणतन्त्र दिवसका दिन डेढ लाख पुरस्कार दिइँदै

चणिकलाल तामाङ र गत असोजमा नख्खु खोलामा आएको बाढीको दृश्य


नेपालखबर
जेठ १०, २०८२ शनिबार १२:२४, हेटौँडा

गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका-२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी बचाएका काभ्रेको तेमाल गाउँपालिका-९ का चणिकलाललाई प्रदेश सरकारले १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको हो। 

प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले चणिकलालाई गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते नगद पुरस्कारसहित सम्मान गरिने जानकारी दिए। 

उनका अनुसार चणिकलाललाई सम्मान गर्ने निर्णय गत असोजमै भएको थियो। अहिले गणतन्त्र दिवसका अवसरमा त्यो कार्यान्वयन गर्न लागिएको हो। 

गत असोज १२ गते नख्खु खोलाको बाढीले राजु र उनकी छोरी मेघनालाई बगाएर करिब ३ सय मिटर तल पुर्‍याइसकेको थियो। त्यस क्रममा बाढीमै हेलिएर चणिकलाले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए। 

विपद्का बेला मानवीय सहयोग गरेकाले उनलाई नगदसहित सम्मान गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले बताए।

यसैबीच गणतन्त्र दिवस २०८२ मनाउन प्रदेश सरकारले प्रदेशस्तरीय मूल समारोह समिति गठन गरेको छ।

मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा बनेको समितिले जेठ १३ देखि १५ गतेसम्म विविध कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।

समितिमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय प्रमुख, हेटौँडा उपमहानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad