काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले यही वैशाख ३१ गते काठमाडौँ महानगरपालिकाको वडा नम्बर २४ मखनटोलमा भएको आगलागी समिति बनाएर प्रभावकारी छाबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छन्।
उनले गुरागाईँलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएकी हुन्।
वैशाख ३१ गते मखनमा आगलागी हुँदा चारवटा घरमा क्षति भएको थियो भने एक जनाको मृत्यु भएको थियो।
आगलागीबाट दयाराम श्रेष्ठको घर पूर्ण रूपमा क्षति भएको थियो भने सँगैका रुकेश श्रेष्ठको पाँचतले घर र कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो।
‘वैशाख ३१ मा आगलागी भएपछि म आफैँ अनुगमनमा गएर त्यहाँको बस्तुस्थिति बुझेकी थिएँ,’ डंगोलले भनिन, ‘काठमाडौँ महानगरपालिकाको दमकल भएको ठाउँबाट केही मिनेटकै दूरीमा आगालागी हुँदा पनि समयमै नियन्त्रणको प्रयास भएन भन्नेजस्ता गुनासा पनि आएका छन्। यी सबै कुरालाई ध्यानमा राखेर तुरुन्तै छानबिन समिति बनाएर त्यो समितिलाई १० दिनको म्यादभित्र रिपोर्ट बुझाउन लगाउनु भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु।’
उपप्रमुख डंगोलले के के कमजोरी भए, के के गल्ती भए, सबै कुराको गहिरो अध्ययन गरेर रिपोर्ट तयार पार्न निर्देशन दिइएको बताइन्।
‘मैले रिपोर्ट तयार गर्दा सरोकारवाला निकाय (एम्बुलेन्स, दमकल, स्थानीय, जनप्रतिनिधि) सबैसँग गहिरो छलफल गर्न गरेर अथार्थ रिपोर्ट दिनु भनेको छु,’ उनले भनिन्, ‘रिपोर्ट तयार गर्दा पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्था के र कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान दिनु भनेको छु।’
त्यो दिन दमकलमा पानी नभएको, बाटोमा निर्माण सामग्रीको अवरोधलगायत कारण समयमा दमकल पुग्न नसकेको जस्ता गुनासा पनि आएका छन्।
‘हामीले अनुगमनको कामलाई तीव्रता दिदैँ आएका छौँ,’ उनले भनिन्, ‘त्यो दिन आगलागी हुँदा भौतिक संरचनामा मात्रै क्षति भएको छैन, त्यहाँ मानवीय क्षति पनि भएको छ। त्यो गम्भीर कुरा हो। यस्ता कुरामा कमजोरी कसको भयो र किन भयो भनेर हामीले छानबिन समिति नै बनाएर त्यसको रिपोर्टका आधारमा के गर्ने भन्ने तयारीसहित अघि बढ्ने तयारी गरेका हौँ। यसले आगामी दिनमा कतै लापरबाही भएको रहेछ भन्ने कहाँबाट र कस्बाट भयो भनेर पत्ता लगाउन सहज हुनेछ।’
Shares

प्रतिक्रिया