१९ दिनदेखि शिक्षक आन्दोलन चलिरहेका बेला काठमाडौँ महानगरपालिकाले आधारभूत शिक्षा ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न आफ्नो मातहतका सबै विद्यालयलाई निर्देशन दिएको छ।
शैक्षिक सत्र २०८१ को आधारभूत शिक्षा (कक्षा–८) परीक्षाको नतिजामा सैद्धान्तिकतर्फ मूल प्रमाणपत्र प्राप्त गर्न योग्य नभएका अर्थात् ननग्रेड (एनजी) भएका विद्यार्थीका लागि यही वैशाख ८ देखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न महानगरपालिकाले मातहतका विद्यालयलाई भनेको हो।
वैशाख ५ गते बसेको महानगरपालिकाअन्तर्गतको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिको बैठकले वैशाख ८ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गरी सम्बन्धित प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकेको छ भने प्रश्नपत्र सम्बन्धित विद्यालयलाई परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि विद्यालयको इमेल आईडीमा पठाउने निर्णय भएको छ। यसैले आआफ्ना इमेल आईडी स्रोत शिक्षकलाई उपलब्ध गराउन भनिएको छ।
महानगरपालिकाका अनुसार उत्तर पुस्तिका स्रोत केन्द्रबाट विद्यालयले बुझी लैजानुपर्ने छ भने परीक्षा सकिएपछि उत्तर पुस्तिका विद्यालयले नै ३ दिनभित्र परीक्षण गरिसक्नुपर्नेछ। सम्बन्धित विषयमा विषय विज्ञ नभएमा भने परीक्षणका लागि स्रोत केन्द्रमा पठाउनु पर्नेछ।
प्रत्येक विषयको उत्तरपुस्तिका परीक्षण गरी प्रत्येक विषयको परीक्षा सम्पन्न भएको ३ दिनभित्र प्राप्तांक प्रधानाध्यापकले प्रमाणित गरी शिक्षा विभागको मेल आईडी [email protected] मा मेल गर्नुपर्नेछ।
यस्तै विषयगत शिक्षक र प्रधानाध्यापकबाट प्रमाणित प्राप्तांकको हार्डकपि र उत्तर पुस्तिका वैशाख १६ गते कार्यालय समयभित्र अनिवार्य रूपमा स्रोत केन्द्रमा बुझाइसक्नुपर्नेछ। यसपछि उत्तर पुस्तिका आएमा नतिजा प्रकाशन नगरिने महानगरपालिकाले जनाएको छ।
वैशाख १६ गते कार्यालय समयभित्र स्रोतकेन्द्रमा प्राप्त भएका उत्तर पुस्तिका र प्रमाण प्राप्तांकका आधारमा शिक्षा विभागले सफ्टवेयरमा अंक प्रविष्ट गरिने सूचनामा उल्लेख छ।

Shares

प्रतिक्रिया