बागमती


आठ महिनामा २० गैँडा मरे

आठ महिनामा २० गैँडा मरे

नेपालखबर
चैत ५, २०८१ मंगलबार १२:४९, चितवन

चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरु प्राकृतिक कारणले मरेका हुन्। बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन्।

यस आर्थिक वर्षमा चोरी–सिकारीका कारण भने गैँडा नमरेको उनले जानकारी दिए।

गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए। मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए, जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–सिकारीले मारेका थिए। प्राकृतिक कारणले धेरै गैँडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो।

यद्यपि, पछिल्ला वर्षहरूमा प्राकृतिक कारणबाट हुने गैँडाको मृत्यु दर घट्दै आएको निकुञ्जको दाबी छ।

आव २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैँडा मरेका थिए। त्यसपछिका वर्षहरूमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ रहेको छ। एकसिङ्गे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ। बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ।

चालु आर्थिक वर्षमा गैँडा गणना कार्यक्रम रहे पनि स्थगन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad