बागमती


ललितपुर महानगरका ५ ठाउँमा जोडियो ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’

ललितपुर महानगरका ५ ठाउँमा जोडियो ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’

नेपालखबर
पुस १, २०८१ सोमबार १३:२२, काठमाडौँ

ललितपुर महानगरले  इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरे। 

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्। ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको हो।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको शहरीविकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख  डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए। लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ। सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । 

काठमाडौँतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्छ ।  महानगरका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताउँदै यो नेपालमै पहिलो भएको धारणा राखे । 

पाँच वर्षसम्म महानगरले मर्मत गर्न परे एक पैसा पनि खर्च गर्न नपर्ने बताए। उनले भने,  ‘ट्राफिक लाइटबीच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रिन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ।’ 

नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक भएको बताए। जनचेतना जगाउनका लागि नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने बताए। नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिए। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक सञ्जयबहादुर राउतलेप्रविधि मैत्री नहँदा धेरै जनशक्ति सडकमा खटिनु परेको बताए। ६४ स्थानमा टाफिक लाइट भएपनि विभिन्न कारणले ३५ स्थानमा मात्रै सन्चालनमा रहेको जानकारी दिए। 

बागमती प्रदेशका श्रम मन्त्री प्रेमभक्त महर्जनले ट्राफिक व्यवस्थापन पालिकाको मात्रै नभएर प्रदेशको नै समस्या भएको बताए। ट्राफिक व्यवस्थापनका लागि ललितपुर महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइट महत्वपूर्ण फड्को भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad