बागमती


बागमतीमा ४ महिनामा ४ प्रतिशत पनि भएन विकास खर्च

बागमतीमा ४ महिनामा ४ प्रतिशत पनि भएन विकास खर्च

सुनिता विष्ट
मंसिर ९, २०८१ आइतबार १६:५२, हेटौंडा

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च ४ प्रतिशत पनि गरेको छैन।

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको तथ्यांक अनुसार प्रदेश सरकारले विकासे बजेट खर्च नै नगरेको पाइएको हो। यस अवधिमा पुँजीगततर्फ जम्मा ३‍.५० प्रतिशत मात्रै खर्च गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

गत असार १ गते प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट ल्याएकोमा ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ बजेट पुँजीगततर्फ विनियोजन गरिएको थियो। जसमा चालु आवको चार महिनाको अवधिमा १२ करोड ९२ लाख ३ हजार रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै, चालु खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार विनियोजित बजेटमा यस अवधिसम्म ३८ करोड २४ लाख ५३ हजार रुपैयाँ बजेट खर्च भएको मन्त्रालयको तथ्यांक छ।

यसरी हेर्दा यस अवधिसम्म कुल बजेटमा ५अर्ब ११ करोड ६९ लाख अर्थात् ७.९३ प्रतिशत मात्रै खर्च भएको छ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा प्रदेश सरकारको कुल बजेटको ८ प्रतिशतभन्दा कम खर्च हुनुले प्रदेश सरकार चलायमान अवस्थामा छैन भन्ने कुराको प्रमाणित गर्ने अर्थविद्हरु बताउँछन्। प्रदेश सरकार बजेट खर्चमा गत आवको पहिलो चार महिनाको तुलनामा चालु आवको चार महिनामा कमजोर देखिएको हो।

वर्तमान सरकारको खर्चको रफ्तार हेर्दा विकासको क्षेत्रमा सरकारले कुनै काम नै नगरेको प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए।

सरकार यतिबेला मन्त्रालय बढाउने, मन्त्री थप्ने काममै व्यस्त भएको नेकपा माओवादी केन्द्र बागमती संसदीय दलका नेता समेत रहेका जम्मकट्टेलको भनाई छ।

‘हाम्रो नेतृत्वको सरकार हुँदा पहिलो चौमासिकमा सधैँ पुँजीगत खर्च धेरै हुन्थ्यो,’ जम्मकट्टेलले भने, ‘हामीले यो अवधिमा ११ प्रतिशत बजेट खर्च गरेका थियौं। अहिले उहाँहरुको हेर्ने हो भने फेरि १४ वटा मन्त्रालय पुर्याउनु भएको छ। यो सरकारले सुशासन कायम गर्ला जस्तो लागेको छैन। विकास निर्माणका कामहरू, रणनीतिक महत्वका कामहरु सबै पछाडी पार्नुभएको छ।’

चालु आवका लागि विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपैयाँ रहेको छ।

गत आवको साउनदेखि कात्तिक मसान्तसम्ममा विनियोजित बजेटको चालु र पुँजीगतर्फ गरी ९ प्रतिशत खर्च गरेकोमा चालु आवको ४ महिनामा चालु आवका लागि विनियोजित बजेटको ८ प्रतिशतभन्दा कम खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

यसरी पहिलो चौमासिकमा कुल बजेटको ८ प्रतिशत पनि बजेट खर्च नहुनुको विविध कारण रहेको प्रदेशका अर्थ मन्त्री कुन्दनराज काफ्ले बताउँछन्। पछिल्लो समय राजनीतिक अस्थिरता तथा प्राकृतिक विपद्का कारण योजनाहरू सुचारु गर्न नसक्दा प्रदेश सरकारको पुँजीगत खर्च नबढेको मन्त्री काफ्लेको दाबी छ।

‘अघिल्लो वर्षको तुलनामा पहिलो चौमासिकमा करिब ४ प्रतिशत बजेट खर्च कम भएको देखिन्छ,’ आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले भने, ‘प्राकृतिक विपत्का कारण पनि विकासका कामहरु अघि बढाउन नसकिएकै हो। मन्त्रालयले पनि आत्माआलोचना गर्न पर्छ। अब आउँदो चौमासिकहरुमा कसरी खर्च बढाउने, विकासका कामहरूलाई तीव्रता दिन के गर्ने लगायतका विषयमा मन्त्रालयगत सचिवहरूसँग छलफल गरेको छु। अब विकासका कामले तीव्रता लिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad