हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडाको वडाअध्यक्ष पदका लागि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ। बुधबार (आज) निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो। गत आइबार १४ जनाले मनोनय दर्ता गराएकोमा १२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको हो।
जसमा नेकपा एमालेका राजेश नगरकोटी, नेपाली कांग्रेसका अर्जुन तिवारी, नेकपा माओवादी केन्द्रका रविन प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाबीर बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोन, नेकपा एकीकृत समाजवादीका बलराम बल, नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार फूलमाया तितुङको नाम प्रकाशन गरिएको छ। यस्तै, जनता समाजवादी पार्टीका छविलाल वाइवा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीकी दीपा लामाको नाम प्रकाशन भएको छ भने तीनजना स्वतन्त्र उम्मेदवारको नाम सार्वजनिक गरिएको छ।
जसमा गीता कुमारी नेवार, अर्जुन घलान र छत्र प्रकाश अधिकारीको नाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिइन्।
मंसिर २ गते आइतबार मनोनयन दर्ता गराएका १४ जनामध्ये दुइजना स्वतन्त्र उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका हुन्। जसमा कुमार पोखरेल र युनेश लामा सिंतानले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताइन्।
उनका अनुसार उम्मेदवारहरुको अन्तिम नामावली सहित उम्मेदवारहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरिएको छ। जसमा एमालेका नगरकोटीलाई सूर्य चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने कांग्रेसमा तिवारीको चुनाव चिन्ह रुख, माओवादी केन्द्रका रविन प्रधानको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा प्रदान गरिएको छ।
यस्तै, रास्वपाका बललाई घण्टी चुनाव चिन्ह प्रदान गरिएको छ भने राप्रपाका भ्लोनलाई हलो चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत भट्टराईले बताइन्।
नेपाल मजदुर किसान पार्टीकी तितुङलाई मादल चसनाव चिन्ह दिइएको छ भने मंगोल नेशनल अर्गनाइजेसनकी लामालाई कुखुराको भाले, नेकपा एसका बललाई कलम चुनाव चिन्ह प्रदान गरिएको उनले जानकारी दिइन्।
जनता समाजवादी पार्टीका वाइवालाई ढल्केको छाता चुनाव चिन्ह प्रदान गरिएको छ। यस्तै, स्वतन्त्र उम्मेदवारहरु अर्जुन घलानलाई लसुन, गीता कुमारी नेवारलाई चापाकल र छत्र प्रकाश अधिकारीलाई हात मिलाएको चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत भट्टराईले बताइन्।
Shares

प्रतिक्रिया