बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई नियुक्त गरेका हुन्। मुख्यमन्त्री बहादुरसिंह लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा श्रेष्ठलाई नियुक्तिको लागि सिफारिस गरेको थियो।
२०७६ मंसिर २६ मा गठित आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण गत चैत ३ गते पदावधि सकिएपछि उक्त पद खाली थियो।
राजनीति दाउपेचका कारण दलहरूबीच सहमति नजुट्दा विगत ७ महिनादेखि प्रदेश लोक सेवा आयोग अध्यक्षविहीन थियो।
आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ।
श्रेष्ठ बिहीबार मात्रै सरकारी सेवाबाट अवकाश भएका हुन्। उनी यसअघि लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए। त्यसअघि उनले स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको रूपमा समेत काम गरेका थिए।
Shares

प्रतिक्रिया