काठमाडौँमा उपत्यकाको न्यूनतम तापक्रम आज (असोज २९ गते) १५ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज मंगलबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको हो।
यसअघि हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो। २४ घण्टामै उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसभन्दा बढी घटेको हो।
तर आइतबार भने उपत्यकाको न्यूनतम तापक्रम १५ भन्दा पनि मुनि १४.७ डिग्री सेल्सियस थियो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार मनसुन बिदा भएर पोस्ट मनसुन लागेपछि देशभर नै तापक्रम क्रमशः घट्दो छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ।
न्यूनतम सामान्यतया हरेक बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण- (महाशाखाको यो विवरणमा न्यूनतम आजको हो भने अधिकतम हिजोको)

नोभेम्बरसम्म पोस्ट मनसुन, त्यसपछि विन्टर
मनसुन बिदा भइसकेको र विन्टर आइनसकेको बीचको अवधिलाई मौसमी भाषामा ‘पोस्ट मनसुन’ भनिन्छ।
गत जुन १० तारिखमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन अक्टोबर १२ तारिखका दिन पूर्वबाटै बाहिरिएको हो। मनसुन बिदा भएसँगै नेपालमा बर्खायामको औपचारिक अन्त्य भएको छ भने पोस्ट मनसुन सुरु भएको छ।
मौसमविद्का अनुसार पोस्ट मनसुनको अवधि अंग्रेजी महिना नोभेम्बरभरि हो, त्यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर सिजन अर्थात् हिउँदयाम लाग्छ।
Shares

प्रतिक्रिया