ad ad

बागमती


बागमतीमा भाग पुर्‍याउन फेरि मन्त्रालय फुटाउने तयारी

यस्तो छ यहाँ गठबन्धन फेरिँदैपिच्छे मन्त्रालयको संख्या बढाउने र घटाउने शृंखला
बागमतीमा भाग पुर्‍याउन फेरि मन्त्रालय फुटाउने तयारी

वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा


सुनिता विष्ट
साउन १८, २०८१ शुक्रबार ११:६, हेटाैँडा

मुलुकमा प्रदेश संरचना स्थापना भएको सातौँ वर्ष चलिरहेको छ। तर प्रदेश सरकार केन्द्र सरकारको छायाजस्ता बनिरहेका छन्। 

केन्द्रमा बारम्बार फेरिने सत्ता गठबन्धनसँगै प्रदेशका सरकार पनि परिवर्तन भइरहेका छन्। 

जसबाट बागमती प्रदेश सरकार पनि अछूतो रहने कुरै भएन।

यसैबीच बागमती प्रदेशमा सरकार फेरिँदैपिच्छे मन्त्रालय बढाउने र घटाउने क्रम चलिरहेको छ।

बागमती प्रदेशमा पहिलो कार्यकालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा सरकार गठन गरिएको थियो। त्यतिबेला तत्कालीन एमाले बागमती संसदीय दलका नेता डोरमणि पौडेल मुख्यमन्त्री बन्दा ७ वटा मात्रै मन्त्रालय थिए।

तर २०७७ पुस ५ मा केन्द्रीय संसद् विघटन भएपछि प्रदेशमा पनि त्यसको प्रभाव पर्‍यो। त्यसपछि बागमतीमा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन्। उनले एक मन्त्रालय थपेर मन्त्रालयको संख्या ८ पुर्‍याइन्।

एमाले विभाजनपछि बागमती प्रदेशमा पाँचदलीय गठबन्धनको सरकार बन्यो।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका तत्कालीन नेता राजेन्द्र प्रसाद पाण्डे नेतृत्वमा सरकार गठन भयो। नेकपा एसको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र विवेकशील साझा पार्टी गरी पाँच दलको सरकार बनेको थियो।

११ कात्तिक २०७८ मा राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदको शपथ खाए। सोही बेला कांग्रेसले पहिलोपटक सरकारमा प्रवेश पायो।

भौतिक पूर्वाधार विकास मन्त्रालय लिएर कांग्रेसका कृष्णप्रसाद भँडेल सरकारमा सहभागी भए। त्यसपछि सुरु भयो- मन्त्रालय भागबन्डाको खेल।  

गठबन्धनमा रहेका दलहरूलाई भाग पुर्‍याउन मन्त्रालयको स‌ंख्या ८ बाट बढाएर १४ पुर्‍याइयो। १४ जना फुल मन्त्री र ४ राज्यमन्त्री गरेर मन्त्रीको संख्या १८ पुर्‍याइयो।

४ मंसिर २०७९ सम्पन्न निर्वाचनपछि प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भयो। एमाले र माओवादीको गठबन्धनमा सरकार बन्यो।

माओवादी नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भए। एमाले र माओवादीले मन्त्रालयको संख्या घटाउन कार्यदल गठन गरे। १४ मन्त्रालयबाट ३ मन्त्रालय कटौती भए। ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरियो।

करिब ४ महिनापछि केन्द्रमा एमाले सत्ताबाट बाहिरियो। त्यसकै प्रभावले बागमतीमा पनि एमाले सरकारबाट बाहिरियो।

बागमती सरकारमा कांग्रेसले दोस्रोपटक प्रवेश पायो। जम्कट्टेलकै नेतृत्वमा सरकारमा जाने गरी कांग्रेस सत्तामा आयो। जब कांग्रेस सत्तामा फर्कियो, तब बागमतीमा मन्त्रालयको संख्या फेरि बढ्यो।

११ सदस्यीय मन्त्रिपरिषद्‍मा माओवादीले मुख्यमन्त्रीसहित ४ र कांग्रेसले ६ मन्त्रालय पाए। तर, पार्टीभित्रै भागबन्डा पुर्‍याउन ६ मन्त्रालय मात्र भागमा परेको कांग्रेसले ७ मन्त्री नियुक्त गर्‍यो।

कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्री बने।

उनलाई विभागीय जिम्मेवारी दिन प्रदेशका ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइयो।

कांग्रेस फेरि सत्ताबाट बाहिरियो। एमाले र माओवादीको गठबन्धन भयो।

तत्कालीन मुख्यमन्त्री जम्कट्टेलकै नेतृत्वमा एमाले सरकारमा सहभागी भयो।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकारलाई बहुमतका लागि ५६ सांसदको समर्थन चाहिने भएकाले गठबन्धनबाहिरबाट हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराइयो। त्यतिबेला नेकपा एकीकृत समाजवादीका कारण बागमतीमा एक मन्त्रालय बढ्यो।

एकीकृत समाजवादीकी रमा आलेमगरलाई बिनाविभागीय मन्त्री बनाइएपछि उनलाई विभागीय जिम्मेवारी दिन सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद विकास मन्त्रालय बनाइयो। त्यसपछि मन्त्रालयको संख्या १३ पुग्यो।

पछिल्लोपटक फेरि केन्द्रमा सत्ता गठबन्धन फेरियो। जसका कारण यही साउन ६ गते जम्कट्टेल नेतृत्वको बागमती सरकार ढल्यो।

यससँगै कांग्रेस र एमाले गठबन्धनको नयाँ सरकार बन्यो। बागमती कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री भए।

गठबन्धनभित्रको भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालयसहित ७ मन्त्रालय र एमालेले भौतिकसहित ६ मन्त्रालय लिने सहमति भयो। 

तर कांग्रेसभित्र मन्त्री बन्नेको संख्या बढी भयो। त्यसका लागि ७ मन्त्रालय मात्र भाग पाएको कांग्रेसले एकजना बिनाविभागीय मन्त्री थप्यो।  जसका कारण अहिले १३ मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रीको संख्या भने १४ छ। 

यही साउन ९ गते नियुक्त बिनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन फेरि  मन्त्रालय फुटाउने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निकट स्रोत बताउँछ।

यहाँसम्म आइपुग्दा बागमती प्रदेश सरकारमा ५ जना मुख्यमन्त्री बनेका छन्।

पहिलो कार्यकालमा एमालेका डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए भने दोस्रो कार्यकालयता माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बने।

यस्तै हालसम्म बागमतीले ८५ जना मन्त्री पाइसकेको छ।

पहिलो प्रदेशसभा निर्वाचनपछि ३ मुख्यमन्त्री र ३९ जना मन्त्री बनेकाे बागमती प्रदेशले दोस्रो कार्यकालमा २ मुख्यमन्त्री र ५० मन्त्री पाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .