पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाको एक स्थानमा धेरै भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ११ बजेर २५ मिनेट जाँदा दिएको विवरणअनुसार बितेको २४ घण्टामा काठमाडौँको धापड्याम वर्षा मापन केन्द्रमा १२५ मिलिमिटर वर्षा मापन भएको हो।
२४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ।
यस्तै सो अवधिमा काठमाडौँको सुन्दरीजलमा ६८.८ मिलिमिटर वर्षा भएको छ।
२४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि वर्षालाई भारी वर्षा भनिन्छ।
यस्तै काठमाडौँको कपनमा ४७.६ मिलिमिटर तथा भक्तपुरको ताथलीमा ३९.८ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ। योचाहिँ मध्यम वर्षा हो।
काठमाडौँ उपत्यकाका अन्य स्थानमा भने योभन्दा कम मात्राको वर्षा भएको छ। जसलाई हल्का वर्षा भनिन्छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।
Shares
प्रतिक्रिया