यतिबेला (सोमबार बिहान ७ बजे) काठमाडौँ उपत्यकाको मौसम पूर्ण रूपमा बदली (आकाशभरि बादल) भएको छ।
उपत्यकाभित्र कतै कतै वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
‘हाम्रो स्टेसन (वर्षा मापन केन्द्र) भएको स्थान धापड्याममा पछिल्लो १ घण्टामा १३ मिलिमिटर वर्षा भएको छ’, उनले भने, ‘यसैगरी यतिखेर शिवपुरीलगायत क्षेत्रमा पनि पानी परिरहेको हुनुपर्छ, सबैतिर हाम्रो स्टेसन छैन।’
उनका अनुसार आज उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। १० मिलमिटरभन्दा मुनिको वर्षालाई हल्का र यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम बदली बदली नै रहला जस्तो छ’, मौसमविद् अर्यालले भने, ‘दिउँसो २/३ बजेपछि खुल्ला कि जस्तो हुन्छ, तर फेरि बदली हुन्छ।’
देशभरको मौसम: तराईका केही भूभागमा हावाहुरीसहित पानी पर्दै, राति ३ प्रदेशमा भारी वर्षाको सम्भावना
Shares

प्रतिक्रिया