ad ad

बागमती


बागमतीमा ६ महिनाको बजेट खर्च १७ प्रतिशत मात्रै

बागमतीमा ६ महिनाको बजेट खर्च १७ प्रतिशत मात्रै

नेपालखबर
माघ ३, २०८० बुधबार २१:२, हेटाैंडा

बजेट कार्यान्वयनमा सधैँ कमजोर देखिने बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा १७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

आर्थिक वर्षको अन्त्यतिर भ्याइनभ्याई बजेट खर्च गर्ने बानी परेको प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट कार्यान्वयन निराशाजनक छ।

हरेक आवको पहिलो र दोस्रो चौमासिकमा सुस्त देखिने बजेट खर्च अन्तिम चौमासिकमा मात्रै गति बढेको पाइन्छ। जसका कारण आवको अन्तिम महिनामा १५ देखि २० प्रतिशतसम्म बजेट खर्च हुने गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ को पहिलो छ महिना बित्दा पनि प्रदेश सरकारको बजेट खर्चमा उत्साह देखिएको छैन।

गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

चालु आवका लागि गत असार १ गते कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पहिलो ६ महिनामा १६।९८ प्रतिशत अर्थात १० अर्ब ६४ करोड ८० लाख एक हजार रुपैंया मात्र खर्च गरेको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

चालु आवका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ, पूँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ विनियोजन गरिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय प्रगति विवरण अनुसार उक्त विनियोजित बजेटमा छ महिनाको अवधिमा चालुको तुलनामा पुँजीगत तर्फको शीर्षकको बजेट कम खर्च भएको पाइएको हो।

चालुतर्फ विनियोजित बजेटमा २२.६७ प्रतिशत अर्थात् ५ अर्ब ९९ करोड ६३ लाख ८९ हजार ३३२ रुपैंया र पुँजीगततर्फ १३ प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड ८५ लाख ८० हजार रुपैयाँ पुस मसान्तसम्ममा खर्च भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा बढी विकास बजेट विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि विनियोजित चालुतर्फको बजेटको ३०.६८ प्रतिशत अर्थात् १२ करोड ५० लाख ७१ हजार रुपैयाँ खर्च भएको छ।

स्थानीय तहका लागि विनियोजन गरिएको ७ अर्ब ६५ करोड ४६ लाख ९६ हजार रुपैयाँमा हालसम्ममा ४०.२७ प्रतिशत बराबरको रकम निकासा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .