ad ad

बागमती


काठमाडौं महानगरपालिको नगरसभामा तीन विधेयक पेस

काठमाडौं महानगरपालिको नगरसभामा तीन विधेयक पेस

नेपालखबर
असार २६, २०८० मंगलबार २१:५, काठमाडौँ

काठमाडौं महानगरपालिकाको आज भएको १३औँ नगरसभाको चौथो बैठकमा तीन विधेयक पेस भएका छन्।

बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका हुन्।

उनले, शिक्षा ऐन २०७५ र कर्मचारी सेवा ऐन, २०७७ को संशोधन विधेयक र भवन निर्माण मापदण्ड २०८० समेत पेस गरे। यस्तै, सुशासन समितिका सदस्य एवं वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठले, नगर प्रहरी सेवा र प्रशासन सेवा अन्तर्गतका विभिन्न पदहरूमा दरबन्दी सिर्जना गर्ने प्रस्ताव पेस गरे।

सञ्चार तथा सूचना विधेयक
सञ्चार व्यवस्थापन, तथ्याङ्क सङ्कलन, खुल्ला तथ्याङ्क वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको हो। पत्रकारिता, प्रकाशन तथा प्रसारण, विज्ञापन व्यवस्थापन लगायतका विषय विधेयकमा समेटिएको छ।

दश परिच्छेद रहेको विधेयकमा ६७ दफा छन्। सञ्चारमाध्यमको व्यवस्थापन, सञ्चार रजिष्ट्रार र सञ्चार प्रतिष्ठान, जनशक्ति र आन्तरिक सञ्चार व्यवस्थापन, पत्रकारिताको विकास र प्रवर्द्धन, विज्ञापन नियमन, व्यवस्थापन, सूचनाको हक कार्यान्वयन, सूचना, अभिलेख र तथ्याङ्क व्यवस्थापन विधेयकमा समेटिएका छन्।

 
जनस्वास्थ्य सेवा विधेयक
निःशुल्क, आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई नागरिकको सहज र सरल पहुँचमा लैजान यो विधेयक पेश गरिएको बताइएको छ।

आधारभूत स्वास्थ्य सेवा र सेवा प्रदायक, विद्यालय स्वास्थ्य सेवा, घुम्ती स्वास्थ्य सेवा, विशेषज्ञ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र स्वास्थ्य बीमा, आन्तरिक र बाह्य स्वास्थ्य सेवा सञ्चालन र व्यवस्थापन लगायत विषय विधेयकमा समेटिएका छन्।

अनुगमन तथा गुणस्तर, जनस्वास्थ्य आपत्काल, एम्बुलेन्स तथा शवबाहन सेवा, वातावरणीय स्वास्थ्य, खाद्य तथा पानीको गुणस्तर, अखाद्य वस्तु, मदिरा तथा सूर्तिजन्य वस्तु नियन्त्रण नियमन, जनस्वास्थ्यमैत्री भवन निर्माण विधेयकमा समेटिएका छन्।

विधेयकमा ११ परिच्छेद र ६३ दफा छन्।

महानगर प्रहरी विधेयक
नगर प्रहरी सम्बन्धी व्यवस्था नेपालको संविधानमा स्थानीय तहको एकल अधिकारका रुपमा राखिएको छ।

कामपाको नीति, कानुन र निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि नगर प्रहरीको परिचालन व्यवस्थित गराउन विधेयक तर्जुमा गरिएको हो। 

नगर प्रहरीमार्फत प्रवाह हुने काम सेवामूलक, जनउत्तरदायी र गुणस्तरीय बनाउने लक्ष्य राखिएको छ। विधेयकमा ११ परिच्छेद र ६५ वटा दफा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .