मकवानपुरमा दुईवटा ट्रक आपसमा ठोक्किँदा जलेर नष्ट भएका छन् भने तीनजनाको ज्यान गएको छ।
दुर्घटनामा परी ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक जिल्ला चितवन राप्ति नगरपालिका ८ का अन्दाजी २८ वर्षीय रिहान रुम्बा, सोही ट्रकका सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका २ गोर्दीटारका अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने अन्दाजी २० वर्षका अमृत प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (मकवानपुर) ले जनाएको छ।
दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ का विवेक तमाङ र ना६ख ६३१ नम्बरका ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा घाइते भएका हुन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत आज (शनिबार) बिहान पौने २ बजेतिर मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्ती डिपाट गाउँमा दुईवटा ट्रक ठोक्किँदा दुवै ट्रक जलेको जिल्ला प्रहरी कार्यालय (मकवापनुर) का प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए।
हेटौँडातर्फबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुवै ट्रकमा आगलागी भएको उनले बताए।
Shares
प्रतिक्रिया