ad ad

बागमती


मरेका पशुचौपायाको मासु खाएपछि ७ गाउँमा रेबिजको सन्त्रास, २८९ जनाले लगाए खोप

मरेका पशुचौपायाको मासु खाएपछि ७ गाउँमा रेबिजको सन्त्रास, २८९ जनाले लगाए खोप

राजकुमार पराजुली
भदौ २२, २०७९ बुधबार १३:४८, काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय अहिले प्राणघातक रोग रेबिजको डरले त्रसित छन्। भुम्लु –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीमा रेबिजविरुद्ध २ सय ८९ जनालाई खोप लगाइएको छ।

बितेको एक महिनामा चार दर्जनभन्दा बढी पशुचौपाया मरेपछि भुम्लुको सात गाउँका स्थानीय त्रसित भएका हुन्। मरेका पशुचौपायाको परीक्षण गर्दा रेबिज रोग पुष्टि भएपछि स्थानीय दुई सय ८९ जनालाई रेबिजविरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। मरेका पशुचौपायाको मासु खाएका १९ परिवारका ५१ सदस्यसहित दुई सय ८९ जनालाई स्थानीय अस्पतालको सहयोगमा रेबिजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिए।

उनका अनुसार जिल्लास्थित स्वास्थ्य कार्यालय, भुम्लु गाउँपालिकाको स्वास्थ्य शाखा तथा पशु स्वास्थ्य शाखाद्वारा परीक्षणसँगै रोकथामको प्रयास भइरहेको छ। ‘मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ’, उनले भने। गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन्।

स्थानीयका अनुसार हाल गाउँपालिकाको वडा नं १ सहित ७ र ८ मा पनि रेबिज सङ्क्रमणको जोखिम बढेको छ। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईका अनुसार भैँसी, गाई, कुकुर, बाख्रा मरेका छन्। रेबिज सङ्क्रमित कुकुरले पशुचौपाया तथा कुकुरलाई टोकेका कारण मृत्यु भएको हो।​

भारतीगाउँ र आरनगाउँका स्थानीयले केही कुकुरलाई नियन्त्रणमा लिई मारेका छन्। स्थानीय दावा लामाका अनुसार पछिल्ला दिनमा पशुचौपाया मरिरहेकाले गाउँमा रेबिजको त्रास फैलिएको छ। जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पनि मरेकाले थप परीक्षण भइरहेको जनाएको छ। केन्द्र प्रमुख पशु चिकित्सक राजकुमार हुमागाईंले रेबिज रोकथामका उपाय अपनाइएको बताए। उनका अनुसार पशुचौपायाको अवस्था तथा सङ्क्रमणबारे पनि अनुगमन तथा पशुलाई पनि खोप दिने काम भइरहेको छ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा ८ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो। त्यसयता काभ्रेपलाञ्चोकमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ।

भुम्लुमा हालसम्म मानिसमा कुनै लक्षण नखेखिएको तर खोपसहित निगरानीमा भने राखिएको जनाइएको छ। हाल केही स्थानीयको भैँसीले र्याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको हो। ‘त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उपरान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ’, हुमागाईँले भने। उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको छ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ। एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गरिरहेको छ। हाल भुम्लुमा आमा समूह, स्वास्थ्यचौकी, विद्यालय, सर्वसाधारण तथा विभिन्न सङ्घसंस्थाले रेबिजविरुद्धको सचेतनाका अभियान सुरु गरेका छन्।

चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन। काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ। ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्छ। कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा पर्याप्त भ्याक्सिन राखिएको छ। चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको र्यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्छ। भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्छ। 

प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रूपमा जनचेतना जगाउन तथा सरोकारवालहरूबीच एक्येबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रूपमा मनाउने गरिएको छ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ। विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ। आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .