ad ad

कारोबार


जो व्यवसायमा जोखिम मोल्दै मोल्दै संसारकै धनी बने

जो व्यवसायमा जोखिम मोल्दै मोल्दै संसारकै धनी बने

नेपालखबर
पुस २९, २०७७ बुधबार ७:७,

एलन मस्क पेशाले उद्यमी, औद्योगिक डिजाइनर र इन्जिनियर हुन्। तर अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै उनले नयाँ परिचय बनाएका छन्– विश्वकै धनी मान्छेको।

उनले यो उपाधि पाएको एक हप्तामात्रै पुगेको छ। ब्लुमबर्ग अर्बपति सूचीअनुसार जनवरी ७ मा उनी अमेजनका जेफ बेजोसलाई पछि पार्दै संसारकै धनी बनेका थिए। धनी बनेको दिन सोही सूचीअनुसार मस्क २ खर्ब ९ अर्ब डलर सम्पत्तिको मालिक बनेका थिए।

यद्यपि मंगलबार उनको सम्पत्ति पुनः घटेर दोस्रो धनीमा झरेका थिए तर केही घण्टामै पुनः उनी पहिलो स्थानमा फर्किसकेका छन्। जनवरी १३ अर्थात् आज उनको सम्पत्ति २ खर्ब २ अर्ब अमेरिकी डलर छ।

उनले पछि पारिदिएका बेजोसको सम्पत्ति १ खर्ब ८३ अर्ब र तेस्रो स्थानमा रहेका बिल गेट्सको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ।

मस्कभन्दा पछि रहेका बेजोसले २०१७ देखि विश्वकै धनीको स्थान कब्जा गरिरहेका थिए। त्योभन्दा अघि बिल गेट्सले यो स्थान ओगट्दै आएका थिए। ती दुई चर्चित अर्बपतिलाई छोटो समयमै सम्पत्ति थुपार्ने क्रममा मस्कले पाखा लगाएका हुन्।

Elon Musk passes Jeff Bezos to become the richest person on Earth - The  Verge

को हुन् मस्क?
सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रेटोरियामा जन्मिएका उनको पूरा नाम एलन रीभ मस्क हो। उनकी आमा माये मस्क मोडेल र डाइटिसियन थिइन् भने बाबु एरोल मस्क इलेक्ट्रोमेकानिकल इन्जिनियर, पाइलट, कन्सल्ट्यान्ट र प्रोपर्टी डेभलपर थिए।

क्यानडेली आमा र दक्षिण अफ्रिकी बाबुबाट जन्मिएका मस्क प्रेटोरियामै हुर्किएका हुन्। पछि क्यानडा हुँदै मस्कले अमेरिकालाई गन्तव्य बनाए र आफ्नो व्यावसायिक सफलताको शिखर चढ्न सुरु गरे।

दक्षिण अफ्रिकामा रहँदा उनले थोरै समय मात्र युनिभर्सिटी अफ प्रेटोरियामा बिताए। त्यसपछि १७ वर्षको उमेरमा उनी क्विन्स युनिभर्सिटीमा अध्ययन गर्न क्यानडा गए।

त्यसको दुई वर्षपछि युनिभर्सिटी अफ पेनसिल्भेनिया अमेरिकामा ट्रान्सफर भए। त्यहाँ उनले अर्थशास्त्र र भौतिक विज्ञानमा डबल डिग्री लिए। उनी सन् १९९५ मा अमेरिकी राज्य क्यालिफोर्नियामा बसाइ सरे। पीएचडी गर्न स्ट्यान्फोर्ड युनिभर्सिटीमा निवेदन दिए तर दुई दिनमै त्यसलाई थाती राखी व्यवसायमा केन्द्रित भए।

‘हुने बिरुवाको चिल्लो पात’
भनिन्छ, उज्यालो दिनको सुरुवात कस्तो हुने बिहानले नै निर्धारण गर्छ। हुने बिरुवाको चिल्लो पातको लक्षण मस्कमा १० वर्षको उमेरमै देखिन थालेको थियो। उनले १० वर्षमै कम्प्युटिङमा रुचि देखाए।

कोमोडोर भीआईसी–२० को प्रयोग गर्नथाले। यो ८–बिट होम कम्प्युटर हो जसलाई कोमोडोर बिजनेस मेसिनले बेच्थ्यो। कोमोडोरको पहिलो व्यक्तिगत कम्प्युटर द पेटको करिब तीन वर्षपछि सन् १९८० मा भीआईसी–२० को घोषणा गरिएको थियो जुन १० लाख युनिट बिक्री हुने पहिलो कम्प्युटर थियो। यसबाटै मस्कले कम्प्युटर प्रोग्रामिङ सिकेका थिए। त्यसमा सिकेको ‘कोड अफ बेसिक’मा आधारित भिडियो गेम ‘ब्लास्टर’ मस्कले पीसी एन्ड अफिस टेक्नोलजी म्यागजिनलाई करिब ५ सय अमेरिकी डलरमा बिक्री गरेका थिए।

मस्क खुल्ने प्रकृतिका थिएन्, अलिक गम्भीर स्वभावका बालक थिए। सोही कारण उनले अन्य केटाहरुबाट हेपाइ सहनुपर्थ्याे। कुटिन्थे। र, एकपटक त उनलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो।

Elon Musk launches 'Tesla Tequila' worth USD 250; sold out within hours

यस्तो छ व्यावसायिक यात्रा
पढाइ नलम्ब्याउने निर्णयपछि मस्कले जिप२ नामक वेब सफ्टवेयर कम्पनीको सहसंस्थापना गरे। जसलाई कम्प्याक कम्पनीले सन् १९९९ मा ३० करोड ७० लाख अमेरिकी डलरमा प्राप्ति गर्‍यो।

त्यसपछि मस्कले ‘एक्स डटकम’ नामक अनलाइन बैंक खोले। यो पनि सन् २००० मा कन्फिनिटी नामक सफ्टवेयर कम्पनीसँग मर्ज भयो र यही कम्पनीले भुक्तानी प्रणाली सञ्चालन गर्ने पेपाल नामक कम्पनी बनायो। पछि पेपाललाई इबे नामक अमेरिकी बहुराष्ट्रिय वाणिज्यसम्बन्धी कम्पनीले डेढ अर्ब डलरमा सन् २००२ मा किन्यो।

त्यसपछि मस्कले अहिलेको स्पेस एक्स नामक रकेट कम्पनी स्थापना गरेका हुन्। यसले अन्तरिक्षसम्बन्धी उत्पादनमात्र होइन, अन्तरिक्ष यात्राको सेवा प्रदान समेत गर्छ। मस्क स्पेस एक्सका सीईओ र मुख्य डिजाइनर हुन्। त्यसपछि उनी सन् २००४ मा विद्युतीय कार उत्पादक कम्पनी टेस्ला मोटर्स इन्कमा पनि सम्बन्धित भए।

त्यसको चार वर्षपछि टेस्लाको प्रोडक्ट आर्किटेक्ट मात्र भएनन्, मस्क कम्पनीकै सीईओ बने। टेस्लाकै सब्सिडरी कम्पनी सोलार सिटी बनाउन मद्दत गरे। त्यसपछि सन् २०१५ मा उनले ओपनएआई नामक गैरनाफामूलक रिसर्च कम्पनी खोले। यो कम्पनीले मेसिनरी ज्ञानको प्रवर्द्धन गर्छ। त्यसको एक वर्षपछि मस्कले फेरि न्युरोलिंक नामक न्युरोटेक्नोलजीमा आधारित कम्पनीको सहसंस्थापना गरे। यसको उद्देश्य ब्रेन कम्प्युटर इन्टरफेसको विकास गर्नु हो।

त्यही वर्ष मस्कले द बोरिङ कम्पनी पनि स्थापना गरे। यो पूर्वाधार र सुरुङ निर्माता कम्पनी हो। यसले विद्युतीय सवारीसाधनका लागि आवश्यक र उपयुक्त सुरुङ निर्माणमा ध्यान दिन्छ। सार्वजनिक यातायातलाई नयाँ युगमा लैजाने महत्वाकांक्षा पूरा गर्न मस्कले तीव्र गतिको यातायात प्रणाली अर्थात् हाइपरलुपमा आधारित रेल यातायात विकासलाई जोड दिँदै आएका छन्। यो भ्याकट्रेन अवधारणामा आधारित छ।

एकपछि अर्को महत्वाकांक्षा
मस्क अनौठो प्रवृत्तिका अर्बपति हुन्। उनले चन्द्रमामा मान्छे पुर्‍याउनेदेखि मंगलग्रहमा बस्ती बसाल्नेसम्मको महत्वाकांक्षा बोकेका छन्। मस्कको यो महत्वाकांक्षा पूरा होला या नहोला तर त्यहाँसम्म पुग्ने बाटो भने खोलिसकेका छन्।

स्पेस एक्स उनको सपना पूरा गर्ने माध्यम बन्न सक्नेछ। यसले निजी क्षेत्रकै बलबुतोमा अन्तरिक्षमा मान्छे पुर्‍याउने र सकुशल पृथ्वीमा भित्र्याउने महत्वपूर्ण काम मात्र गरेको छैन, सस्तो रकममै रकेट प्रक्षेपण व्यवसायको जन्म दिएको छ। चन्द्रमामा बेस बनाएर मार्स अर्थात् मंगल ग्रहमा मान्छे उभ्याउन चाहन्छन् उनी। त्यसको लागि आवश्यक शक्ति सामर्थ्यवान् रकेट बनाइरहेका छन्।

Tesla eliminates PR department | Fortune

जोखिम मोल्ने साहस
मस्क महत्वाकांक्षी मात्र छैनन्, जोखिम लिन पनि डराउँदैनन्। एकपछि अर्को कम्पनी खोल्दै उनी यहाँसम्म आइपुगेका हुन्। हाल ५० वर्षको उमेरमा रहेका मस्कले २० वर्षअगाडि नै सफलता पाउन जोखिमका खुट्किलाहरु पार गर्दै आए।

यो दौडान उनलाई कम्पनी जोगाउन समेत हम्मेहम्मे परेको थियो। स्पेस एक्सको पहिलो रकेट प्रक्षेपण असफल भएको थियो। टेस्लाको कार उत्पादन, आपूर्ति प्रणाली र डिजाइनलगायतमा झमेला व्यहोर्नुपर्यो। त्यत्तिकैमा विश्व आर्थिक मन्दीमा फस्यो।

मस्कले भएको पैसा जोगाउने र कम्पनी मार्नेबारे कहिल्यै सोचेनन्। लगानी गरिरहे। एकपटक त ऋण तिर्न साथीहरुसँग समेत सापटी लिएर व्यक्तिगत खर्च जुटाउने अवस्था आएको थियो। त्यसमाथि बैंकको ऋणमा चुर्लुम्म हुने अवस्था पनि नजिक आइरहेको थियो। यो त भइरहेकै थियो, सन् २०१४ तिर मस्क र उनको कम्पनीविरुद्ध मिडिया संसार खूबै आलोचना गथ्र्यो। बजार विश्लेषकहरु उनकै भाषामा भन्ने हो भने टेस्लाको मृत्यु कुरिरहेका थिए।

यो पनि –
टेस्ला : ‘डलर लखपति’ जन्माउने कार कम्पनी

मस्कले बीबीसीसँगको एक कुराकानीमा भनेका छन्, ‘मेरो महत्वाकांक्षा नरुचाउने धेरै छन्, सोही कारण उनीहरु म असफल भएको हेर्न चाहन्थे।’

तर उनले आफू असफल हुने कल्पनासम्म गरेनन्। त्यही लगावको प्रतिफल टेस्लाले आज उनलाई विश्वकै धनी बनाइदिएको छ भने स्पेस एक्सले संसारकै ठूलो वैज्ञानिक संस्था नासासँग मिलेर अन्तरिक्षमा मान्छे पठाइरहेको छ।

सन् २०२० मा टेस्लाको सेयर ७ सय प्रतिशतभन्दा धेरैले सेयर मूल्य बढेको छ। कम्पनीमा मस्कको २१ प्रतिशत सेयर स्वामित्व छ। टेस्ला अहिले विश्वकै उच्च मूल्यवान् कार कम्पनी बनेको छ। रोयटर्सका अनुसार टेस्ला १० खर्ब मूल्यवान् कम्पनीहरुको क्लबमा प्रवेश गर्न अब २ खर्ब डलरमात्रै टाढा छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .