ad ad

अटो


सवारीसाधन आयात उत्साहप्रद, बिक्रीमा ‘ब्रेक’

सवारीसाधन आयात उत्साहप्रद, बिक्रीमा ‘ब्रेक’

वसन्त अर्याल
जेठ १३, २०७८ बिहिबार १०:४२,

कोरोना महामारीकै बीच वैशाख महिनामा साढे ८ अर्ब बराबरको सवारीसाधन तथा यसका पार्टपुर्जा आयात भएको छ।

वैशाख १६ देखि काठमाडौं उपत्यकासहित धेरै जिल्लामा निषेधाज्ञा भए पनि आयात निरन्तर भइरहेको भन्सार विभागले जनाएको छ।

विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार वैशाखसम्म ८२ अर्ब ४३ करोड रुपैयाँको सवारीसाधन र पार्टपुर्जा आयात भएको देखिएको हो।

गत चैत महिनासम्म ७३ अर्ब ८६ करोडको आयात भएको थियो। अघिल्लो वर्ष चैत महिनासम्म भने ५९ अर्ब रुपैयाँका सवारीसाधन तथा तिनका सामग्री आयात भएको थियो।

अघिल्लो वर्ष चैत दोस्रो हप्ताबाट लकडाउन हुँदा सवारीसाधन आयात ठप्प रहेको थियो।

उक्त वर्ष वैशाखसम्म ५९ अर्ब ५५ करोडको सामग्री मात्रै आयात भएको थियो।

विभागको तथ्यांकअनुसार वैशाख महिनामा ५५ करोड रुपैयाँको मात्रै सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएको देखिन्छ।

चालू आर्थिक वर्षमा दुईपांग्रे सवारीसाधनको आयात ह्वात्तै बढेको छ।

चालू आवमा २८ अर्ब २९ करोडका बाइक तथा स्कुटर मात्रै आयात भएको विभागको तथ्यांकले देखाएको छ। लकडाउनकै कारण गत वर्ष वैशाख महिनासम्म जम्मा १७ अर्ब ८७ करोड रुपैयाँको बाइक तथा स्कुटर आयात भएका थिए।

कुल आयात गत वर्ष चैत महिनासम्म ९ खर्ब ८२ लाख रुपैयाँ रहेकोमा लकडाउनको बीच वैशाख महिनासम्म १० खर्ब २५ अर्ब रुपैयाँको भएको थियो।

गत वर्ष एक महिनामा ४३ अर्ब रुपैयाँको मात्रै कुल आयात बढेको थियो।

चालू आर्थिक वर्षमा भने निषेधाज्ञाको बीच भन्सार आयातमा खासै फरक परेको देखिँदैन। चैत महिनासम्म ११ खर्ब ११ अर्ब आयात भएको थियो।

वैशाख महिनाको निषेधाज्ञाका बीच १ खर्ब ४३ अर्ब बढेर १२ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको हो।

‘सवारीसाधन आयात बढे पनि बिक्री भएको छैन’
गत वर्ष लकडाउनका कारण करिब ३ महिना ठप्प भएको अटो बजार पछि राम्रो व्यापार गर्न सफल भएको थियो।

लकडाउन आंशिक रुपमा खुलेसँगै दुईपांग्रे सवारीसाधनको बिक्री ह्वात्तै बढेको थियो।

कोभिड १९ महामारीका कारण लामो समय सार्वजनिक यातायात चल्ने अवस्था नभए पनि दुईपांग्रे सवारीसाधनतर्फ ग्राहकको ध्यान गएको अटो व्यवसायी बताउँछन्।

दशैँसम्म पनि खासै फस्टाउन नसकेको चारपांग्रे गाडीको व्यापार गत चैतमा आउँदा बजारमा गाडीको अभाव नै भइसकेको थियो। अधिकांश कम्पनीले ग्राहकको मागबमोजिम गाडी नै पुर्याउन सकेका थिएनन्।

चालू आर्थिक वर्षभरि नै दुईपाग्रे सवारीसाधनको व्यापार राम्रो भएको व्यवसायी बताउँछन्। भन्सार विभागको तथ्यांकले पनि गत वर्षको १० महिनाको तुलनामा यो वर्ष १० अर्ब रुपैयाँले बढीले बाइक तथा स्कुटरको व्यापार बढेको छ।

लकडाउन खुलेसँगै बढेको व्यापार निषेधाज्ञाको कारणले ‘ब्रेक’ लागेको अटो व्यवसायी बताउँछन्।

नाडाका दुई पांग्रे डिलर समितिका सभापति मिलनबाबु मल्लले गत वर्ष लकडाउन खुलेपछि नसोचेको व्यापार भए पनि अहिले ‘ब्रेक’ लागेको बताए।

‘गत वर्ष लकडाउनको समयमा व्यापार ठप्पै रहेको थियो। तर खुकुलो हुनेबित्तिकै व्यापार बढेको थियो’, रिसिक अटोमोबाइल प्रालिका म्यानेजिङ डाइरेक्टर समेत रहेका मल्लले भने, ‘यसअघि व्यापार बढ्दा अहिले आयात बढेको भए पनि निषेधाज्ञापछि व्यापार बन्द छ।’

उनले वैशाख महिनामा आयात ‘स्टक’को लागि भएको हुनसक्ने बताए। बजेटमा आउनै लाग्दा करका दर परिवर्तन हुनसक्ने भन्दै आयात बढेको हुनसक्ने उनको भनाइ छ।

‘गत वर्ष लकडाउन हुने हल्लाले धेरैले पहिलादेखि नै अर्डर गर्न छाडेका थिए’, किया मोर्टस नेपालका अनिस लामिछाने भन्छन्, ‘लकडाउनको बीचमा भन्सार पास भएनन् तर यो वर्ष निषेधाज्ञा अघि अत्यधिक माग हुँदा वैशाख महिनामा आयात बढ्यो। ’

लामिछानेले निषेधाज्ञाअघि सामान्य समयभन्दा चारपांग्रे गाडीको अधिक माग रहेको बताए। माग बढी भएपछि अर्डर गरेका गाडी भन्सारमा आएको उनले बताए।

‘निषेधाज्ञाको समयमा मुख्य सहरमा निषेधाज्ञा रहेको छ। बैंकबाट कारोबार गर्नै अप्ठ्यारो छ। कसरी बिक्री गर्नु?’, उनले भने, ‘अरु ठाउँमा अलिअलि बिक्रीले बजारलाई ठूलो प्रभाव पार्दैन।’

टाटा मोटर्सलगायतका कम्पनीले भने महामारीको समय फ्रन्ट लाइनमा काम गर्नेहरुलाई विशेष अफर सार्वजनिक गर्दै केही गाडी बिक्री गरेका छन्।

केही कम्पनीले अनलाइनबाट बुकिङ लिएर होम डेलिभरी समेत गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .