ad ad

अटो


२५ गतेपछि पनि निषेधाज्ञा यथावत् भए अवज्ञा गर्ने अटो व्यवसायीको तयारी

२५ गतेपछि पनि निषेधाज्ञा यथावत् भए अवज्ञा गर्ने अटो व्यवसायीको तयारी

वसन्त अर्याल
भदौ २१, २०७७ आइतबार ९:२५,

अटो व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन्।

कोभिडको कारणभन्दा पनि भोकमरी र बेरोजगारी ठूलो समस्या हुने भन्दै उनीहरुले स्वास्थ्य मापदण्डको कडा पालना गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका हुन्।

मुख्य–मुख्य सहरमा निषेधाज्ञा लागू भइरहँदा व्यवसायीहरुले सरकारले राहत, योजना र विकल्प दिन नसकेको भन्दै अब सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उल्लेख गरेका हुन्। काठमाडौंमा तेस्रो हप्तामा निषेधाज्ञा जारी छ भने कोरोना रोकथाम प्रभावकारी हुनसकेको छैन।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक तथा नाडाका पूर्वअध्यक्ष अन्जान श्रेष्ठले सरकारसँगको समन्वयमा सुरक्षित तवरले व्यवसाय सञ्चालन गर्नुपर्ने बताए।

उनले भने, ‘बढ्दो संक्रमणको चिन्ता, धराशायी उद्योग व्यवसाय र अर्थतन्त्रको चिन्ता, अझ बेरोजगारी र भोकमारीले पिल्सिएर सामाजिक विकृति ल्याउनसक्ने चिन्ता छ। सरकार र निजी क्षेत्र मिलौँ र व्यवसाय सञ्चालनको लागि आवश्यक कार्यविधि वा आचारसंहिता बनाई काम गरौँ।’

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल पनि पूर्णरुपमा बन्द समस्याको समाधान नभएको बताउँछन्।

‘पूर्णरुपमा बन्द गर्नु समाधान नै होइन। बन्द हुँदा कोरोनाभन्दा पनि भोकले मर्ने बेला भइसक्यो। कोरोना विश्वव्यापी रुपमा छ। विश्व विस्तारै खुल्दै गएको छ। हामी कहिलेसम्म बन्द गर्ने ?’, उनको प्रश्न छ।

‘२५ गते सरकारले खोलेन भने व्यवसायीले खोल्छन्’
काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। सुरुमा एक हप्ता गरिएको निषेधाज्ञा बढाउँदै ३ हप्ता पुर्याइएको छ। सरकारले अब निषेधाज्ञा थपे आफूहरुलाई मान्य नहुने व्यवसायीले बताएका छन्।

नाडा अटोमोबाइल एसोसिएनका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारले बन्द गरे पनि व्यवसायीले बन्द नगर्ने बताएका हुन्।

‘अब त सरकारले बन्द गर भने पनि व्यवसायीले बन्द गर्दैनन्’, दुलालले भने, ‘स्वास्थ्य मापदण्डको अनुशासन पालना गरेर खोल्नुपर्छ।’

उनले यसरी बन्द गरेर पार नलाग्ने भन्दै स्वास्थ्यसम्बन्धी कार्यविधिलाई पूर्णपालना गर्ने गरी व्यवसाय सञ्चालन गरिने बताए।

टीभीएस मोटर्सका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष अग्रवालले सरकारले निषेधाज्ञा गरेको औचित्व नभएको बताए।

‘सरकारले कुनै योजना बनाउनसकेको देखिँदैन। बन्द गरेको औचित्य स्पष्ट भएन’, अग्रवालले भने, ‘बन्द गरेर कोरोनाको चेन ब्रेक गर्नलाई वा पूर्वाधार निर्माणको लागि भए ठीकै हुन्थ्यो। हामीले त्यस्ता कुराको अनुभूति गर्नै पाएका छैनौँ।’

सरकारले निषेधाज्ञा गर्दा पनि संक्रमितको संख्या नघटेको तर अर्थतन्त्र पूरै धराशायी हुनलागेको उनको भनाइ छ।

‘बन्द गर्दा व्यापारीले घरभाडा दिनैपरेको छ, ब्याज तिर्नै परेको छ, बन्द गरेर हामी कुन बाटोमा गइरहेका छौँ, बुझ्नसकेका छैनौँ’, उनले भने।

फोर्स मोर्टसका लागि नेपालको आधिकारिक वितरक आयम इन्टिरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले लकडाउन खुकुलो भएसँगै पलाएको आश सरकारले व्यवस्थापन राम्रो नहुँदा निराशामा परिणत भएको बताए।

‘व्यवसाय अब केही बढ्छ कि भन्ने आशा थियो पूरै बन्द छ। यातायात नखोल्दा ६ महिनादेखि कमर्सियल भेहिकलको व्यापार शून्य छ’, थापाले भने।

उनले लकाडाउन खुकुलो भएपछि प्यासेन्जर भेहिकलको आयात राम्रै भए पनि व्यापार गर्ने समयमा फेरि निषेधाज्ञा गरी अनिश्चितता थपेको बताए।

सरकारले न व्यवसायीलाई आश्वस्त पार्नसकेको छ, न जनतालाई। बजार खुले पनि फेरि लकडाउन वा निषेधाज्ञा हुने डरले कुनै घरमा पैसा भए पनि सवारी खरिद गर्न कोही तयार नभएको व्यवसायी बताउँछन्।

नाडाका सचिव अनुप कुमार बरालले लकडाउन वा निषेधाज्ञाले अटो डिलरहरु ठूलो मारमा परेको बताए।

‘व्यवसाय ठप्प छ, बैंकको ऋण बढेको बढ्यै छ। सरकारले न त ठूलो राहतका प्याकेज दिनसक्यो, न व्यवसाय गर्ने वातावरण नै बनाउन सकिरहेको छ’, बरालले भने।

चैत ११ देखि भएको लकडाउनका कारण ठप्प रहेको अटो बजार असार १ देखि खुकुलो हुँदा व्यवसाय चलायमान हुँदै थियो। अटो व्यवसायीले बजारलाई चलायमान बनाउन आकर्षक अफर समेत ल्याएका थिए।

बजार चालायमान हुँदै गएको र चाडवाड पनि आएको भन्दै भन्सारमा रोकिएका गाडी व्यवसायीले छुटाए। सोही कारण गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा पेट्रोल इन्जिन कार बढी आयात भएका छन्। साउनको अन्तिमसम्म आइपुग्दा दुईपांग्रे सवारीको व्यापार त करिब ८० प्रतिशतसम्म ‘रिकभर’ भएको व्यवसायीले बताउँदै आएका थिए।

सरकारले लकडाउन खोलेसँगै मानिसको आउजाउ अव्यवस्थित हुँदा मुख्य सहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो। फेरि भदौको पहिलो हप्ताबाटै अधिकांश जिल्लामा लकडाउन तथा निषेधाज्ञा जारी भयो। व्यवसायीले आकर्षक अफर ल्याएर चलायमान बनाउन खोजेको बजारमा यसले फेरि ‘ब्रेक’ लाग्यो।

काठमाडौं उपत्यकासहित मुख्य सहर बन्द हुँदा अटो व्यवसाय पनि ठप्प रहँदै आएको छ। लकडाउन र निषेधाज्ञा लामो हुँदै गएको भन्दै व्यवसायीले एक स्वरमा अब बजार खोल्नुको विकल्प नभएको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .