अटो


नाडा अटो शोमा चारपाङ्ग्रे २२ र दुईपाङ्ग्रे १९ कम्पनीको सहभागिता निश्चित

नाडा अटो शोमा चारपाङ्ग्रे २२ र दुईपाङ्ग्रे १९ कम्पनीको सहभागिता निश्चित

रमेश पाेख्रेल
साउन ६, २०७६ सोमबार ६:११,

आगामी भदौ १० गतेबाट काठमाडौंको भृकुटीमण्डपमा हुने यस वर्षको ‘नाडा अटो शो’ मा २२ चारपांग्रे र १९ दुईपांग्रे सवारीसाधनका स्टल रहने निश्चित भएको छ। सवारीसाधनसम्बन्धी नेपालकै ठूलो मेला तथा प्रदर्शनीमा विश्वकै चर्चित सवारीसाधन ब्रान्डहरू सहभागी हुनेछन् भने बीवाईडी तथा दाहे कम्पनीका विद्युतीय गाडीहरु समेत प्रदर्शनीमा रहने आयोजक नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)ले जानकारी दिएको हो।

चारपांग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्योट, फोटोन, फियाट, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुबिसी, निशान र बीवाईडी सहभागी हुने भएका छन्। त्यस्तै दुई पांग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, निउ, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स रहेका छन्। कम्पनी तर्फबाट ९३ स्टल, दुई पांग्रे सवारीसाधनबाट १९ स्टल, कारहरुबाट २२ स्टल, बैंक तथा वित्तीय संस्थाबाट १२ स्टल र पार्टपुर्जा तथा टायर, लुब्रिकेन्टसमेतका ३८ स्टल रहने नाडाका एसोसिएट सचिव सुरेन्द्र प्रधानले नेपालखबरलाई जानकारी दिए।

याे पनि पढ्नुहाेस्‘नाडा अटो शो’ भदौ १० देखि भृकुटीमण्डपमा, १ सय ६४ वटा स्टल रहने


विभिन्न कम्पनीका आधिकारिक बिक्रेताहरुले शोका लागि गाडी भित्र्याइसकेका छन्। शोमा दाइहात्सु, फियाट, फोर्ड, होण्डा, हुण्डाई, किया, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागनलगायतका ब्रान्डका नयाँ तथा आधुनिक सवारीसाधन प्रदर्शनीका लागि राखिने निश्चित भएको प्रधानले बताए। नाडाले स्टल बुकिङका लागि गरेको आह्वानअनुसार यी कम्पनीले सहभागिता जनाउने निश्चित भएको हो। नाडाले त्यसैअनुसार स्टल समेत बाँडफाँट गरिसकेको छ।

अघिल्लो वर्ष सहभागी हुन नपाएका विभिन्न १२ वटा बैंक तथा वित्तीय संस्थाका साथै ५७ वटा पार्ट्स तथा लुब्रिकेन्टका स्टलहरु पनि यस वर्षको शोमा रहनेछन्। शोमा भृकुटीमण्डपको बगैँचामा समेत स्टलहरु राखिएकोले अघिल्लो वर्ष स्टल नपाएका बैंक तथा वित्तीय संस्थाहरुको समेत स्टलहरु रहने भएको हो। स्टल वितरणको काम पूरा गरिसकेको नाडाले जनाएको छ। अटो शोमा प्रदर्शनीमा अन्तक्र्रिया तथा छलफल समेत हुने बताइएको छ। नाडाले सन् १९९८ देखि नेपालमा सवारी प्रदर्शनीका साथै अटो शो मेला आयोजना गर्दै आएको छ।

कुन कम्पनीका कुन कार?

मारुती सुजुकी अल्टो

Alto800 Blazing Red new
मारुती सुजुकीले अल्टोको मोडल नेपाली बजारमा आएको छ। अल्टोमा ७९६ सीसी ३ सिलिन्डर पेट्रोल इन्जिन, ४७ बीएचपी र ६९ एनएम टर्क जेनेरेट गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। नयाँ कारले भारतमा ल्याइएको नयाँ सुरक्षा मापदण्ड र आउँदै गरेको प्रदूषण मापदण्ड दुवै पूरा गरेको बताइएको छ। भारतीय प्रदूषण मापदण्ड बीएस–६ अनुसारको इन्जिन यस कारमा रहेको छ।

कारमा ५ स्पिड म्यानुअल गियरबक्स रहनुका साथै स्ट्यान्डर्डमा ड्राइभर साइड एयरब्याग, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर फिचर अल्टोमा थप गरिएको छ। नेपाली बजारमा दुई भेरियन्ट स्ट्यान्डर्ड र एलएक्सआईमा रहेको छ। स्ट्यान्डर्ड मोडलको मूल्य १८ लाख ८९ हजार र एलएक्सआईको मूल्य २० लाख ५९ हजार रुपैयाँ पर्ने बताइएको छ।

एमजी जेटएस ईभी

mg zs ev suv cutout 2019 2

भारतीय बजारमा सार्वजनिक गरिएको एमजी मोटर्सको नयाँ इलेक्ट्रिक कार जेटएस पनि नाडा अटो शोमै लन्च गरिँदै छ। नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार शोमा यसको औपचारिक लन्च गरिनुको साथै बुक गरेका ग्राहकलाई गाडी डेलिभरी गरिनेछ।

गाडीको मूल्य ४९ लाख ९९ हजार रहेको छ। इलेक्ट्रिक मोटरले १४८ बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले बताएको छ। इलेक्ट्रिक एसयुभीमा ६ वटा एयरब्याग, पानोरोमिक सनरुफ, इलेक्ट्रिकल एड्जस्टेवल सिट र ३ मा ड्राइभिङ्ग मोड रहेको छ। एसी फास्ट चार्जिङबाट यसमा भएको ब्याट्री ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने र चार्जर हरेक गाडीको खरिदमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। ब्याट्रीमा ८ वर्षको वारेन्टी सुविधा रहेको छ।

कियाको निरो

kia niro ev

कियाको निरो कार नेपालमा भित्रिसकेको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले जनाएको छ। किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क शक्ति उत्पादन गर्छ। यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटर गति दिनसक्ने बताइएको छ। अगाडिको ग्रिलमा कम्बाइन चार्जिङ सिस्टम दिइएको यो इलेक्ट्रिक एसयूभी डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्नेछ। साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।

टाटा अल्ट्रोज

tata altroz

भारतीय कम्पिनी टाटा मोटर्सले उत्पादन गरेको प्रिमियम ह्याचब्याक कार अल्ट्रोज पनि शोमा नै सार्वजनिक गरिँदै छ। यसको मूल्य नेपाली बजारमा ३३ लाखदेखि ३५ लाख रुपैयाँसम्म पर्ने बताइएको छ। टाटाले अल्ट्रोजको उत्पादन मोडल यही वर्षको जेनेभा अटो शोमा सार्वजनिक गरिएको थियो। २.० डिजाइन ल्यांग्वेजमा अल्ट्रोज बनेको हो। यस कारमा एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्विल, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटीलगायत रहेको छ।

अल्ट्रोजमा सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको कम्पनीले बताएको छ। टाटा अल्ट्रोज १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन भेरिएसनमा रहेको छ। फ्युडलिक प्रविधिमा आधारित मोडलको फ्रन्टमा ग्रिल, नयाँ डिजाइनको अलोय ह्विल, सार्पर हेडलाइट र न्यु टेलाइट रहेको छ। कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ।

हुन्डाई ग्रान्ड आई १०

grand i10 1502362141 prod var

हुन्डाईले पनि आफ्नो नयाँ कार ह्याचब्याक कार ग्रान्ड आइ १० को अल न्यू मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। ग्रान्ड आई–१० मा कनेक्टिभिटी सिस्टम प्रदान गरिएको कार स्पाई लुक्समा निर्माण भएको छ। यस ह्याचब्यकको एक्सटेरियर र इन्टेरियरमा स्पोर्टी लुक रहेको छ। फ्युडलिक प्रविधिमा आधारित मोडलको फ्रन्टमा ग्रिल, नयाँ डिजाइनको अलोय ह्विल, सार्पर हेडलाइट रहेको जनाएको छ। यसमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ भने इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स रहेको कम्पनीले बताएको छ। यसको इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन र अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ। बीएस–६ मापदण्डअनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ।

दुई पांग्रेतर्फ कुन कम्पनीका कुन मोडल आउँदै छन्?

सुजुकी जिक्सर सिरिज मोटरसाइल

suzuki gixxer sf metallic sonic silver

सुजुकीको जिक्सर सिरिज मोटरसाइकल नाडा अटो शोमा सार्वजनिक हुने भएको छ। सुजुकीले जिक्सर सिरिजको मोटरसाइकल भारतीय बजारमा केही समयअगाडि सार्वजनिक गरेको थियो। कम्पनीले यसअघि जिक्सर एसएफ २५० सार्वजनिक गरेको थियो।

लिन्डर फ्युल इन्जेक्टेड–२५० सीसी इन्जिनले २६.५ बीएचपी पावरकासाथै २२.६ एनएम टर्क क्षमता दिने कम्पनीले जनाएको छ। यसमा ६ स्पिड गियर रहेको छ। साथै ड्युअल च्यानल स्ट्यान्डर्ड एबीएसका जिक्सरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ। भारतीय बजारमा यसको मूल्य १ लाख ७१ हजार रुपैयाँ रहेको छ।

बजाज एनएस २०० एबीएस

pulsar 200 ns abs 500x500

एनएस–२०० को एबीएस भर्सन पनि नाडा अटो शोमै आउने भएको छ। बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुविधा उपलब्ध छैन। अब आउने परिमार्जित मोडलमा भने सिंगल च्यानल एबीएस रहेको कम्पनीले बताएको छ। यो मोडललाई बजाजले केही समयअघि भारतीय बजारमा सार्वजनिक गरेको थियो।

यसमा १९९ सीसी सिगंल सिलिन्डर ४ भल्भ, लिक्विड कुल्ड इन्जिन हनुको साथै ९ हजार ५ सय आरपीएममा २३.१७ बीएच पावर तथा ८ हजार आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्नसक्छ। ब्रेकिङमा एबीएससहित फ्रन्टमा ३०० र रियरमा २३० एमएमको क्यालिपर पेटल डिस्क ब्रेक उपलब्ध रहेको छ। नेपाली बजारमा यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्न आउने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजले बताएको छ।

हिरो एक्सपल्स

m xpulse 200t 11556785995

हिरो मोटोकर्पले एक महिनाअघि भारतीय बजारमा सार्वजनिक गरेको एडभेन्चर मोटरसाइकल एक्सपल्स–२०० र एक्सपल्स–२०० टी नाडा अटो शोमार्फत नेपाली बजारमा ल्याउने भएको छ। दुई बाइकमा २०० सीसी, लिक्विड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन रहेको कम्पनीले जनाएको छ।

इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क गर्ने र फाइभ–स्पीड ट्रान्समिसन जडान गरिनुका साथै हाई स्ट्रेन्थ स्टिल बडी फ्रेम, अगाडि २१ इन्चको स्पोक ह्विल, पछाडिमा १८ इन्चको ह्विल भएको बताइएको छ। प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड रहेको छ। बाइकको फ्रन्टमा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ। दुवै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक रहेको हिरोको लागि नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले जनाएको छ।

अटो शोमा यसबाहेक अन्य कम्पनीका उत्पादन पनि सार्वजनिक हुनसक्ने नाडाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .