ad ad

अटो


लेन मिच्ने डाक्टरलाई जब अफिसमै ट्राफिक प्रहरीको फोन आयो ...

लेन मिच्ने डाक्टरलाई जब अफिसमै ट्राफिक प्रहरीको फोन आयो ...

बसन्त अर्याल
माघ ७, २०७६ मंगलबार ११:१,

फिजियोथेरापिस्ट रामेश्वर डोटेल वसुन्धाराबाट नारायणगोपाल चोक हुँदै दैनिक मोटरसाइकलमा आउजाउ गर्छन्।

ट्राफिक नियम एकदमै ख्याल गरेर हिँड्ने उनको बानी छ। एक दिन उनी अफिसमा काम गरिरहेका थिए, फोनको घण्टी बज्यो। उनले फोन उठाए।

‘म ट्राफिक प्रहरी कार्यालयबाट’ भन्ने शब्द सुन्नेबित्तिकै उनी झसंग भइहाले। त्यसपछि डर मान्दै जवाफ फर्काए, ‘के भयो र सर !’

ट्राफिक प्रहरी कार्यालयबाट फोन आएको रहेछ। 

‘रातो कलरको, XXXX नम्बरको बाइक तपाईंको हो ?’, उनलाई सोधियो, ‘तपाईंले ट्राफिक नियम उल्लङ्घन गर्नुभएको रहेछ। बिलबुक र लाइसेन्स लिएर बग्गीखाना आउनुहोला।’

केही दिनअघि नारायण गोपाल चोकमा लेन मिचेको कुरा डोटेलले बिर्सिसकेका थिए। उनले हेक्का नै राखेका रहेनछन्, ट्राफिकले सम्झाइदियो।

‘ट्राफिकले मैले लेन मेचेको दृश्य सीसीटीभी फुटेजबाट लिएका रहेछन्’, डोटेलले नेपालखबरसँग भने, ‘त्यहीँबाट मेरो नम्बर नोट गरेका रहेछन्।’

यसअघि यस्तो अवस्थामा नपरेका डोटेल फोन आउँदा छक्क परेको बताउँछन्।

‘प्रहरीले सीसीटीभीबाट निगरानी गरेको हुन्छ भन्ने मलाई थाहै थिएन’, उनी भन्छन्, ‘मंगलबार मैले नियम मिचेको रहेछु। शुक्रबार दिउँसो कल आयो।’ आइतबार लाइसेन्स र बिलबुक लिएर आउन प्रहरी कार्यालयले उनलाई फोनबाट भन्याे।

त्यसपछि लेन मिचेको दिन उनले सम्झिए। ‘सधैँ हिँड्ने बाटोमा त्यसदिन मलाई हतार थियो। मलाई ख्याल भएन, नारायण गोपाल चोकमा लेन मिचेर बसिएछ’, उनी भन्छन्, ‘जानी जानी नियम मिच्छु भनेर त होइन, छिटो पुग्नुपर्ने हुँदा गल्ती भएछ, कारबाहीमा परेँ।’

त्यसपछि बोलाएकै दिन आइतबार उनी बग्गी खाना पुगे। प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको सीसीटीभी फुटेज देखायो। आफैँले आफ्नो गल्ती देखेपछि डोटेलले गल्ती अस्वीकार गर्नै सकेनन्।

धेरै पहिला उनले नियम मिचेको भन्दै ट्राफिकले चिट काटेको थियो । त्यति बेला प्रहरीसँग डोटेलले मुखामुख नै गरेका थिए। तर पछिल्लो समय प्रविधिलाई उत्तिकै आत्मसात् गरिरहेको ट्राफिक प्रहरीले उनको गल्ती उनीसामु देखाइदिएपछि उनी अवाक् भए। अघिल्लो पटकजस्तो गलफती हुन पाएन।

नजानेर गरेको भए पनि उनले गल्ती स्वीकार्दै ट्राफिक प्रहरीसामु माफी मागे। प्रहरीले उनलाई ५ सयको चिट काट्यो। सँगै उनले १ घण्टा कक्षा लिनुपर्ने भयो तर आइतबार फुर्सद नभएपछि उनले सोमबार गएर १ घण्टा लेनसम्बन्धी कक्षा लिए।

‘के–के गर्दा ट्राफिक नियम उल्लंघन हुन्छ। नियम पालना किन गर्ने भन्ने खालको भिडियो सन्देशसहितको कक्षा थियो’, डोटेल प्रहरीसँग लिएकाे कक्षाबारे भन्छन्, ‘त्यसपछि जरिवानाबापतको ५ सय तिरेर लाइसेन्स लिएर फर्किएँ।’

२ वर्षयता प्रविधिकाे सहारा
ट्राफिक प्रहरीले सडकमा सीसीटीभीबाट लेन अनुशासन परिपालनाको अनुगमन गर्नथालेको २ वर्ष नाघिसकेको छ। वि.सं. २०७४ माघदेखि ट्राफिकले यस्तो अनुगमन थालेको थियो। २०७५/०७६ मा मात्रै ८ हजार ९ सय ३१ जनाले लेन अनुशासन मिचेकोमा कारबाही भोगिसकेका छन्। त्यस्तै २०७६/७७ को हालसम्म ६ हजार २ सय १० जना कारबाहीमा परेको कार्यालयले जानकारी दियो।

ट्राफिक प्रहरीले सडकका पोलमा जडित सीसीटीभीबाहेक सर्भिलेन्स भेहिकलमार्फत पनि तत्कालै कारबाही गर्दै आएको छ। सर्भिलेन्स भेहिकलमा चारैतिर सिसिटीभी जडान गरिएको हुन्छ। प्रहरी सडकमा नभई गाडीभित्र बसी जसले नियम उल्लंघन गर्छन्, तिनीहरुलाई कारबाही गर्ने गरेको छ।

उपत्यकामा मात्रै १ हजार ६ सय ८४ ठाउँमा सीसीटीभी
हिजोआज ट्राफिक प्रहरीले चौबीसै घण्टा यस्तो निगरानी गरिरहेको ट्राफिक प्रहरी प्रवक्ता जीवन कुमार श्रेष्ठ बताउँछन्। काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ८४ ठाउँमा सीसीटीभी राखिएको उनको भनाइ छ। यसमध्ये महानगरीय प्रहरी रानीपोखरीमा ७ सय ४१ क्यामेराका मोनिटर छन्। अरु क्यामेरा भने स्थानीय प्रहरीले मोनिटरिङ गरिरहेको श्रेष्ठले बताए।

खासगरी ट्राफिक नियम उल्लंघनभित्र ‘लेन मिचेको, ओभरटेक, प्यासेन्जर झुण्डाएर हिँड्ने, दुर्घटना गराउने, जेब्रा कोस्रिङमा गाडी रोक्ने, हेलमेट नलगाई चलाउनेजस्ता कुरा पर्छन्। ‘यिनै कुरामा हामीले गाडीको निगरानी गरिरहेका हुन्छौँ’, उनले भने, ‘जसले यस्ता गल्ती गरेका हुन्छन्, सीसीटीभीमार्फत निगरानी गरी तत्काल कता जाँदै छ भन्ने सम्बन्धित क्षेत्रको प्रहरीलाई खबर गर्ने र त्यहाँको प्रहरीले नियन्त्रण गर्छ।’

तत्कालै नसके फाेन गरेर झिकाउँछाैँः ट्राफिक प्रहरी
उनले तत्काल कारबाही गर्न नसके पनि उसको गाडी नम्बरबाट सवारीधनी र सवारी चालक पत्ता लगाएर फोन गर्ने गरेको नेपालखबरलाई जानकारी दिए।

‘नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरी कार्यालयमा बोलाएर, भिडियो देखाई तपाईले यो दिन यति बजे ट्राफिक नियमा उल्लंघन गर्नुभएको छ भनी देखाउँछौँ। त्यसपछि जरिवाना र सचेतना कक्षा लिन्छौँ।’

श्रेष्ठले कतिपय चालकले ट्राफिक प्रहरी देख्दा मात्रै नियम मान्ने गरेको दाबी गरे। ‘अरुबेला मनलाग्दी हाक्छन् तर सीसीटीभीमार्फत ट्राफिक नियमको निगरानी गरेपश्चात् भने सडकमा ट्राफिक हुँदा मात्रै कारबाही गर्ने अरु बेला गर्न नसक्ने बाध्यता हटेको छ।’

यसले सवारीचालकलाई सचेत गराउनुका साथै दुर्घटनामा समेत कमी ल्याउने ट्राफिक प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .