ad ad

अटो


५० वटा चार्जिङ स्टेसन निर्माणको लागि आर्थिक स्रोत जोहो गर्दै प्राधिकरण

५० वटा चार्जिङ स्टेसन निर्माणको लागि आर्थिक स्रोत जोहो गर्दै प्राधिकरण

बसन्त अर्याल
कात्तिक २७, २०७६ बुधबार १२:४,

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा विद्युत् प्राधिकरणले ५० स्थानमा विद्युतीय चार्जिङ स्टेसन बनाउने भएको छ। प्राधिकरणले साना सवारीसाधनहरु कार, भ्यानलगायतका लागि देशैभर ५० स्थानमा स्टेसन निर्माण गर्ने भएको हो।

प्राधिकरणको चुहावट नियन्त्रण तथा ऊर्जा दक्षता विभागका उपप्रबन्धक प्रमोद रिजालले प्रतिस्टेसन एक करोड रुपैयाँ लागत पर्ने अनुमानका आधारमा उक्त परियोजनामा ५० करोड रुपैयाँ ‘सफ्ट लोन’ लिने तयारी भइरहेको बताए। उपप्रबन्धक रिजालका अनुसार ५० करोड रुपैयाँ लगानी गर्न एसियाली विकास बैंकले समेत इच्छा देखाइरहेको छ।

एउटा स्टेसनमा ११ हजार भोल्टको विद्युत, २०० केभीको ट्रन्सफर, चार्जिङ्ग मेसिनलगायतका आवश्यक पूर्वाधारको पूरा लागत एक करोडभित्रै पर्ने उनले नेपालखबरलाई जानकारी दिए।

टेन्डर र डकुमेन्टकाे काम अन्तिम चरणमा

ऋणको लागि तयारी हुँदै गर्दा प्राधिकरणले चार्जिङ्ग स्टेसन निर्माणको आवश्यक टेन्डर, डकुमेन्ट तयार गर्ने काम अन्तिम चरणमा पुर्याएको छ।

रिजालले भने, ‘सुरुमा पाइलट प्रोजेक्टका रूपमा भाडा तिर्नु नपर्ने स्थानमा स्टेसन सञ्चालनमा ल्याउने तयारी छ।’

यसको लागि प्राधिकरणले गत असोज ९ गते नै विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माणको लागि सार्वजनिक सूचना जारी गरेको थियो। तर अहिलेसम्म करिब १५ वटा मात्रै आवेदन परेको प्राधिकरणले जनाएको छ।

चार्जिङ्ग स्टेसन निर्माणको लागि मुख्य सहरभित्रका मूल सडक तथा मुख्य राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपर मार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, होटल तथा रेष्टुरेन्ट आदिका पार्किङ्ग स्थलहरु उपयुक्त हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण लागत (जग्गाको उपलब्धताबाहेक)मा निर्माण एवं सञ्चालन हुने चार्जिङ्ग स्टेसन निर्माणको लागि कम्तीमा तीनवटा विद्युतीय सवारीसाधन चार्जिङ्गको लागि डेडिकेटेड पार्किङ्ग स्पेस निःशुल्क उपलब्ध गराउन इच्छुकले निवेदन पेश गर्नसक्ने सूचनामा उल्लेख गरिएको थियो।

तीनवटा प्रविधिका चार्जिङ्ग स्टेसन
यसैबीच, विद्युतीय सवारीसाधनका लागि तिनीहरूको चार्जिङ प्रणालीका आधारमा तीन मापदण्डका चार्जिङ स्टेसन निर्माण हुने प्राधिकरणले जानकारी दिएको छ। विश्वमा धेरै विद्युतीय गाडी युरोपेली मापदण्डको सीसीएस २.० चार्जिङ्ग पोर्ट प्रयोग गर्ने गरेका छन्।

युरोपेली प्रविधि सीसीएसलाई प्राथमिकता दिने गरी चार्जिङ्ग स्टेसन निर्माणको लागि टेन्डर आह्वान गर्ने प्राधिकरणको तयारी छ। विश्वमा चिनियाँ मापदण्डको जीभीटी र जापानी मापदण्डको चाडेमो प्रणालीका चार्जिङ पोर्ट सञ्चालनमा छन्।

१५० किलोवाट क्षमता अनिवार्य
प्राधिकरणले एउटा चार्जिङ्ग स्टेसन १५० किलोवाट क्षमताको हुनुपर्ने जनाएको छ। जसमा डीसी चार्जिङ्गका लागि ६०÷६० किलोवाटका दरले १ सय २० किलोवाटका दुईवटा ‘चार्जिङ गन’ रहनेछन्। यो छिट्टै चार्जिङ्ग हुने प्रविधि हो। यस मोडको चार्जिङ्ग गर्नेले ३० देखि ४५ मिनेटमा गाडी फुल चार्ज गर्न सक्नेछन्।

चार्जिङ शुल्क कति?
त्यस्तै बढीमा ३० किलोवाटको एसी मोडको चार्जिङ गन समेत रहनेछ। यसमा गाडी फुल चार्ज हुन तीनदेखि पाँच घण्टासम्म लाग्नसक्छ। चार्जिङ्ग शुल्क कति हुने भन्ने टुंगो लगाउन अझै बाँकी छ।

प्राधिकरणले शुल्कको विषयमा विद्युत् नियमन आयोगमा प्रस्ताव पठाएको छ। तर आयोगले अझै शुल्क तोकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .