खेल


प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता : महांकाल, ह्याङले, हेटौँडा र थाहा सेमिफाइनलमा

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता : महांकाल, ह्याङले, हेटौँडा र थाहा सेमिफाइनलमा

नेपालखबर
बैशाख २४, २०८१ सोमबार २०:४०, काठमाडौँ

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौडा उप महानगरपालिका, र थाहा नगरपालिका पहिलो प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार सेमिफाइनल प्रवेशको क्रममा महांकालले बाग्मती गाउँ पालिकालाई २५–२२, २९–२९ ले हराएको हो। महांकालले सेमिफाइनलमा थाहासँग खेल्ने छ। थाहाले माडी नगरपालिकालाई २५–१७,२५–२१ ले हराएको हो।

हेटौंडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले हराएको हो। अर्को क्वार्टरफाइनल खेलमा ह्याङलेले गाकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हरायो। हेटौंडा र ह्याङले सेमिफाइनलमा भिड्ने छन्।

१६ टोलीको सहभागिता रहेको प्रतियोगिता मंगलबार सकिने छ। प्रधानमन्त्री दाहालका छोरा ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ।

विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ। साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महांकाल गाउँपालिकास्थित महांकाल माविको प्राङ्गण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ।

प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो। सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली अन्तिम आडमा प्रवेश गर्ने बोगटीले जानकारी दिए।

आयोजक कमिटीको संयोजक डोल्मा माया गोलले प्रतियोगिताको सफलताले सो क्षेत्रमा भलिबलको विकासमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ। यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ। ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ।

प्रतियोगिताको सुरुवातदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका हेटौंडा र थाहा अपराजित टोली हुन्। घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौंडासँग पराजित हुनुको बाबजुद उत्कृष्ट कम ब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको हो।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .