ad ad

कला


‘करिअरकै उत्कृष्ट फिल्म’ गरेपछि दयाहाङमा आएको परिवर्तन

विश्वबजारतिर दयाहाङको नजर
‘करिअरकै उत्कृष्ट फिल्म’ गरेपछि दयाहाङमा आएको परिवर्तन

अब नेपाली निर्माताहरूले विश्वबजारलाई हेरेर फिल्म बनाउनुपर्ने बताउँछन् दयाहाङ राई। तस्बिर : सरोज बैजु


लक्ष्मी बलायर
जेठ ५, २०८१ शनिबार १७:२१, काठमाडौँ

‘आदिवासी जनजातिका दयाहाङजस्ता केही अनुहारहरू नेपाली फिल्ममा स्थापित भए पनि उनीहरू राजेश हमाल परम्पराका पुनरावृत्ति मात्र हुन्,’ २०७४ ताका निर्देशक नवीन सुब्बाले लेखेका थिए।

उनको तात्पर्य थियो, दयाहाङले फिल्मको संख्या बढाउने चक्करमा स्तर गुमाए। हुन पनि ‘लुट’ र ‘कबड्डी’ जस्ता फिल्मबाट प्रशंसा बटुलेका दयाहाङले त्यतिबेला धमाधम फिल्म खेले। जुन फिल्महरू गुणस्तरका हिसाबले निकै कमजोर थिए। 

नवीनको त्यो आलोचनाले दयाहाङलाई रिस उठेन। बरु उनले त्यसलाई अत्यन्त सकारात्मक रुपमा लिए। 

‘दाइले भनेको कुरालाई मैले उर्जाको रूपमा लिएँ। दाइहरूले नै हामीलाई सपना देखाउनु भएको हो,’ दयाहाङ भन्छन्, ‘त्यस्तो भन्नु अग्रजहरूको हामीप्रतिको ठूलो अपेक्षा हो। त्यो पूरा नहुँदाको झर्कोपना हो। तिमीहरूको जिम्मेवारी त्यति मात्रै होइन भन्नुभएको हो।’

अहिले उनै नवीन सुब्बा र दयाहाङ राईको फिल्म रिलिजको सँघारमा छ। जसलाई दयाहाङ आफ्नो करिअरकै उत्कृष्ट फिल्म मान्छन्।

नवीन निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट रिलिज हुँदैछ। ‘नुमाफुङ’जस्ता फरक धारका फिल्म बनाएर नेपाली सिनेमामा अलग बाटो खनेका नवीनको यो तेस्रो फिचर फिल्म हो। ‘अ रोड टु अ भिलेज’ नामबाट यो फिल्म विभिन्न महोत्सवहरूमा पुगिसकेको छ।

‘मेरो आजसम्मकै उत्कृष्ट फिल्म भन्न मिल्छ,’ दयाहाङले भने, ‘मैले आफैँले आफैँलाई बुझ्ने मौका पाएको हिसाबले उत्कृष्ट भन्न मिल्छ। एक कलाकारको रुपमा पहिले म कसरी काम गर्दो रहेछु भन्ने छर्लङ्ग भयो। मैले कसरी काम गर्दो रहेछु, त्यो सही थियो कि गलत, छुट्याउने मौका पाएको नै यस फिल्मबाट हो।’ 

‘गाउँ आएको बाटो’मा दयाहाङ माइला नामक पात्रको भूमिकामा देखिएका छन्। निम्नवर्गीय परिवारका माइला चोयाको काम गर्छन्। माइलाको श्रीमती र एक छोरा छन्। डोको, नाम्लो र फिपी बेचेर उनले परिवार पाल्छन्।

विकासको लहर चलेसँगै माइलाको गाउँमा सहर जोड्ने बाटो बन्छ। तर, त्यही बाटोले उनको जीवनमा उल्झनहरू पनि ल्याउन थाल्छ। गाउँमा बाटो आइसकेपछि माइलाको जीवनमा आउने उतारचढाव नै फिल्मको मुख्य कथा हो।  

यो सरल कथामार्फत फिल्मले दिने गहन सन्देश आम दर्शकले सहजै बुझ्ने दयाहाङको विश्वास छ।

‘हामी आधुनिकतातर्फ ढल्किरहेको छौँ। त्यसले पार्ने प्रभावलाई फिल्ममा नियाल्न सकिन्छ। गाउँमा बाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढाव फिल्ममा छ। जुन सबै दर्शकसँग रिलेट हुन्छ,’ उनी भन्छन्, ‘फिल्म सरल भए पनि यसले भन्न खोजेको कुरा एकदम गहन छ। यो आम दर्शकलाई बुझ्न सहज नै हुन्छ। पपकर्न खाएर हेर्नुभन्दा अलिकति दिमाग लगाएर हेर्नुपर्छ। मेकरहरूले पनि यो फिल्म हेर्न आवश्यक छ। उहाँहरूलाई यस्तो स्टोरी बनाउँदा विश्वबजारमा लान सकिँदोरहेछ भन्ने लाग्छ। यो चल्यो भने साँच्चै हामी ग्लोबल मार्केटबारे सोच्छौँ।’ 

‘नवीन सुब्बासँग काम गर्न पाउनु ठूलो अवसर’
१० वर्षअगाडि नै नवीनले दयाहाङलाई ‘गाउँ आएको बाटो’बारे सुनाएका थिए। नवीनले फिल्मको स्क्रिप्ट सुनाउँदा दयाहाङलाई निकै मन परेको थियो। टेलिसिरियल ‘दलन’ मा सहकार्य गरिसकेका नवीनसँग काम गर्ने लोभ दयाहाङलाई थियो।  

‘पहिलो कुरा त नवीन दाइले काम गरौँ न त भन्नु नै हामीजस्ता कलाकारको लागि ठूलो कुरा हो। नवीन दाइ बिनाअर्थका फिल्म बनाउनुहुन्न। केही कुरा भन्नका लागि बनाउनुहुन्छ। त्यो कुरा मलाई थाहा थियो। यो फिल्म ठूलो अवसर हो भनेर ओके गरेँ,’ दयाहाङले सुनाए। 

तर, त्यो बेला फिल्म बन्न सकेन। नवीन पनि ‘गुडबाई काठमाडौँ’ बनाउन व्यस्त भए। त्यतिखेर फिल्म नबन्नु आफ्ना लागि राम्रै भएको सुनाउँछन् उनी। 

‘त्यतिबेला फिल्म बनेको भए म खेल्न पाउँदैनथेँ होला! किनभने पात्रअनुसार न मेरो उमेर पुगेको थियो, न म अहिलेजति परिपक्क र अनुभवी नै थिएँ,’ उनले सुनाए। 

पाँच वर्षअघि फेरि नवीन सुब्बा गाउँ आएको बाटो बनाउने तरखरमा लागे। फिल्म बनाउने टुंगो लागेसँगै कोरोना महामारी आयो। त्यसपछि कोरोना सुस्त बनेसँगै २०७८ मंसिरबाट भोजपुरको बालंखामा फिल्मको सुटिङ सुरु गरियो। दुई सेड्युलमा गरिएको सुटिङ ६० दिनमा सकिएको थियो। 

माइला बन्न गर्नुपरेको मेहनत 
यस फिल्ममा पहिलोपटक दयाहाङले राई समुदायको पात्रमा अभिनय गरेका छन्। आफू राई समुदायको भए तापनि लवज टिप्न कठिन भएको उनको अनुभव छ। 

‘यो क्यारेक्टर बान्तवाभाषी नै हो। तर, बान्तवाभाषीमा पनि म जहाँ जन्मे, त्यहाँको टोनभन्दा यहाँको अलिकति फरक छ। हामीलाई भाषाशास्त्री तारामणि राईले १५ दिन पढाउनु भयो,’ उनले सुनाए, भाषा सिके पनि लवज ल्याउन कठिन थियो।’

भाषा मात्रै होइन, माइला चरित्रमा फिट हुन पनि दयाहाङले निकै मेहनत गर्नुपरेको थियो। काठमाडौँको वर्कसपमा माइला चरित्रको मनोविज्ञान कस्तो हुन्छ भनेर आन्तरिक पाटोतर्फ अभ्यास गरिसकेका थिए। त्यही कुरालाई शरीरमा कसरी व्यक्त गर्ने? त्यो उनको लागि चुनौती थियो। तर, बाँस काटेर अभ्यास गरिरहँदा ती पक्षलाई भेटे। माइलाको चालढाल समाते। 

फिपी बनाउन चोया काढ्ने क्रममा एकदम ताल मिलाउनुपर्ने, जोगाएर काढ्नुपर्ने। बाँस काट्दाको हात हल्लाइ, तौरतरिका शरीरमा ल्याउन थाले। त्यसपछि दयाहाङलाई माइला कस्तो रिदममा हिँड्छ, बोल्छ भन्ने कुरा क्लिक भयो। 

स्क्रिप्टमा माइलाले लगाएको चप्पल जता खिइएको थियो, दयाहाङले चप्पल लगाउँदा त्यसको विपरीत खिइन गयो। चार÷पाँच दिनको अभ्यासले चप्पल लगाउँदा चरित्रको लय निकाल्न सके। 

माइलाको चरित्र उनले सामाजिक, आर्थिक, राजनीतिक पाटोबाट केलाइसकेका थिए। त्यसपछि यी कुराहरूले माइलाका विशेषता उनले शरीरमै भित्र्याउन सके।

‘आफ्नै समुदायको कथा भए पनि जुन चरित्रको भूमिका गरेको छु, उहाँको जीवनशैली निकै फरक छ। माइला चरित्रमा फिट हुन थुप्रै तहमा काम गरेको छु,’ दयाहाङ भन्छन्, ‘खासमा आफूले आफूलाई अध्ययन गरेर माइला चरित्र निर्माण भएको हो।’

समय र चरित्र निर्माणका हिसाबले यस फिल्ममा धेरै मेहनत लागेको उनको दाबी छ। अहिलेका व्यस्त अभिनेता दयाहाङले यसै फिल्मका लागि चार महिना छुट्याएका थिए। 

‘हुन त पहिलाका फिल्ममा पनि काम गरेको छु। तर, यो फिल्ममा टिम थियो, जसले मेरो अभिनयमाथि नै अनुसन्धान गरेको थियो। उहाँहरूले अभिनय गर्दा मैले सधैँ दोहोर्‍याइरहने बानीलाई नियालिदिनुहुन्थ्यो,’ उनी भन्छन्, ‘अनि फिल्ममा काम गरिरहँदा पनि सबैले दयाहाङभन्दा बढी माइला देखियो भन्ने प्रतिक्रिया दिनुहुन्थ्यो। जसले खुसी मिल्थ्यो। खासमा यस फिल्मले आफैँलाई बुझ्न पनि सहयोग गरेको छ।’

यस फिल्मले राई समुदायको सांस्कृतिक पक्षभन्दा पनि सोचलाई अघि सार्ने सुनाउँछन् दयाहाङ। उनले भने, ‘फिल्ममा पात्रको विश्वासपद्धति र सोचलाई नियाल्न पाइन्छ। राई समुदायको पात्राले छोरा, श्रीमतीलाई कसरी लिन्छन्? समाजलाई कसरी हेर्छन्? यी कुराहरू फिल्मभित्र छन्। राईहरूको कल्चरभन्दा पनि कलर चाहिँ आउँछ।’

रिलको बुवा बन्न झन् गाह्रो
यो फिल्म बुवाछोराको सम्बन्धमा आधारित छ। 

दयाहाङ आफैँ दुई छोराका बुवा हुन्। तैपनि उनले सुटिङ चलिरहँदा आफ्ना छोराहरूभन्दा स्वर्गीय बुवालाई ज्यादा सम्झिए।

उनका बुवाले ९ कक्षासम्म पढेका थिए। कृषि गरेर जीवन धान्ने बुवाले दयाहाङलाई कलेज पढाउन निकै संघर्ष गर्नुपरेको थियो। 

‘छोराको झल्को नआउने त होइन। तर खासमा बुवालाई सम्झिएँ,’ उनले सुनाए।

रियलभन्दा रिलको बुवा बन्न कठिन भएको उनको अनुभव छ। 

‘आफैँ बुवा भएर खेलेँ। बुवा हुन कठिन नै छ नि। खास त रिलकै गाह्रो होला। रियलमा सम्भावनाहरू धेरै हुन सक्छन्। आज भएन भने भोलि हुन सक्छ। धेरैजना सहयोगी हुन्छन्। रिलमा कठिन छ,’ उनी भन्छन्।

अन्तर्राष्ट्रिय मञ्चमा दयाहाङको दबदबा
हुन त यसअघि दयाहाङले खेलेका फिचर फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेका छन्। २०६८ सालमा दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘हाइवे’ बर्लिन फिल्म फेस्टिबलमा प्रिमियर भएको थियो। 

२०७३ मा भेनिस फेस्टिबलमा प्रिमियर भएको दयाहाङ स्टारर ‘ह्वाइट सन’ ले पनि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। अन्तर्राष्ट्रिय स्तरमा पुग्ने यो दयाहाङको तेस्रो फिचर फिल्म हो। क्यानडाको टोरेन्टो फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, बेइजिङलगायतका महोत्सवमा पुगिसकेको छ। त्यस्तै, ‘साँघुरो’ ले पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ। 

औँलामा गन्न सकिने नेपाली फिचर फिल्म मात्रै अन्तर्राष्ट्रिय स्तरमा पुगेका छन्। तैपनि आफ्ना तीनचारवटा फिल्म फेस्टिबलमा पुग्नुलाई ठूलो उपलब्धि मान्छन् दयाहाङ। 

‘सर्टफिल्मको राम्रो उपस्थिति भए पनि फिचर फिल्म धेरै पुग्न सकेका छैनन्। त्यस्तोमा तीनचारवटा मेरो पनि पुगेको छ भन्नु चाहिँ विशेष लाग्छ। पातलो पुगेको रहेछ तर, त्यो पनि ठूलो उपलब्धि हो,’ उनले सुनाए।

फेस्टिबलमा पुग्दा आफूबारे विदेशी दर्शकहरूले चासो राख्दा दयाहाङलाई खुसी लाग्छ। जसले उनलाई विश्वभर पुग्ने फिल्ममा खेल्नुपर्छ भन्ने लोभ जाग्छ। गाउँ आएको बाटोपछि आगामी दिनमा ग्लोबल दर्शकलक्षित फिल्मलाई बढी प्राथमिकता दिने दयाहाङको भनाइ छ। 

‘गाउँ आएको बाटो खेल्नु एउटा सुरुवात हो। यस्तो फिल्म खेल्ने रहर पहिल्यैदेखि हो। यस्तो फिल्म बनाउने मेकर थोरै हुनुहुन्छ। सबै क्यारेक्टर मलाई सुट नहुन सक्छ। विश्वभर पुग्ने फिल्म खेल्नुपर्छ भनेर गत वर्ष मात्रै ‘राजागञ्ज’ सहित ‘भूठान’ मा काम गरेँ। आफू सँगसँगै देशको फिल्ममेकिङ पनि विश्व बजारसम्म पुग्दा खुसी लागिरहेको छ,’ उनी भन्छन्।

विश्वबजारलाई हेर्ने बेला आयो
दयाहाङका फिल्मले अनेक कीर्तिमान राखेका छन्। डायस्पोरा बजार खोल्ने ‘लुट’ होस्, वा सर्वाधिक कमाइ गर्ने फिल्म ‘कबड्डी ४’। 

अब फिल्म बनाउँदा घरेलु बजारलाई मात्रै नभई विश्व बजारलाई नै ध्यानमा राख्नुपर्ने उनको तर्क छ।

‘हामीले यहाँको लागि त काम गरिसक्यौँ। अब विश्व बजारमा हाम्रो फिल्म पुग्नुपर्छ भन्ने मेरो सोच छ। कलाकारको हिसाबले म आफ्नो तर्फबाट गरिरहेको छु। नयाँ साइन गर्दिनँ भनेको छु। कर्मसियलभन्दा पनि यस्तो फिल्म पाउँदा चाहिँ गर्छु। वर्षौपिच्छे देख्न पाउने रहर छ,’ उनको भनाइ छ। 

ग्लोबल मार्केटलाई लिएर कलाकारसहित फिल्ममेकरको पनि सोच्नुपर्ने बेला आएको उनी बताउँछन्।

‘हामी नेपालको बजारभित्र रमाइरहेका छौँ। फिल्म बनाएर मात्रै हुँदैन। त्यसलाई विश्व बजारमा लैजाने सोच हुनुपर्छ। हाम्रोमा बढीमा सयवटा फिल्म बन्छन्। विदेशमा लाखौँ बन्छन्, त्यत्रो बजारमा पुर्‍याउन गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘यस्तोमा फेस्टिबल नै हाम्रो प्लाटफर्म हुन्। त्यहाँसम्म जानका लागि मेकरहरूको सोच हुनुपर्‍यो।’

केहीसमयअघि मीन भामको ‘साम्बाला’ बर्लिन फेस्टिभलमा भिडेको थियो। यसरी बर्लिनमा मुख्य विधामा प्रतिस्पर्धा गर्ने ‘साम्बाला’ पहिलो नेपाली फिल्म हो। थोरै फरक ढङ्गले सोच्दा अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको राम्रो सम्भावना रहेको दयाहाङ बताउँछन्।

‘साम्बालाले गरेको छ त। त्यहाँ इन्डिया पनि पुगेको छैन। साम्बालालाई लोकार्नोमा ७० हजार दर्शकले हेर्दैछन्। हामी त धेरै माथि पुगिसक्यौँ,’ उनी भन्छन्, ‘सेतो सूर्यलाई पनि युनिभर्सिटीहरूले लाइब्रेरीमा राखेका छन्। हामी यतै रमाइरहेका छौँ। तर, बजार यति मात्रै होइन नि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .