बागमती प्रदेशमा आज (सोमबार)देखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ।
बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू हुन लागेको हो। यस अवसरमा बागमती प्रदेश सरकारले आज बागमती प्रदेशभर सार्वजनिक बिदा हुने घोषणा गरेको छ।
२३ कात्तिक २०८० मा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन भएको थियो। त्यसको १८० दिनपछि सोमबारलाई भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले ती भाषा सरकारी कामकाजको रुपमा कार्यान्वयनको औपचारिक आररम्भ गर्न लागेको हो।
यसै अवसरमा सोमबार बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुँदैछ। बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा हुने कार्यक्रममा नेवार र तामाङ समुदायका झाँकीसहितको र्याली निकाल्ने तयारी छ।
अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपाल भाषा पनि लेखिने छ।
Shares
प्रतिक्रिया