अनलाइन तथा युट्युब च्यानल सिधाकुराविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा अघि बढेको छ।
अधिवक्ता अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलनासम्बन्धी थप मुद्दा पनि सर्वोच्चले अघि बढाएको हो।
उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।
सर्वोच्च अदालतमा सिधाकुरा डट कम अनलाइन र युट्युब च्यानलको टिमसँग बयानको क्रम भोलि पनि चल्ने भएको छ।
यसअघि सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अघि बढाएको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ।
न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा गत बिहीबार र शुक्रबार क्रमशः सिधाकुराका युवराज कँडेल र नवीन ढुंगानाको बयान भएको थियो।
आज विवादित अडिओको स्रोत मानिएका ललितपुरका राजकुमार तिमिल्सिनालाई समेत झिकाएको छ। उनको बयानपछि अदालतले आरोपितका तर्फबाट बहस सुनेर आदेश गर्नेछ।
‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रसारित अडिओ र त्यसका आधारमा उत्पादित अन्य सामग्री विवादित भएपछि सर्वोच्चले सिधाकुरा टिममाथि कारबाही अघि बढाएको थियो।
सर्वोच्चले ती विवादित सामग्री २४ घण्टाभित्र हटाउन भनेको थियो। सिधाकुरा टिमले भने त्यसअघि नै युट्युबबाट सामग्री हटाइसकेको थियो।
यस्तै उक्त अडिओबारे फौजदारी कसुरमा कारबाही अघि बढाएर १५ दिनभित्र प्रगति प्रतिवेदन दिन पनि सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरिसकेको छ।
नेपाल पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वोच्चको यो आदेश प्रेस स्वतन्त्रतामा हस्तक्षेप भनी विरोध जनाएका छन्।
Shares
प्रतिक्रिया