ad ad

सुदूरपश्चिम


एमालेलाई हराएका जोशी, एमालेकै समर्थनमा बने मन्त्री

जो सधैँ भीम रावलको छायामा परे
एमालेलाई हराएका जोशी, एमालेकै समर्थनमा बने मन्त्री

गोकुल जोशी
फागुन २४, २०८० बिहिबार ८:३५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकामध्ये एक नेता हुन्- भानुभक्त जोशी। उनले बुधबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा मन्त्री बनेका जोशीले बुधबार पद तथा गोपनीयताको शपथ खाएका हुन्। 

जोशीले मन्त्रालयको जिम्मेवारी सम्हालेको यो दोस्रोपटक हो। त्यो पनि एमालेले सर्मथन गरेको प्रचण्ड नेतृत्वको सरकारमा।

यसअघि उनी वनमन्त्री बनेका थिए। 

बझाङमा तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता जोशीले एमाले उम्मेदवारलाई स्तब्ध पार्दै संसद् यात्रा तय गरेका थिए। जोशीले त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र ऐन महरलाई हराएका हुन्।

महर तिनै व्यक्ति हुन्, जसले पहिलो संविधानसभा चुनावमा एमालेबाट उम्मेदवार बनेका जोशीलाई जिताउन मत मागेका थिए। 

एमालेमा हुँदा सुदूरपश्चिमका पाका नेता हुन्- जोशी। नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुँदा १० बुँदे सहमतिसँगै उनी एमालेमै बसेका थिए। 

तर त्यसको केही समयपछि सहमति कार्यान्वयन नभएको भन्दै उनी एकीकृत समाजवादीमा समावेश भएका हुन्।

 जोशीलाई त्यतिबेला नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको इन्चार्ज नै बन्नेगरी वरीयता दिइएको थियो। तर उनी एमालेबाट एकीकृत समाजवादीतिर ढिला आउँदा गरिमा शाहलाई इन्चार्ज बनाइसकिएको थियो।

एमालेमा हुँदा जोशी सधैँ भीम रावलको छायामा परेको नेताहरू बताउँछन्।

जोशीनिकट एक नेताका अनुसार भीम रावल र भानुभक्त जोशीबीच एमालेमा सुदूरपश्चिम इन्चार्जका लागि सधैँ आन्तरिक संघर्ष हुने गरेको थियो। तर रावलको छायामा परेर जोशी राजनीतिक रुपमा अगाडि बढ्न नपाएको ती नेताको दाबी छ। 

एमालेमा हुँदा माधव नेपाल समूहमा रहेका जोशी एमाले महाधिवेशनका बेला अध्यक्षमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदा ओलीतिर लागेका थिए। 

जोशी बझाङमा २०४८ सालदेखि चुनाव लडिरहेका पुराना नेता हुन्। संसदीय राजनीतिमा तीनपटक सफल भएका जोशी पार्टीभित्रको राजनीतिमा भने ‘फ्लप’जस्तै मानिन्छन्।

जोशीले बझाङमा एक पटक संसदीय चुनावमा हार पनि बेहोर्नुपरेको छ। ०४८ मा दुई निर्वाचन क्षेत्र रहेको बझाङमा १ बाट लडेका जोशी कांग्रेसका अर्जुनजंग बहादुर सिंहसँग हारेका थिए।

०५१ मा उनै सिंहलाई हराउँदै जोशीले पहिलोपटक संसदीय यात्रा तय गरे।  त्यसपछि ०५६ मा एमालेबाट यो क्षेत्रमा अर्जुन थापा चुनाव लडे। तर कांग्रेसका अर्जुनजंग बहादुर सिंहसँग हारे। 

त्यसपछि ०६४ को पहिलो संविधान सभा चुनावमा लडेका जोशीसँग कांग्रेसका अर्जुनजंग बहादुर सिंह हारे। यसैबेला जोशीले वनमन्त्रीको जिम्मेवारी पाएका थिए।

०६४ पछिका दुई चुनाव नलडेका जोशी ०७९ को चुनावमा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिस्पर्धा गर्दै एमालेकै उम्मेदवारलाई हराएर ‘ह्याट्रिक’ गर्दै संसद् पसेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .