बैतडीमा तीन हप्ताअघि करेन्ट लागेर एक बालकको मृत्यु भएको घटनालाई लिएर सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाल विवादमा तानिएका छन्।
पालकै गृहजिल्ला बैतडीमा भएको घटनालाई लिएर अभियन्ता खगेन्द्र सुनारले बिहीबार सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेखेपछि त्यसबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
‘हिँड्ने बेला दलितले बाटो काटेको भन्दै मन्त्रीले गाडी हाँकेर बालक किचेको, हत्या सार्वजनिक गरे बलात्कार गरेर मार्ने धम्की दिएको र घटना मिलाउन पीडितको खातामा ५ लाख हालेको,’ आरोप सुनारले लगाएका छन्। प्रहरीले मुद्दा लिन नमानेको पनि उनले लेखेका छन्।
तर, मन्त्री पालको सचिवालयले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको छ। सुनारको टिप्पणी निराधार र तथ्यहीन कुप्रचार भन्दै यसबारे साइबर ब्युरोमा उजुरी दिने सचिवालयको भनाइ छ।
के हो घटना?
गएको साउन १७ गते बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोलीको करेन्ट लागेर मृत्यु भयो। थुपारेर राखेको बालुवाको ढिस्कोमा खेल्ने क्रममा बिजुलीको तारमा लागेर उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार १७ साउनमा साढे २ बजेतिर करेन्ट लागेर घाइते भएका बालकको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको थियो।
पोस्टमार्टम रिपोर्टले पनि ती बालकको करेन्ट लागेर मृत्यु भएको देखाएको प्रहरी निरीक्षक बडुले बताए। उनका अनुसार त्यसको अर्को दिन बेलुकी कोलीका बाजेले शव बुझेका थिए।
घटनाको अर्को दिन नेपाली कांग्रेस डिलासैनी गाउँ कार्यसमितिले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेको थियो।
मन्त्री पालको संलग्नतामा गैरकानुनी उत्खनन् गरेर थुपारिएको बालुवाको ढिस्कोका कारण करेन्ट लागेर बालकको मृत्यु भएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा आरोप लगाइएको थियो।
‘मन्त्री पालको प्रत्यक्ष संरक्षणमा चमेलिया नदीबाट जेसीबी, स्काइभेटर प्रयोग गरी साउन महिनाको वर्षायाममा गैरकानुनी तरिकाले बालुवा उत्खनन् गरिएको थियो। सोही उत्खननका कारण बालुवाको थुप्रो जमाइएको र त्यसले विद्युत प्रवाहलाई सहजै जोखिममा पारेको अवस्थामा कोलीको ज्यान गएको हो,’ सभापति जयानन्द जोशी जयराजले हस्ताक्षर गरेको विज्ञप्ति भनिएको थियो।
घटनापछि रातारात बालुवा हटाउने, प्रमाण नष्ट गर्ने र पीडित परिवारमाथि पाँच-सात लाख रुपैयाँ दिने प्रलोभनसहित दबाब दिने प्रयास भएको विवरण सार्वजनिक रूपमा उजागर भएको उल्लेख थियो।
डिलासैनी गाउँपालिका–३ का वडाध्यक्ष रघुवीर बोहराले मृतक बालककी आमा राजमतीको नाममा ५ लाख रुपैयाँ जम्मा गरे।
करेन्ट लागेर मृत्यु भएका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको डिलासैनी गाउँपालिका–३ का अध्यक्ष बोहराले बताए।
‘पीडितको परिवार विपन्न छ। त्यसैले हामीले आर्थिक संकलन गरेर पैसा दिएका हौं,’ उनले भने।
उनका अनुसार, मृतक बालक कोलीका बुवाको केही वर्षअघि मृत्यु भएको थियो।
भौतिक पूर्वाधार मन्त्री पालका स्वकीय सचिव रमेश बोहराले अहिले लगाइएको आरोपबारे कानुनी उपचारमा जाने बताए।
‘यो सबै तथ्यहीन, निराधार र अनर्गल प्रचार हो। हामी यसको कानुनी उपचारमा जान्छौं,’ उनले भने, ‘मन्त्रीज्यू २८ असारमा बैतडीबाट धनगढी फर्किनुभएको छ। त्यसपछि त्यहाँ जानु नै भएको छैन। अनावश्यक मानमर्दन गर्ने काम भइरहेको छ।’
करेन्ट लागेको घटनालाई बंग्याएर कपोकल्पित, भ्रामक र पार्टीप्रति उत्पीडित दलित समुदायको लोकप्रियता खल्बलाउने प्रयत्नस्वरूप जातीय रङ दिन खोजेको भन्दै बैतडी एमाले पनि सुनारलाई कारबाही गर्न माग गरेको छ।
पीडित परिवार भन्छः प्रहरीले जाहेरी लिएन
मृतक बालकको परिवारले खेल्न गएको बच्चाको लापरबाहीपूर्ण तरिकाले थुपारिएको बालुवाका कारण करेन्ट लागेर ज्यान गएको भन्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेको छ।
‘खेल्न गएको बच्चाको लापरबाही तरिकाले थुपारिएको बालुवाका कारण करेन्ट लागेर ज्यान गयो,’ मृतक बालकका काका तुलारामले भने, ‘हामीलाई पैसा खातामा राखेको थाहा नै थिएन। वडाध्यक्षज्यूले केही दिनपछि आफैँले भन्नुभयो। हामीले त्यो पैसा प्रयोग गरेका छैनौँ। हामीलाई न्याय चाहियो।’
मन्त्री पाल, डिलासैनी–३ का मुकेशबहादुर पाल र डिलासैनी–३ का अध्यक्ष रघुवीर बोहराविरुद्ध जाहेरी दिन खोजे पनि दर्ता नभएको मृतक तुलारामको दाबी छ।
उनका अनुसार उनीहरू जाहेरी दिन केही दिनयता बैतडी सदरमुकाममा छन्।
‘हामी प्रशासनमा गयौँ। इलाका प्रहरी कार्यालय पाटन पनि गयौँ। जोहरी कसैले लिएन। अहिले हुलाकबाट पठाएका छौँ,’ उनले भने, ‘हामीलाई न्याय चाहियो। घटनाको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ।’
Shares

प्रतिक्रिया