सुदूरपश्चिम


दुई दशकदेखि नेपालको प्याराताल भारतको कब्जामा

लालपुर्जा आफूसँग भए पनि जग्गा भोगचलन गर्न नपाएको नेपालीको गुनासो
दुई दशकदेखि नेपालको प्याराताल भारतको कब्जामा

भारतीय पक्षको अतिक्रमणमा परेको नेपालको प्याराताल


गोकुल जोशी
साउन ४, २०८२ आइतबार १०:५१, कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिका-९ स्थित प्याराताल २०६१ सालयता भारतको अतिक्रमणमा छ।

५ किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्भे टोलीले गरेको लापरबाहीका कारण भारतको कब्जामा पुगेको हो।

भारतीय पक्षको अतिक्रमणमा परेको नेपालको प्याराताल

दुवै देशबाट खटिएको संयुक्त टोलीले सर्भे गर्दा नेपालका तर्फबाट सर्वेक्षकमा मधुकर मास्के थिए।

सर्भे गर्ने संयुक्त टोलीले त्यतिबेला भारतको पलियामा बसेर स्थलगत अध्ययनबेगर नै सीमा निर्धारण गरेको स्थानीयको दाबी छ। एक्कासि पिल्लर गाड्दा मात्र आफूहरूले थाहा पाएको उनीहरूको भनाइ छ।

प्याराताल क्षेत्र

‘त्यतिबेला देश आन्दोलनमा थियो। भारतले प्यारातालसहित करिब ५/६ बिगाह जमिन आफ्नोमा पर्ने गरी रातारात जंग पिल्लर बनायो,’ पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नरबहादुर विकले भने, ‘पछि जनता उर्लिएर पिल्लर भत्कायौँ।’

उनका अनुसार अहिले पनि भारतले नेपाली भूमिमा आँखा गाड्ने गरेको छ। बिचफाँटास्थित प्यारातालको पारिपट्टि करिब दुई सय मिटर पर नेपाल–भारत सीमास्तम्भ (१९५ नम्बर)  छ।

वर्षौंदेखि ढलेको अवस्थामा रहेको यो पिल्लर उठाउने र सिमाना व्यवस्थित गर्नेतर्फ राज्यले ध्यान नदिएको स्थानीयको गुनासो छ। 

भारतीय कब्जामा नेपालको प्याराताल क्षेत्र।

भारतीय पक्षसँग समन्वय गरेर १९५ नम्बर पिल्लर व्यवस्थित गर्न सके धेरै समस्याको समाधान हुने स्थानीय बताउँछन्।

सो क्षेत्रमा अहिले भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई जान दिँदैनन्। अहिलेको नयाँ पिल्लर प्यारा तालदेखि ५०० मिटर नेपाली भूभागतर्फ राखिएको छ। 

भारतीय पक्षले पिल्लर नं. १९४ र अहिलेको नयाँ गाडिएको १९५ पिल्लरको बीचमा १ किलोमिटर नेपाली भूभाग कब्जा गरेको छ। जसमा नेपाली नागरिकका २ बिघा जग्गासमेत पर्छ। लालपुर्जा आफूसँग भए पनि भोगचलन गर्न नपाएको स्थानीय गुनासो गर्छन्। 

प्याराताल

जनस्तरबाट आर्थिक संकलन गर्दै पुनर्वास क्षेत्रका पत्रकार दीपेन्द्र बस्नेतले प्यारातालको संरक्षणमा लागे। प्याराताल क्षेत्रमा विभिन्न संरचना बनाउन उनले पहल कदमी लिए। 

प्याराताल परिसरमा तालको पहिचान झल्कने माछा, कछुवा र ओदको प्रतिमा निर्माण गरिएको छ। सेल्फी स्पट, पानीको फोहरा, पिकनिक स्पट, गोही र मयुरको प्रतिमा पनि बनाइएका छन्। 

प्याराताल क्षेत्र

जैविक विविधताले भरिपूर्ण प्यारा ताल अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।

बस्नेतले सुरु गरेको प्याराताल संरक्षणको नागरिक अभियानलाई अहिले वडा र स्थानीयले तहले पनि सघाएको छ। संरचना निर्माणका लागि पुनर्वास नगरपालिका ९ वडा कार्यालय र नगर पालिकाले बजेट नै विनियोजन गरेर संरचना बनाउनमा सघाएका हुन्।

प्याराताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न र भारतीय अतिक्रमणबाट जोगाउन नगरपालिका लागिपरेको नगर प्रमुख तोयप्रसाद शर्माले बताए। 

‘संरचना निर्माणमा भारतले अवरोध गर्ने गरेको छ। संरचना बनाउँदा समस्या आइरहन्छ। प्रशासनसँगको समन्वयमा अहिले भने केही व्यवधान भएन,’ उनले भने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad