सुदूरपश्चिम


सुदूरपश्चिमका २४ क्याम्पसमा स्ववियु चुनाव: कांग्रेसले १५ अध्यक्ष जित्दा समाजवादीले खाता खोल्यो

सुदूरपश्चिमका २४ क्याम्पसमा स्ववियु चुनाव: कांग्रेसले १५ अध्यक्ष जित्दा समाजवादीले खाता खोल्यो

नेपालखबर
चैत ७, २०८१ बिहिबार १२:९, कञ्चनपुर

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुदूरपश्चिमका २४ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैभन्दा बढी नेतृत्व नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जितेको छ।

सुदूरपश्चिमका ६ जिल्लामध्ये कैलालीका ९, कञ्चनपुरका ६, बझाङ र बैतडीका ३/३, डोटीका २ र डडेल्धुराको १ क्याम्पसमध्ये १३ वटामा नेविस‌ंघ एक्लैले र २ वटामा नेविसंघ नेतृत्वकै  संयुक्त प्यानलले अध्यक्ष पद जितेको हो। 

बाँकी क्याम्पसमध्ये माओवादी केन्द्रको अखिल क्रान्तिकारीले ६, एमालेको अनेरास्ववियुले २ र एकीकृत समाजवादीको अनेरास्ववियूले १ कलेजमा अध्यक्ष पद जितेका छन्।

हेर्नुहोस् जिल्लागत विवरण-

कञ्चनपुर: नेविसंघ ४ 
कञ्चनपुरका ६ कलेजमध्ये ४ वटामा नेविसंघ र २ वटामा अखिल क्रान्तिकारीले अध्यक्ष पद जितेका छन्। 

जसअनुसार पुनर्वासको जनता बहुमुखी क्याम्पसमा नेविसंघका विकास खड्का प्यानलसहित विजयी भएका छन्। सचिवमा एकेन्द्रसिंह ठकुरी, कोषाध्यक्षमा जानकी कुमारी उपाध्याय र सदस्यहरूमा पूजा विष्ट, सरिता ऐरी, करुणा लुहागन् निर्वाचित भएका छन्। 

बेलडाँडीको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा पनि नेविसंघ प्यानलसहित विजयी भएको छ। नेविसंघका मोहन जैसी ६२ मतसहित अध्यक्षमा विजयी भएका हुन्।

यस्तै सचिवमा विनिता साउद, कोषाध्यक्षमा शर्मिला जोशी र सदस्यहरूमा नरेन्द्र उपाध्याय, रामबहादुर दमाईं र धनु उपाध्याय निर्वाचित भएका छन्।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा १२१ मतदाता रहेकामा ९४ विद्यार्थीले मात्र मतदान गरेका थिए।

बेलौरी नगरपालिका-८ कलकत्ताको रामपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित भइन्। अन्य पदाधिकारी र सदस्यमा अखिल क्रान्तिकारीकै उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए।

उक्त क्याम्पसमा १४ मतदाता विद्यार्थी रहेकामा १३ मत मात्र खसेको थियो। रविना ८ मत प्राप्त गरेर विजयी भएकी हुन्।

कैलाली: नेविसंघ ४, क्रान्तिकारी ३ 
कैलालीको फूलबारी बहुमुखी क्याम्पसमा नेविसंघका संयुक्त उम्मेदवार भुवनराज जैशी अध्यक्ष निर्वाचित भएका छन्।

महुन्याल बहुमुखी क्याम्पस भजनीमा नेविसंघकै झंकर बुढा, रघुनाथ आदर्श बहुमुखीमा रञ्जित परियार, वीरेन्द्र विद्या मन्दिरमा गोपाल खत्री र ऐश्वर्य बुहुमुखी क्याम्पसमा दीपकराज भट्ट अध्यक्षमा विजयी भएका छन्। 

यस्तै, लम्की बहुमुखीमा अखिल क्रान्तिकारीका तपेन्द्र प्याकुरेल, राष्ट्रिय कलेज सुख्खडमा अखिल क्रान्तिकारीकै सुन्दर गौतम र बुलबुले क्याम्पसमा विवेक चौधरी अध्यक्षमा निर्वाचित भएका छन्।

कैलालीको खप्तड बहुमुखी क्याम्पस मसुरियामा अनेरास्ववियु क्रान्तिकारीका सागर चौधरी अध्यक्षमा विजयी भएका छन्।

डोटी: नेविसंघ र क्रान्तिकारी
डोटीको डोटी बहुमुखी क्याम्पस सिलगढीमा नेविसंघका इन्द्र राणा स्ववियु अध्यक्षमा निर्वाचित भए। यस्तै, केदार सूर्य बहुमुखी क्याम्पस विपिनगरमा अखिल क्रान्तिकारीकी यशोदा बोहरा अध्यक्ष निर्वाचित भइन्।

डडेल्धुरा: नेविसंघ
डडेल्धुराको डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर अध्यक्षमा प्यानलसहित विजयी भए। 

बझाङ 
यहाँको त्रिवेणी आर्दश क्याम्पस बिजगडामा नेविसंघका चन्द्रा बोहरा अध्यक्षमा निर्वाचित भए। यस्तै सुनकुडा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका कपिल विष्ट र बझाङदीप क्याम्पस झोतामा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका सुरेशराज जैशी अध्यक्षमा निर्वाचित भए।

बैतडी
बैतडीको ग्रामप्रकाश बहुमुखी क्याम्पस सर्मालीमा नेविसंघकी उम्मेदवार कविता साउद अध्यक्ष निर्वाचित भइन्। श्रीकोट बहुमुखी क्याम्पस खोचलेकमा अनेरास्ववियुका निविन कपाडी अध्यक्ष निर्वाचित भए।

सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडीको अध्यक्षमा नेविसंघ र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार कृष्णसिंह रावल विजयी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad