कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० का गणेश सुनार व्यापार गर्छन्। भारतसँग सीमा जोडिएको १८ नम्बर पिलर बस्तीमा उनको पसल छ।
गत शनिबारयता गणेशले पसल चलाउन सकेका छैनन्। चैत १ गते राति भारतीय युवाहरूले उनको घर, पसलमा तोडफोड गरेर सामान र नगद लुटपाट गरे।
लुटपाटपछि गणेश आफ्नो कर्ममा फर्कन नसकेका हुन्। घरको छाना उडाइएको छ। भित्ता भत्काएर असरल्ल छ। पसल फुटालिएको छ।
‘त्रिपाल हालेर छानो बनाएर घर ओत लाग्ने जस्तो बनाएँ,’ गणेशले भने, ‘पसलको सामान र नगद पूरै लुटपाटपछि पसल त चलाउनै सकिएको छैन। जीविकोर्पाजन गर्ने स्रोत थियो, सबै सत्यनाश भयो।’
होलीको दिन केही भारतीय युवाबीच उनको पसल नजिकै विवाद भइरहेको थियो। गणेशले विवाद नगर्न भनेपनि उनीहरूले मानेनन्। त्यति बेलै सशस्त्र प्रहरी आएर उनीहरूलाई तितरवितर पार्न खोजे।
तर भारतीय युवाहरूले सशस्त्रलाई टेरेनन्। झन् सशस्त्रको हतियार खोस्न थाले। पछि सशस्त्रले लाठी चलाएपछि भारतीय युवा भागेका थिए।
‘उनीहरूलाई मैले प्रहरी बोलाएर कुटाएको भन्ने लाग्यो। त्यही झोकमा हतियारसहित ४०/५० जनाको हुल नै आएर आक्रमण गर्न थाले,’ गणेश भन्छन्, ‘हामीले त भागेर ज्यान जोगायौँ। सामान र नगद जोगाउन सकेनौँ। मार्ने उदेश्यले नै आएका रहेछन्। नभागेको भए ज्यानै रहने थिएन।’
गणेशको परिवारमा उनकी श्रीमती, ६ र साढे एक वर्षीया छोरी छन्। भारतीय युवा बञ्चरो, भाला लगायत हतियार लिएर आक्रमणका लागि आएपछि छोराछोरी लिएर गणेश परिवारले घरबाट भागेर ज्यान जोगाएका थिए।

गणेशले लिजमा जग्गा लिएर उखु खेती पनि गरेका छन्। उखु बेचेर आएको दुई लाख ८५ हजार रुपैयाँ उनले पसलमै राखेका थिए। भारतीयले उक्त रकम पनि लुटपाट गरेर लगेको गणेश बताउँछन्।
‘वर्षभरीको कमाइ सबै लगे। पसल पनि केही राखेनन्, अब के खाने? के गर्ने ?,’ उनले भने। भारतीय नागरिक राजेश राजवर, सञ्जयसिंह ठाकुर, हरी राजवर लगायतको समूहले गणेशको पसल लुटपाट गरेका हुन्।
१८ नम्बर पिलर बस्ती जोगबूढा नदी पारीको नेपालको पुछारको गाउँ हो। नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ साविकको १९ नम्बर नजिकै ७ परिवार नेपाली बसोबास गर्छन्। यो बस्तीमा तीन पुरुष, महिला र बालबालिका मात्रै घरमा छन्। बस्तीका अन्य पुरुष रोजगारीका लागि भारततिर छन्।

१८ नम्बर पिलर बस्ती पारी भारततर्फ उत्तरप्रदेशको बोदीपुर गाउँ छ। बेला बेला भारतीयले नेपालमा आएर ज्यादती गर्ने गरेको स्थानीय डम्बर बुढा बताउँछन्।
‘लुटपाट भएको यो पहिलो घटना होइन, यस्ता घटना धेरै भइसके। भारतीयले नेपालतर्फ आएर दादागिरी देखाउँछन्,’ उनले भने, ‘यो बस्तीमा पुरुष पनि कम छन्। भारतीयले डराइधम्काइ गरिराख्छन्। सीमामा बस्ने हाम्रो पीडा सरकारले सुन्दैन।’
भारतीयको लुटपाटपछि १८ नम्बर पिलरबासी आतंकित छन्। सरकारले सीमामा हुने यस्ता घटना रोक्नुपर्ने उनीहरूको माग छ।
‘कुन बेला के गर्छन् ? केही अत्तोपत्तो छैन,’ स्थानीय तीर्थबहादुर बुढा भन्छन्, ‘सीमामा सुरक्षा चुनौती छ। भारतीयको आतंकले आफ्नै भूमिमा त्रासमा बस्नु परेको छ।’

Shares

प्रतिक्रिया