सुदूरपश्चिम


अस्पताल लैजान ढिला गर्दा बाटोमै जन्मियो शिशु, तर बाँचेनन् आमाछोरा

अस्पताल लैजान ढिला गर्दा बाटोमै जन्मियो शिशु, तर बाँचेनन् आमाछोरा

गोकुल जोशी
पुस २३, २०८१ मंगलबार २०:१३, कञ्चनपुर

बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सुनिता बोहरा गर्भवती थिइन्। उनलाई आइतबार दिउँसोदेखि प्रसुति व्यथा लाग्यो। परिवारले सामान्य ठानेर त्यो दिन अस्पताल लगेनन्। राति सुनितालाई व्यथाले च्याप्यो।

अर्को दिन सोमबार बिहान ५ बजे नै परिवारले उनलाई अस्पतालतर्फ लग्यो। केदारस्युँ गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर भण्डारीका अनुसार प्रसुती व्यथा लागेकी सुनितालाई हिँडाएरै अस्पताल ल्याउन लागिएको थियो। घरबाट करिब १० मिनेटको पैदल यात्रापछि सुनिताले बाटोमै शिशुलाई जन्म दिइन्।

तर उनलाई तीव्र रक्तश्राव थियो। प्रसुतीपछि गम्भीर सुनितालाई नजिकै रहेको वडा सदस्य पदम प्रसाद भट्टको घरमा लगियो। शिशु र महिलाको अवस्था गम्भीर भएपछि भट्टले एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई खबर गरे।

डुडिलका स्थानीय स्वास्थ्य सेवाका लागि देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्र र केदारस्युँ–९ को भैरवनाथ स्वास्थ्य केन्द्रमा जाने गर्छन्। देउरा पुग्न करिब ८ किलोमिटर र भैरवनाथ पुग्न करिब ३ किलोमिटर यात्रा गर्नुपर्छ।

यी स्वास्थ्य केन्द्र जयपृथ्वी राजमार्गमा पर्छन्। राजमार्गबाट ग्रामीण क्षेत्रमा रहेको डुडिल गाउँ सडक सञ्जालसँग जोडिएको छ। त्यहाँ गाडी पनि चल्ने गर्छन्।

सुनिता र नवजात शिशुलाई रायल स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

ढिलो गरेर अस्पताल पुर्‍याउँदा तीव्र रक्तस्रातले गर्भवतीको मृत्यु भएको वडाध्यक्ष भण्डारी बताउँछन्।

‘अस्ती नै व्यथा लागेको रहेछ। अस्पताल ल्याउन ढिलो गर्नुभयो। हामीलाई पनि खबर गर्नुभएन,’ उनले भने, ‘समयमै अस्पताल पुर्‍याउन सकिएको भए यस्तो घटना हुने थिएन।’

उनका अनुसार गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ। आफूहरुले जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीसहित एम्बुलेन्स लगेर महिला र शिशुलाई अस्पताल ल्याएको उनले बताए।

सुनिताका श्रीमान् उमेश भारतमा छन्। आर्थिक अवस्था कमजोर भएका उनी घरखर्च जोहो गर्न ८ महिनाअघि भारत गएका थिए।

डेढ वर्षअघि बिहे गरेका उमेशले पहिलो सन्तानको रुपमा छोरा घर भित्र्याउन पाएनन्। उनले श्रीमती सुनिताको अनुहार पनि हेर्न पाएनन्।

अशिक्षा र आर्थिक अवस्था कमजोर तथा गतिलो स्वास्थ्य सेवा नहुँदा सुदूर पहाडको ग्रामीण क्षेत्रमा प्रसुति व्यथाले च्यापेर बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ। केदारस्युँ गाउँपालिका–६ मै गत वर्ष पनि सुत्केरी महिला र शिशुले बाटोमै ज्यान गुमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad