सुदूरपश्चिम


रावललाई स्पष्टीकरण सोध्ने निर्णयले कार्यकर्ता आक्रोशित, भेलामा जान रोकिए प्रदेश अध्यक्ष र इन्चार्ज

रावललाई स्पष्टीकरण सोध्ने निर्णयले कार्यकर्ता आक्रोशित, भेलामा जान रोकिए प्रदेश अध्यक्ष र इन्चार्ज

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १९:५३, कञ्चनपुर

नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीनिकट कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

रावलको गृहजिल्ला अछाममा सोमबार उनीहरूले स्पष्टीकरण सोध्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयको विरुद्धमा नाराबाजी गरे।

एमाले सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट अछाममा रावल पक्षधरकार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

रावल निकट कार्यकर्ताले विरोध गर्ने सुइँको पाएपछि संस्थापननिकट जिल्ला र प्रदेश तहका नेताहरू कार्यक्रममै उपस्थित भएनन्।

सोमबार एमालेको साँफेबगर नगर कमिटीले नेता तथा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र जिल्ला इन्चार्ज झपट बोहरा पनि सहभागी हुने कार्यक्रम थियो।

प्रदेश अध्यक्ष जैशी सोमबार साँफेबगर पुगेका थिए। आक्रोशित रावल निकट कार्यकर्ताले विरोध गर्ने सुइँको पाएपछि प्रदेश अध्यक्ष जैशी र अछाम इन्चार्ज कार्यक्रममै सहभागी नभएका हुन्।

साँफेबगरमा विरोध प्रदर्शन गर्दै रावल निकट कार्यकर्ताले स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन माग गरे। प्रदेश अध्यक्ष जैशीले केही समयअघि रावलविरुद्ध विज्ञप्ति निकाल्दै पार्टीको तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका थिए।

त्यसमा पनि असन्तुष्ट रावल निकट कार्यकर्ताले प्रदेश अध्यक्ष जैशीलाई लक्षित गरेर कार्यकर्ता भेलामा विरोध गर्ने तयारी गरेका थिए। प्रदेश अध्यक्ष जैशी र जिल्ला इन्चार्ज बोहराको अनुउपस्थितिमै साँफेबगर कमिटी बैठक बसेको थियो।

एमाले सचिवालयको आइतबार ललितपुरको च्यासलस्थित मुख्यालयमा बसेको बैठकले नेता रावलसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad