सुदूरपश्चिम


झिटीगुन्टा बोकेर देश फर्किनेहरू भन्छन्– भारतमा दुःख छ, चाड सकेर फेरि जानु छ

झिटीगुन्टा बोकेर देश फर्किनेहरू भन्छन्– भारतमा दुःख छ, चाड सकेर फेरि जानु छ

गोकुल जोशी
असोज २२, २०८१ मंगलबार १६:३४, कञ्चनपुर

भारतबाट नेपाल प्रवेश गर्ने पश्चिम सीमानाकामा अहिले बेग्लै चहलपहल छ। भारतबाट नेपाल भित्रिनेहरू सबैका हातमा झोलीझिम्टा छन्। उनीहरू थकित छन्, तैपनि मुहारमा उत्साह देखिन्छ। कोही नाकामा नाम टिपाइरहेका छन्, कोही पर्खाइमा।

हतरपतर गर्दै गन्तव्यतर्फ पाइला सार्न र गाडी छोप्न आतुर देखिन्छन्, उनीहरू। दसैँ मनाउन थतथलो फर्किनेको यस्तै दृश्य देखिन्छ, कञ्चनपुरको गड्डाचौकीमा।

बाजुराको खप्तड छेडेदहका जनक बुढा भारतबाट फर्किनेको भीडमै भेटिए। साथमा उनकी श्रीमती पनि थिइन्। सानो दुधे बालक काखी च्यापेर उनीहरू दसैँ मनाउन घर फर्किरहेका हुन्।

‘खर्च जोहो गरेर परिवारसँग गाउँमै दसैँ मनाउन घर फर्किएँ। वर्षमा एकपटक आउने चाडबाड परिवारसँग मनाउन पाउँदा आनन्द लाग्छ,’ उनले भने, ‘गाउँमा रोजगारी केही छैन। कामको खोजीमा भारत जानुपर्छ।’

मीनराज भारतको केदारनाथमा गाडी चालकको काम गर्छन्। एक वर्ष भारतमा काम गरेर दसैँको उत्साह बोकी घर फर्किएका हुन्। चाडपर्वका बेला घर फर्कने क्रममा भारतमा नेपाली समस्यामा पर्ने गरेको उनी बताउँछन्।

‘भारतीयले सय रुपैयाँ भनेको ठाउँमा पछि दुई सय रुपैयाँ लिन्छन्। खानामा पनि चर्को रुपैयाँ लिन्छन्,’ उनले भने, ‘कतिपय नेपाली नै मिलेर नेपालीलाई लुट्ने गरेका छन्।’

सुर्खेतका शीतल गिरी उत्तराखण्डको हिमाचलमा स्याउ टिप्ने काम गर्थे। स्याउ टिपेर खर्च जोहो गरी चाडपर्व मनाउन अहिले घर फर्किएका छन्।

‘श्रमअनुसार पैसा पाइँदैन। आफ्नो देशमा रोजगारी नहुँदा जति ज्याला पाइयो, त्यतिमै चित्त बुझाएर काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘काम नगरे परिवार पाल्न सकिँदैन। के गर्नु? पेट पाल्न जस्तो काम पाए पनि गर्नैपर्छ।’

सुर्खेतकै पारस गिरी सरकारले आफूहरूको समस्या नबुझेको गुनासो गर्छन्। स्वदेशमै रोजगारी पाए अर्काको देशमा श्रम बेच्नुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।

चडबाड सकेर फेरि कामको खोजीमा भारत जाने सोचमा छन्, उनी। स्वदेशमै रोजगारी पाए भारत नजाने उनी बताउँछन्।

‘घरमा बसेर केही छैन। परिवार पाल्नै सकिँदैन। त्यसैले जीवन निर्वाह गर्न भारत जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘गुजारा चलाउन स्वदेशमै काम पाए फेरि भारत जान्नँ।’

अछामका हरेन्द्र धामीले उत्तराखण्डको पौडी गढवालमा खानेपानीको पाइप बिछ्याउने काम ज्यालादारीमा गरे। रोपाइँ सकेर साउनमा उनी कामको खोजीमा त्यहाँ पुगेका थिए। चाडपर्वसँगै गाउँमा खेतीपातीको समय नजिकिएपछि उनी घर फर्किएका हुन्।

खेतीपाती सकेर हरेक वर्ष मजदुरीका लागि भारत जाने गरेको उनी बताउँछन्। ‘मजदुरी गरेर दैनिक ४ सयदेखि ५ सयसम्म पाइन्थ्यो, खाने र बस्ने खर्च कटाएर २०/२५ हजार बचाएँ,’ उनी भन्छन्, ‘चाडबाडपछि खेतीपाती गरेर फेरि भारततिर जान्छु।’

चाडपर्व नजिकिएसँगै मजदुरी गर्न भारतका विभिन्न ठाउँ गएका नेपाली फर्कन थालेपछि नाकामा चाप बढेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दा स्वदेशमा रोजगारी नपाएपछि परिवारको गर्जो टार्न मजदुरी गर्न भारतका विभिन्न ठाउँमा जान बाध्य छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार गड्डाचौकी नाकाबाट अहिले प्रत्येक दिन एक हजार भन्दा बढीको संख्यामा नेपाल भित्रिरहेका छन्। यात्रुहरूको सहायताका लागि नाकामा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad