ad ad

सुदूरपश्चिम


उत्तराखण्ड : दिनभरको कामपछि २ छाप्रामा सुत्थे ७ नेपाली, तर ४ जनालाई पहिरोले पुर्‍यो त्यस राति

आँखैअगाडि ३ नातेदार र १ सहकर्मी गुमेपछि शोकमा छ गोपाल सार्कीको परिवार
उत्तराखण्ड : दिनभरको कामपछि २ छाप्रामा सुत्थे ७ नेपाली, तर ४ जनालाई पहिरोले पुर्‍यो त्यस राति

घटनास्थल


गोकुल जोशी
भदौ ८, २०८१ शनिबार १०:५१, कञ्चनपुर

भारतस्थित उत्तराखण्डको केदारनाथनजिक पर्ने फाटा भन्ने ठाउँमा बिहीबार दिउँसोदेखि नै पानी परिरहेको थियो। 

जहाँको हेलिप्याड क्षेत्रमा ७ जना नेपाली डकर्मी काम गर्थे। दिनभरि काम गरेपछि उनीहरू सडकछेउमै बनाइएका अलग-अलग २ छाप्रामा बास बस्थे। 

एउटा छाप्रोमा चितवनको माडी नगरपालिका-२ का गोपाल सार्की, उनका श्रीमती सरस्वती र ४ महिने शिशु बस्थे भने अर्कोमा गोपालकै नातेदार माडी नगरपालिका-२ कै तुलबहादुर परियार र कृष्णबहादुर परियार तथा दैलेखका दीपक बुढा सुत्थे। 

बुढा केही दिनअघि मात्रै त्यहाँ पुगेका थिए।

अलग-अलग छाप्रोमा बस्ने उनीहरू खाना भने सँगै खान्थे।

सदाझैँ बिहीबार बेलुका पनि खाना खाएर उनीहरू आआफ्ना छाप्रामा सुत्न गए।

तर त्यो रात अन्य रातजस्तो सामान्य रहेन। 

‘खाना खाएर सुतिसकेका थियौँ। छाप्रोभित्र पानी चुहिँदै थियो। त्यसमाथि बच्चा बेलाबेला बिउँझिरहेकाले निद्रा लागेको थिएन’, गोपालकी श्रीमती सरस्वतीले नेपालखबरसँग भनिन्, ‘मध्यरातमा बाहिर ठूलो आवाज आयो।’

यसपछि उनले श्रीमान् गोपाललाई उठाएर बाहिर हेर्न लगाए। तर उनले केही देखेनन्।

फेरि दुवै जना गएर हेर्दा आफ्नो छाप्रोको छेउमै रहेको अर्को छाप्रो ढुंगा र माटोले पुरिएको देखे। 

घटस्थाल

उनीहरूले हतार-हतार प्रहरीलाई खबर गरे। घटनास्थल आएको सुरक्षाकर्मी शुक्रबार बिहान मात्रै पहिरोबाट ४ जनाको शव निकाल्न सफल भए। 

मृतक चितवनको माडी नगरपालिका-२ का तुलबहादुर,  कृष्णबहादुर र पूर्ण नेपाली तथा दैलेखका दीपक बुढा पनि त्यही पहिरोमा अस्ताए। 

तुलबहादुर र कृष्णबहादुर मामा-भान्जा हुन् भने तुलबहादुर सरस्वती (गोपालकी श्रीमती) का मामा ससुरा हुन्।

उनीहरूको शव रुद्रप्रयाग अस्पतालमा पोस्टमार्टम गरिएको छ। चितवनका ३ जनाको शव आफन्तले घर ल्याउँदै छन्।

दैलेखका बुढाको परिवार लामो समयदेखि सोही क्षेत्रमा बसोबासरत रहेकाले अन्तिम संस्कार केदारनाथ क्षेत्रमै गर्ने तयारी छ।

नातेदार र सँगै काम गर्ने साथी गुमाएपछि गोपालको परिवार पीडामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .