ad ad

सुदूरपश्चिम


राखीको उल्लासमा थिए १० वर्षीय रोशन, हजुरआमा र आमासँगै दुई बहिनी गुमाउँदा विक्षिप्त छन्

राखीको उल्लासमा थिए १० वर्षीय रोशन, हजुरआमा र आमासँगै दुई बहिनी गुमाउँदा विक्षिप्त छन्

गोकुल जोशी
भदौ ३, २०८१ सोमबार २०:४९, कञ्चनपुर

गाउँ सहरमा रक्षा बन्धनको उल्लास थियो। दिदीबहिनीहरूले आफ्ना दाजु–भाइलाई दीर्घायू र सफलताको कामना गर्दै हातमा बन्धन बाँधे।

चाडको हर्षोल्लासमा हुँदा बझाङको बुंगल नगरपालिका–१० टुमेडा गाउँ भने शोकमग्न छ। आइतबार रातिको अविरल वर्षापछि आएको पहिरोमा च्यापिएर एकै परिवारका ४ जनाले ज्यान गुमाए।

चाडबाडकै दिन प्राकृतिक विपद्ले मानवीय क्षति गरेपछि गाउँ नै शोकमा डुबेको बुंगल नगरपालिका–१० का वडाध्यक्ष प्रेम ओखेडाले बताए।

टुमेडाका स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खस्यो। पहिरोले घर ध्वस्त मात्रै भएको छैन। चाडपर्वकै दिन श्रीमती, बुहारी र दुई नातिनी गुमाउनुको पीडा खेप्नु परेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राति १ बजे सुतिरहेको बेला घरमाथि पहिरो खसेर च्यापिँदा वीरबहादुरकी श्रीमती ५५ वर्षीया काले धामी, बुहारी २५ वर्षीया गोल्के धामी, नातिनीहरु ६ वर्षीया आकृति र ३ वर्षीया लक्ष्मी रहेनन्।

घरमा वीरबहादुरको ९ जनाको परिवार बस्थ्यो। दुई छोरामध्ये जेठा ३० वर्षीय उज्ज्वल घरमै थिए। कान्छा छोरा नवीन कामको शिलशिलामा भारतको बैङ्लोर छन्। घटनाको बारेमा सुनेपछि उनी घर फर्किरहेका छन्।

दुई छोरीमध्ये एउटीको बिहे भइसक्यो। कान्छी छोरी १६ वर्षीय कमला घरमै थिइन्। जेठी बुहारी ३५ वर्षीय गोल्के उनका तीन छोराछोरी र कान्छी बुहारी शान्ति पनि घरमै थिए।

पहिरोमा च्यापिने वीरबहादुरकी श्रीमती, जेठा छोरा उज्ज्वलकी श्रीमती गोल्के, छोरीहरू आकृति र लक्ष्मी हुन्। वीरबहादुरसहित ६ जनाले भागेर ज्यान जोगाए।

‘हालसालै घरमाथिबाट सडक खनिएको छ। सडकको तल माटोको ढिकजस्तो थियो। अविरल वर्षाले त्यो ढिक घरमाथि पर्‍यो,’ बुंगल नगरपालिका–१० का वडा सदस्य वीरबहादुर बाग भन्छन्, ‘घर पनि पूरै ध्वस्त छ।’

उनका अनुसार कान्छी बुहारी शान्तिले घरसँग जोडिएको सानो टिनको छाप्रोमा हुँदा भागेर ज्यान जोगाइन्। वीरबहादुर र छोरी कमला बिहानसम्म घरभित्रै फसेकै अवस्थामा थिए।

पछि सुरक्षाकर्मी र स्थानीयले उनीहरूको उद्धार गरेका थिए।

वीरबहादुर सोमबार घरमा पूजापाठ गर्ने तयारीमा थिए। त्यसैले आइतबार बेलुका बुंगल नगरपालिका–९ थकल्डाका पण्डित ७१ वर्षीय अम्बादत्त जोशी वीरबहादुरको घरमा पुगेका थिए। सुतिरहेको बेला पहिरो खस्दा जोशीले पनि राति भागेर ज्यान जोगाए।

पहिरोले दिएको नमेटिने बज्रपातले धामी परिवारको भविष्यका कलिला सपना र परिवारको सहारा चुँडियो।

बहिनीहरू आकृति र लक्ष्मी गुमाउँदा उज्ज्वलका छोरा १० वर्षीय रोशनलाई कहिल्यै नबिर्सिने दुखदायी पीडा व्यहोर्नु पर्‍यो। बहिनीको हातबाट रक्षा बाँध्ने उनको सपना अधुरै रह्यो। हात पनि खाली रह्यो।

मृतक ४ जनाको सोमबार स्थानीय बाइस धारा त्रिवेणी घाटमा सामूहिक अन्त्येष्टि गरिएको छ।

धामी परिवार पहिरोले घर बस्नै नमिल्ने हुँदा नजिकैको लीजमा लिएको अर्को घरमा बसेका छन्। खानाका लागि वडा कार्यालयले तत्कालका लागि खाद्यान्न उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .