ad ad

सुदूरपश्चिम


पहिरोले थुनिएका यात्रुलाई ‘अक्करे भिर’मा पछ्याउँदा... (भिडिओ)

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिजोग
पहिरोले थुनिएका यात्रुलाई ‘अक्करे भिर’मा पछ्याउँदा... (भिडिओ)

गोकुल जोशी
साउन २५, २०८० बिहिबार २१:५४, कञ्चनपुर

कैलालीको गोदावरी नगरपालिका–४ पर्ने बुढीतोला हुस्सुले ढाकिएको छ। राजमार्गमा गाडीहरुको लामै लाइन छ। तितरवितर छन्, यात्रुहरू।

उनीहरूको हातमा झिटिगुन्टा बोकेर गन्तव्यतिर जाने बाटो खोजिरहेका छन्। भीमदत्त राजमार्ग भएर कोही सुदूर पहाड उक्लिन खोज्दैछन् त कोही तराइ झर्न। 

बाटो बिग्रिदा स–साना बालबालिका, अशक्त र वृद्धवृद्धा यात्रुलाई सास्ती छ। बाटो नखुल्दा तरकारी कुहिएर यत्रतत्र फालिएको छ। 

केही व्यापारी भरिया लगाएर तरकारी तल झारिरहेका छन्। पहिरोका कारण २२ साउन रातिदेखि राजमार्ग अवरुद्ध छ। 

अविरल वर्षाले पहिरो खस्ने क्रम रोकिएको छैन। जेसिबीले पहिरो पन्छाउने काम चलिरहेको छ। 

पहिरोबीचै यात्रुहरु गन्तव्यतिर हानिन खोजिरहेका छन्। तर ट्राफिक र जनपद प्रहरीले जोखिमलाई मध्यनजर गर्दै हिँडेरै पनि राजमार्ग प्रयोग गर्न दिइरहेका छैनन्। 

उनीहरूले पहिरो उछिन्ने अर्को बाटो सुझाइरहेका छन्– डाँडा उकल्ने। गन्तव्य जाने गाडी पाउने आशमा करिब ३० मिनेटको त्यो ‘अक्करे भिर’को जोखिमपूर्ण यात्रा गर्दैछन्, उनीहरू। 

पहिरोले अवरुद्ध सडकको वारिपारि विभिन्न ठाउँ जाने गाडीहरू छन्। तीनै गाडी छोप्नका लागि पहिरो उछिन्न ‘अक्करे भिर’मा कठिन यात्रा गर्नेको लस्करै छ। उकालो यो बाटो पानीले निकै चिप्लो छ। लाठी र बुट्यान समातेर यात्रुहरु यात्रा गरिरहेका छन्।

भीमदत्त राजमार्ग सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मार्ग हो। अविरल वर्षाले खानीडाँडादेखि बुढीतोलासम्म ठाउँ ठाउँमा पहिरो र सडक भाँसिएको छ। भीमदत्त राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन केही दिन लाग्ने देखिन्छ। 

भिडिओः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .